
२७ माघ, पाल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले २०४६ यता सार्वजनिक पदधारण गरेका सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोगको माग गरेका छन् ।
पुनले सबै पूर्वप्रधानमन्त्री, मन्त्री, न्यायाधीश, उच्च प्रशासक, सुरक्षा निकायका उच्च पदस्य अधिकारीलगायत सबैको सम्पत्ति छानबिन गर्ने गरी आयोग गठन गर्न माग गरेका हुन् ।
लडाकु शिविरमा भएको भनिएको अनियमितता र शेरादरबार प्रकरण छानबिन गर्न सरकारसँग माग गरेका उनले प्रधानमन्त्री केपी ओलीमाथि प्रश्न उठेका गिरिबन्धु टी स्टेट, यति, ओम्नी, स्वीस बैंक र कम्बोडियामा लगानी प्रकरणबारे पनि छानबिन हुनुपर्ने बताए ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको तेस्रो पार्टी अधिवेशनको आइतबार उद्घाटन गर्दै पुनले यस्तो धारणा राखेका हुन् ।
‘हाम्रो अध्यक्ष प्रचण्डले यदि मेरो पार्टी, मेरो कार्यकर्ता वा मैतिर पनि सुइहरू सोझिन्छन् भने अनुसन्धान होस् भनेर अपिल गर्नुभएको छ,’ पुनले भने, ‘ओलीजी प्रधानमन्त्री हुनुहुन्छ । शेरादरबार, क्यान्टोन मेन्टबारे छानबिन गर्नुहोस् । स्वीस बैंक, कम्बोडिया, गिरिबन्धु, यति र ओम्नीका विषयमा पनि छानबिन होस् ।’
उनले आफूहरू ज्यान हत्केलामा राखेर गणतन्त्रका लागि लडेका व्यक्ति भएकाले जाखिम मोल्न तयार रहेको बताए । हामी आफ्नाबारे केही उठ्छन् भने आफैं शूद्धीकरण गर्न तयार छौं । तपाईंहरू तयार हो कि होइन ?’ उनले प्रश्न गरे ।
पूर्वअर्थमन्त्री पुनले विकासको ठूलो बाधकको रूपमा रहेको भ्रष्टाचार, राज्यदोहन र अनियमितता रोक्न कदम चालेका कारण बिचौलिया र स्वार्थ समूहले रातारात सरकार ढालेको दोहोर्याए ।
प्रतिक्रिया 4