+
+
Shares

नेपालमा ‘ग्रीन फाइनान्स ट्याक्सोनोमी’ विषयमा छलफल, के छन् सुझाव ? 

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १० गते १३:५४

१० पुस, काठमाडौं । नेपालमा ‘ग्रीन फाइनान्स ट्याक्सोनोमी’ विषयमा बृहत् छलफल भएको छ । नेपालमा यो अवधारणाको आवश्यकता, महत्त्व, लक्षित क्षेत्रमा यसले सिर्जना गर्ने लाभ तथा अवसर र यसको कार्यान्वयन कसरी अघि बढ्छ भन्नेबारे राष्ट्र बैंक, निजीक्षेत्र र सरकारका प्रतिनिधिबीच छलफल गरिएको हो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा र नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे अतिथि थिए ।

कार्यक्रममा राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर तिम्सिनाले नेपालमा ग्रीन ट्याक्सको महत्त्वबारे प्रकाश पारेकी थिइन् । बैंक तथा वित्तीय संस्थाबाट हुने लगानीलाई वातावरणमैत्री बनाउन र हरित लगानीसम्बन्धी मार्गदर्शन लागु गर्न हालै राष्ट्र बैंकले ग्रीन ट्याक्सोनोमी जारी गरेको जानकारी उनले दिइन् ।

‘ट्याक्सोनोमी जारी गर्नुको प्रमुख उद्देश्य जलवायु परिवर्तन अनुकूलन, जलवायु परिवर्तनको असर न्यूनीकरण तथा नियन्त्रण, प्राकृतिक स्रोत तथा साधनको संरक्षण तथा व्यवस्थापन, प्रदूषण नियन्त्रण लगायत रहेका छन्,’ उनले भनिन् ।

कार्यक्रमका अर्का वक्ता अर्थ मन्त्रालयका सहसचिव शर्माले सरकारले विकास, निर्माणका सन्दर्भमा हरित र वातावरणमैत्री बनाउन विकास साझेदार लगायत सम्बद्ध पक्षहरूसँग सहमति गरेर अघि बढेको बताए ।

यसका लागि सरकारले ‘एक्सन प्लान’ नै बनाएर लैजाने खोजेको र नीतिमा समेत हरित, समावेशी र उत्थानशील विकासलाई समावेश गर्न लागेको जानकारी उनले दिए । सोही अनुसार हरित विकास तथा हरित अर्थतन्त्रको १० वर्षे कार्ययोजनाको प्रारूप तयार पारिएको उनले बताए ।

यसैगरी नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष पाण्डेले निजीक्षेत्र आर्थिक विकासको प्रमुख साझेदार भएको सन्दर्भमा हरित आर्थिक विकासमा समेत उत्तिकै महत्व हुने भन्दै सरकारले हरित वित्तमा लिएका नीतिलाई सहयोग पुग्ने गरी नै अघि बढ्न निजीक्षेत्र तयार रहेको बताए ।

नेपालको भौगोलिक संवदेनशीलता, जलवायु जोखिम र प्राकृतिक प्रकोप जस्ता समस्यालाई न्यूनीकरण गर्न समेत ग्रीन ट्याक्सोनोमीको कार्यान्वयनको आवश्यकता हुने उनले उल्लेख गरे ।

नेपालको वातावरणीय समस्या, चुनौती र समाधानका विषयवस्तुमा केन्द्रित विशेष कार्यक्रम ‘ग्रिड संवाद’ को पाँचौं अंकमा उक्त विषयमा छलफल गरिएको हो । कार्यक्रम ९ पुस मंगलबार हिमालय टेलिभिजनबाट प्रसारण भएको थियो ।

कार्यक्रमको पहिलो अंक नेपालमा वायु प्रदूषणको अवस्था, यसले ल्याएका जनस्वास्थ्य समस्या, विकास र अर्थतन्त्रमा पारेको प्रभाव, दोस्रो अंक कृषि क्षेत्र र तेस्रो अंक वन क्षेत्रमा केन्द्रित थियो ।

‘नेपालको हरित, उत्थानशील र समावेशी विकासतर्फको मार्ग बुझ्न’ थिम रहेको कार्यक्रम कम्तीमा ७ अंक प्रसारण हुनेछ ।

कार्यक्रम हिमालय टेलिभिजनका साथै आधिकारिक फेसबुक पेज र युट्युबमार्फत पनि प्रसारण हुने गरेको छ । कार्यक्रम प्रस्तोता पूर्व मिस नेपाल सुगरिका केसी हुन् ।

कार्यक्रममा जल–कृषि–वनको आपसी सम्बन्धबाट उचित लाभ प्राप्त गर्न भूपरिधि व्यवस्थापन, विपद् जोखिम व्यवस्थापन, पूर्वतयारी र सामाजिक सुरक्षा, दिगो तथा समावेशी भूमि प्रशासन, दिगो र उत्थानशील सडक र यातायात, नेपालको नवीकरणीय ऊर्जा सम्भाव्यताको प्रचुर मात्रामा उपयोग, हरित, उत्थानशील र समावेशी सहर, उत्थानशील खानेपानी तथा सरसफाइ, वायु गुणस्तर सुधार, प्लास्टिक सहित ठोस फोहोरमैलाको दिगो व्यवस्थापन लगायत विषयवस्तुमा विज्ञ, सरोकारवाला एवं सम्बद्ध निकायका प्रतिनिधिसँग बहस, पैरबी एवं विश्लेषण गरी निचोडमा पुग्ने प्रयास गरिन्छ ।

यस्तै वातावरणीय शासन, लैंगिक तथा सामाजिक समावेशीकरण, निजी पूँजी परिचालन, डिजिटल विकासलाई गति लगायत विषयवस्तु समेत कार्यक्रममा समावेश गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?