२८ माघ, पोखरा । २४औं आहारारा पोखरा गोल्डकपको तेस्रो क्वाटरफाइनलमा सोमबार साविक विजेता त्रिभुवन आर्मी क्लबले चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । खेल पोखरा रंगशालमा दिउँसो २:३० बजे सुरु हुनेछ ।
ए डिभिजन लिग विजेता चर्च ब्वाइजले पहिलो खेलमा एनआरटीलाई सडनडेथमा पराजित गर्दै क्वाटरफाइनलमा खेल्न लागेको हो । गत वर्षको विजेता आर्मी भने बाई पाएर सिधै क्वाटरफाइनल खेल्न लागेको हो ।
यी दुई टोली लगातार दोस्रो वर्ष आहारारा पोखरा गोल्डकपमा खेल्न लागेका हुन् । गत वर्ष भएको २३औं संस्करणको सेमिफाइनलमा आर्मी र चर्च ब्वाइज भिडेका थिए जहाँ चर्च ब्वाइजलाई २-१ ले हराएर आर्मी फाइनल पुगेको थियो र फाइनलमा थ्रीस्टारलाई पराजित गर्दै च्याम्पियन बनेको थियो ।
राष्ट्रिय टिमका फरवार्ड समेत रहेका जिलेस्पी जंग कार्कीको कप्तानीमा आर्मीले खेल्दैछ । टिममा विकेश कुथु, नवयुग श्रेष्ठ, दिनेश हेन्जन, विमल पाण्डे जस्ता राष्ट्रिय टिमका अनुभव भएका खेलाडीहरु छन् । यस्तै केही समयअघि मात्रै राष्ट्रिय टिममा डेब्यु गरेका निराजन धामी पनि आर्मीबाट खेल्दैछन् भने जिलेस्पीका दाई जर्ज प्रिन्स पनि यस पटक टिममा फर्किएका छन् ।
उता चर्च ब्वाइजको कप्तानी विदेशी खेलाडी सर्ज डिकाले नै गर्नेछन् । चर्च ब्वाइजले दुई टिम बनाएर धरानमा बुढासुब्बा र पोखरामा आहारारा पोखरा गोल्डकप एकै पटक खेलेको थियो । सर्ज डिकाकै कप्तानीमा चर्च ब्वाइजले एनआरटीलाई पोखरामा हराएको थियो । तर अनन्त तामाङको कप्तानीमा रहेको चर्च ब्वाइज भने त्यही एनआरटीसँग बुढासुब्बाको फाइनलमा पराजित भयो । बुढासुब्बामा खेलेका दिपेश गुरुङ, रोहन कार्की, दिपेश गुरुङ जस्ता खेलाडी आर्मी विरुद्ध खेल्ने टिममा छन् ।
यस्तै गोलकिपर टिकेन्द्र थापा थिए । टिकेन्द्रले नै तीन पेनाल्टी रोक्नै पेनाल्टीमा गोल पनि गरेपछि चर्च ब्वाइज विजयी भएको थियो ।
प्रतिक्रिया 4