+
+
Shares

सामाजिक सञ्जाल विधेयकको विरोधमा अनलाइन टिभी पत्रकार संघको प्रदर्शन

विधेयक तत्काल फिर्ता नलिए च्यातेर अवज्ञा गर्ने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २७ गते १७:३५

२७ माघ, काठमाडौँ । अनलाइन टिभी पत्रकार संघ नेपालले सामाजिक सञ्जाल विधेयक २०८१ तत्काल फिर्ता लिन माग गर्दै आज काठमाडौँमा विरोध प्रदर्शन गरेको छ।

विधेयकमा राखिएका कतिपय प्रावधानहरूले खबरदारी र आलोचना गर्ने नागरिकको अधिकार खोस्ने भएकाले फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरिएको संघका अध्यक्ष जीवन भण्डारीले जानकारी दिए ।

उनले विधेयक तत्काल फिर्ता नलिए च्यातेर अवज्ञा गर्ने चेतावनी समेत दिएका थिए। माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरूले ‘सरकारले मुख थुन्दैछ लोकतन्त्र ह्याक हुँदैछ, आलोचना गर्ने अधिकार, खोस्न पाइँदैन होसियार, अभिव्यक्ति माथिको अंकुश, बन्दैछ सरकार निरंकुश लगायतका नारा लेखिएका प्लेकार्डहरू पनि प्रदर्शन गरेका थिए।

उनीहरूको प्रदर्शनप्रति एकता जनाउँदै नागरिक अगुवा तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आलोचना र खबरदारीलाई निस्तेज पार्ने गरी सरकारले विधेयक ल्याएको आरोप लगाए । उनले नेपालमा लोकतन्त्र रहन्छ भने यस्तो विधेयक नरहने र यस्तो विधेयक आयो भने लोकतन्त्र नरहने दाबी गरे ।

सामाजिक सञ्जालमै मिडिया सञ्चालन गर्दै आएका अनलाइन टिभीकर्मीहरुको साझा संस्थाको रुपमा रहेको संघले यो विधेयक पारित भएमा आफूहरूको पेशा बन्द नै हुने ठहर गरेको छ।

सामान्य आग्रहबाट मात्रै सरकार र पार्टीहरुले नटेर्ने देखिएकाले सडक र दबावमूलक आन्दोलन सुरु गरेको अध्यक्ष भण्डारीले जानकारी दिए।

अनलाइन टिभीका नाममा र सामाजिक सञ्जाल प्रयोगका क्रममा धेरै विक्रिती र अपराध भएकाले त्यसलाई नियमन गर्नु आवश्यक भए पनि सरकारले नियमनको आवरणमा नियन्त्रणको नियत राखेको संघको ठहर छ ।

संघले विधेयक फिर्ता गराउन हस्ताक्षर संकलनदेखि विरोध प्रदर्शन र ज्ञापनपत्र बुझाउने सम्मका कार्यक्रमहरु गर्ने तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?