२८ माघ, काठमाडौं । ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा ऐतिहासिक उपाधि विजेता नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र राहुल विश्वकर्मालाई नेपाल गल्फ संघले सम्मान गरेको छ ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले व्यक्तिगततर्फ स्वर्ण विजेता सदभावलाई नगद ५० हजार प्रदान गरी सम्मान गरे । सदभाव यो उपाधि जित्ने पहिलो नेपाली खेलाडी हुन् ।
सन् १९८८ को दोस्रो संस्करणदेखि नेपालले सहभागिता जानउँदै आएको थियो । बंगलादेशका शफिकुल इस्लम र मोहम्मद शाहबुद्दिनलाई ५ स्ट्रोकले हराउँदै सदभावले उपाधि जितेका थिए ।
सदभावले राहुल विश्वकर्मासँग मिलेर टिम तर्फको उपाधि पनि जिते। टिममा स्वर्ण जितेका सदभाव र राहुललाई जनही २५/२५ हजार सहित सम्मान गरिएको छ । सदभावले कुल ७५ हजार प्राप्त गरे।
यसअघि सन् २०१८ मा शुक्रबहादुर राई र टंकबहादुर कार्कीले तथा सन् २०२२ मा सुवास तामाङ र सदभाव आचार्यले टिम तर्फ स्वर्ण जितेका थिए ।
चारदिने च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटान, दक्षिण कोरिया, जापान र आस्ट्रेलिया गरी ८ देशका कूल १०० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया 4