+
+

नेतृत्वले जनअपेक्षा बुझ्न ढिला भइसक्यो : डा. भण्डारी

विकासको नाममा जनता विस्थापित हुने अवस्था आउन नदिन आग्रह

नेतृत्वले जनअपेक्षा नबुझ्दा जनतामा नेताहरू प्रति नै असन्तोष बढ्दै गएको कांग्रेस नेता डा. चन्द्र भण्डारीको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २६ गते १९:५५

२६ माघ, गुल्मी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले नेतृत्वले जनअपेक्षा बुझ्न ढिला भइसकेको बताएका छन् । सबै राजनीतिक दलमा नेतृत्व परिवर्तनको समय आइसकेको उनको भनाइ छ ।

तम्घासमा शनिबार आयोजित नेपाली कांग्रेस रेसुङ्ग नगर कार्यसमिति गुल्मीको तेस्रो नगर सम्मेलनमा भण्डारीलेसमयअनुसार सबै दलका नेता परिवर्तन हुँदै जानुपर्ने धारणा राखेका हुन् ।

नेताहरूले जनअपेक्षा नबुझेकैले अहिले नामनागरिकमा नेता प्रति नकारात्मक धारणा बढ्दै गएको उनको भनाइ थियो । उनले जनतामा केन्द्रित भएर काम गर्न जिल्लाका नेता र कार्यकर्तालाई आग्रह पनि गरे ।

प्रतिनिधिसभाका सदस्यसमेत रहेका भण्डारीले बहुदलीय व्यवस्था आएको लामो समय हुँदा पनि सीमान्तकृत वर्ग माथि उठ्न नसकेको भन्दै चिन्ता व्यक्त गरे । सरकारहरूले ध्यान नदिँदा पछाडि परेका वर्गको जीवनस्तर अहिले पनि दयनीय रहेको उनको भनाइ थियो ।

शनिबार नै उनले जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरूसँग छलफल गरी विकासको नाममा जनता विस्थापित हुने अवस्था आउन नदिन आग्रह गरे ।

सडक फराकिलो बनाउने नाममा भएका सरकारी प्रयासले नागरिक विस्थापित हुने अवस्था आएको भन्दै नेता भण्डारीले विकल्प खोजेर मात्र काम थाल्नुपर्ने बताएका थिए ।

सरकारी निकायको ध्यान दिगो विकासतर्फ हुनुपर्ने भन्दै उनले पूर्वाधारको निर्माण गर्दा जनतालाई त्यसले पार्ने असरबारे विशेष ख्याल राख्नुपर्ने बताए । नागरिकलाई सुविधा दिने भनेर सुरु गरिने विकासले तिनै नागरिकलाई विस्थापित हुनेपर्ने अवस्था पैदा नगरोस् भन्ने उनको भनाइ थियो ।

छलफलको क्रममा उनले रिडी–तम्घास र रिडी–बल्कोट सडक आयोजनाको वित्तीय तथा भौतिक प्रगतिबारे पनि कार्यालय प्रमुखहरूसँग जानकारी लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?