
२४ माघ, काठमाडौं । सुर्खेतको भेरी नदीमा झोलुङ्गे पुल निर्माणका क्रममा खसेर बेपत्ता भएकामध्ये एक जना मृत अवस्थामा फेला परेका छन् ।
पुल निर्माणमा खटिएका दुई जना बुधबार दिउँसो साढे १ बजेतिर लठ्ठा तान्ने क्रममा भेरी नदीमा खसेर बेपत्ता भएका थिए ।
बेपत्ता भएकामध्ये पूर्वीरुकुमको सिस्ने गाउँपालिका–२ का २४ वर्षीय अनिल घर्तीको बिहीबार दिउँसो शव फेला परेको कर्णाली प्रदेश प्रहरीका एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए ।
‘दिउँसो २ बजेर २० मिनेटमा एकजनाको शव फेला परेको छ,’ एसएसपी श्रेष्ठले भने, ‘अर्का बेपत्ताको खोजीकार्य जारी राखेका छौं ।’
एसएसपी श्रेष्ठका अनुसार घर्तीको शव झोलुङ्गे पुल निर्माण भइरहेको क्षेत्रबाट करि १ सय मिटर तल भेटिएको हो ।
पूर्वीरुकुमको सिस्ने गाउँपालिका–२ कै १८ वर्षीय अर्जुन घर्ती मगर भने बेपत्ता छन् ।
अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य जारी राखेको छ ।
सुर्खेतको बराहताल गाउँपालिका–४ र पञ्चपुरी नगरपालिका–१४ जोड्नका लागि भेरी नदीमाथि झोलुङ्गे पुल निर्माणको काम भइरहेको छ ।
सोही कामको सिलसिलामा उनीहरू बुधबार दिउँसो नदीमा खसेर बेपत्ता भएका थिए ।
प्रतिक्रिया 4