
२७ माघ, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले सरकारमा जाने अवस्था नरहेको बताएका छन् ।
संसदीय दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले अहिले सरकारमा जाने कुरा पार्टीलाई बदनाम गराउने प्रोपोगान्डा मात्र भएको बताए ।
‘यस्ता फोहोरी र फटाहा कुरा, प्रोपोगान्डाको कुरा नगरौं । हामी अहिले सरकारमा जाने अवस्थामा छैनौं,’ यादवले भने, ‘हामीलाई मन्त्रालय चाहिएन, देश र जनताको हितमा काम चाहियो ।’
उनले अध्यादेशमा बार्गेनिङ गरिरहेको भन्ने कुराको पनि खण्डन गरे । सरकारले ल्याएका अध्यादेशबारे आफूहरूले विज्ञहरूसँग लगातार छलफल गरिरहेको बताएका यादवले कार्यसूचीमा राख्ने बित्तिकै निर्णय लिने बताए ।
उनले अध्यादेशबारे विज्ञहरूले थरिथरि सुझाव दिइरहेको बताए । ‘धेरै विज्ञसँग छलफल गरिरहेका छौं । उहाँहरूको मिश्रित प्रतिक्रिया छ । कसैले कामचलाउ भन्नुभएको छ, कसैले देश र जनताको हितमा छैन भन्नुभएको छ,’ उनले भने ।
प्रतिक्रिया 4