
२८ माघ, काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित राङ्बुसा जंगलमा लागेको आगलागीमा हाइड्रोपावरलाई कारबाही गर्नेबारे संसद्को ध्यानाकर्षण गराएका छन् ।
गत १८ गतेदेखि लागेको आगो तीन दिनपछि मात्रै नियन्त्रणमा आएको थियो ।
उनले देशभर आगलागीका घटनाबारे ध्यान दिनुपर्ने बताउँदै उनले भोटेकोशीमा लागेको आगलागीको कारण भने एक हाइड्रोपावरको करेन्ट सर्ट भएको जानकारी गराए ।
‘हिमरिभर हाइड्रोपावरमा करेन्ट सर्ट भएर त्यो आगलागी भएको अवस्था रहेछ । लामो समयसम्म आगलागी भएपछि हाइड्रोपावरलाई नै हेलिकप्टरबाट पानी खन्याएर नियन्त्रणमा ल्याइयो,’ उनले भने, ‘एउटा गरिबले आफ्नो बारिको डिलको रुख काट्दा वन मुद्दामा जेल जानुपर्छ । हाइड्रोपावरले आफ्नै कारणले आगलागी भएको स्वीकार्यो । त्यहाँ ठूलो नोक्सानी भइरहेको छ । ३५ हजार हेक्टर लगभग जमिनको रुख नोक्सान भएका छन् । भने अब नेपालको कानुनले के भन्ने हो ?’
गरिब जनतालाई लाग्ने मुद्दा हाइड्रोपावरलाई पनि लाग्नुपर्ने उनको भनाइ थियो ।
‘बारीको डिलमा रुख काट्नेलाई चाहिँ जेल हाल्ने । हाइड्रोपावरको कारणले यत्रो ठूलो नोक्सानी भएको छ,’ उनले भने ।
प्रतिक्रिया 4