अहिलेसम्म पहिचान भएअनुसार २०० भन्दा बढी प्रकारका बाथ हुन्छन् । हाम्रो समाजमा बाथको समस्या भएका व्यक्तिहरू धेरै छन् । बाथ रोगबारे आम सर्वसाधारणमा धेरै भ्रमहरू पनि रहेको पाइन्छ ।
वास्तविक कुरा नबुझी उपचार गर्ने, खाना बार्ने गरिरहेको देखिन्छ । समयमै उपचार गरी नियन्त्रणमा नराखे बाथले ठूलो समस्या निम्त्याउन सक्छ । बाथरोग बारेका मिथक र भ्रमबाट मुक्त भई सही उपचार हुँदा यसले त्यति ठूलो समस्या निम्त्याउँदैन।
बाथरोग बारेका गलत बुझाइ र वास्तविकता
बाथ जोर्नीमा मात्रै हुँदैन
बाथ भन्नेबित्तिकै प्राय मान्छेलाई जोर्नी दुख्ने रोग मात्रै हो भन्ने लाग्छ तर बाथले जोर्नी दुख्ने मात्रै हुँदैन । बाथ नदेखिने शरीरका कुनै अंग हुँदैनन् । कपालमा बाथ देखिँदा कपाल छोयो भने धेरै झर्ने हुन्छ । छालामा हुँदा घाममा रातो हुने हुन्छ ।
आँखामा भए बिजाएजस्तो हुने, आँखा धेरै रातो हुने, धेरै सुख्खा हुने पनि हुन्छ । आँखा बन्द गर्दा दुख्ने, ज्योति कम भएर जाने हुन्छ । मुखमा बारम्बार घाउ आउने, हिँड्दा वा केही काम गर्दा छिटो थाक्ने, चिसोपानी खेलाउँदा हात फुस्रो, रातो भएर जाने हातहरूमा घाउ हुने लक्षण पनि बाथमा देखिन्छ ।
बाथले जोर्नीहरू सुन्निने, बिहान पख अरस्ठ हुने, जाम हुने समस्या देखिन्छ । बाथ धेरै छिप्पिँदै गयो भने जोर्नीहरु बाङ्गिएर पनि जाने हुन्छ ।
फोक्सोमा छोएको छ भने फोक्सोमा जाली पारेर जाने, फोक्सोको नलीहरूको रगतको प्रेसर बढाएर लाने समस्या हुन्छ ।
मुटुमा बाथले असर गरेको छ भने मुटुको झिल्ली र मुटुको बीचमा पानी जम्ने हुन्छ। फोक्सो र बाहिरको झिल्लीमा पानी भरिएर जाने हुन्छ । पेटमा असर गरेको छ भने बारम्बार दिसामा रगत देखिने, खाना खाइसकेपछि पेट कटक्क काट्ने हुन्छ ।
खाना बार्नु पर्दैन
बाथरोग खानासँग सम्बिन्धित हुन्छ भन्ने भ्रम पनि धेरैलाई छ तर यसको खानासँग खासै सम्बन्ध छैन । युरिक एसिडको बाथ मात्रै खानासँग सम्बन्धित छ । यो बाथमा धेरैले सबै खाना बारेर आउनुहुन्छ, त्यो जरुरी छैन ।
युरिक एसिडको बाथमा पनि कार्बोनेटेड ड्रिंक्स, मैदाबाट बनेका खानेकुरा र धेरै गुलियो चिजहरु खानु भएन । दैनिक ३–४ लिटर पानी पिउनु पर्यो । यति गरेपछि अरु धेरै गुडागुडी बारिरहनु पर्दैन ।
धेरै बार्दा गेडागुडीबाट आउने तत्व जुन हामीलाई अति जरुरी छ, त्यो हाम्रो शरीरले पाउँदैन । त्यो तत्वका लागि कि क्याप्सुलमा खानुपर्ने हुन्छ, नत्र गेडागुडी खानुपर्छ ।
उमेर ढल्किएपछि मात्रै बाथ हुने होइन
बाथ रोगबारे प्रायको बुझाइमा रहेको अर्काे भ्रम हो-यो बुढेसकालमा मात्रै लाग्छ। तर हामीले भर्खर जन्मिएको बच्चामा पनि बाथ भेटेका छौँ । त्यस्ता बच्चामा कुटेनियस बाथ देखिएको थियो ।
८० वर्षका वृद्धवृद्धामा मायोसाइटिस भन्ने बाथ भर्खर आएको पनि देखेका छौँ । यो हेर्दा के देखिन्छ भने जुनसुकै उमेरका व्यक्तिलाई जतिबेला पनि बाथ देखिन सक्छ । यही उमेर समूहलाई देखिन्छ भन्ने हुँदैन ।
जाडोमा सबै बाथ बढ्दैन
जाडोमा सबै बाथ बढेर जान्छ भन्नेछ, यो पनि होइन । सिस्टेमिक स्क्लेरोसिसले हात निलो, फुस्रो, रातो बनाउने र घाउ बनाउने चाहिँ हुन्छ । अरु त्यति धेरै बाथहरू जाडोमा बढ्ने हुँदैन ।
अमिलोले बाथ बढाउँदैन
अमिलो खाएर बाथ बढी हुने होइन । बाथरोग नियन्त्रणमा छैन भने प्युरिन भएका खानेकुराहरूले अलिकति दुखाइ बढाउन सक्छ । रोग नियन्त्रणमा भएकाले त्यस्ता खानेकुरा बार्नु पर्दैन । अमिलोकै कुरा गर्नुपर्दा ताजा कागतीले त बाथरोगीलाई राम्रो गर्छ । त्यसमा हुने एन्डिअक्सिडेन्ट लगायतले बाथरोगलाई फाइदा नै पुर्याउँछ ।
जडीबुटीको भर पर्दा बाथ जटिल हुनसक्छ
कतिले जडीबुटीले बाथ ट्वाक्कै निको हुन्छ भनेर बजारमा पाइने सेतो धुलो, अथवा रंङ्गी–विरङ्गी धुलो पुरिया किनेर खाएर पनि हामी कहाँ आउनुहुन्छ । के हुन्छ भने ती पुरियामा स्टेरोइड मिसाइएको हुन्छ । तिनले तत्कालका लागि दुखाइ त हराउँछ ।
तर पछि विभिन्न किसिमका समस्या ल्याउन सक्छ । सुगर देखाउने, प्रेसर बढाउने, हड्डीहरु पिट्पिट् भाँच्चिनेदेखि लिएर संक्रमण देखाउने सम्मका समस्या हुनसक्छन् । त्यसैले रोगको राम्रो पहिचान गरेर मात्रै औषधि खाने गर्नुपर्छ ।
प्रतिक्रिया 4