
२८ माघ, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले महासचिव शंकर पोखरेलले गर्दै आएको वकालतको खण्डन गरेका छन् ।
फेसबुक स्टाटस मार्फत थापाले जनताको बहुदलीय जनवाद (जबज) मा एक दलीय, दुई दलीय अथवा दलविहीन अवस्थालाई नस्वीकार्ने उल्लेख गरेका छन् ।
‘जनताको बहुदलीय जनवादले एक दलीय, दुई दलीय वा दलविहीन अवस्थालाई स्वीकार्दैन । समाजमा रहेको बहुलतालाई स्वीकार्दै वर्ग स्थितिका आधारमा बनेका दलहरूका बीचको प्रतिस्पर्धाबाट श्रेष्ठता सावित गर्ने राजनीतिक मान्यतालाई आत्मसात गर्छ,’ थापाले लेखेका छन् ।
महासचिव पोखरेलले भने संवैधानिक व्यवस्था संशोधन गर्दै प्रमुख दुई दलीय प्रणालीमा मुलुकलाई लैजानुपर्ने वकालत गर्दै आएका छन् । महासचिव पोखरेलको वकालत खण्डन गर्दै थापाले दल संख्या तोक्ने काम सार्वभौम जनतामा रहेको तर्क गरेका छन् ।
‘कति दल हुन्छन् भन्ने कुरा जनताको मतदानबाट तय हुन्छ । कसलाई सानो बनाउने, कसलाई सिध्याउने र कसलाई ठूलो शक्ति बनाउने निर्णय पनि जनताले गर्ने हुन्,’ थापाले अनलाइनखबरसँग भने ।
स्टाटसमा त उनले दुई दलीय प्रणालीको वकालत गर्नेलाई जबज पढाउनुपर्ने तर्क नै गरेका छन् ।
‘कुनै पनि तहको व्यक्तिमा अस्पष्टता छ भने कमिटीमा ब्यापक बहस गरिनुपर्दछ । ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोण जबजको दार्शनिक मान्यता भएकाले आत्मिक नेतृत्वको मान्यतालाई स्वीकार्ने कुराको त कल्पना पनि गर्न सकिँदैन । सबै स्पष्ट हौं, जबजको मान्यतालाई कसिलो गरी समातौं,’ थापाले लेखेका छन् ।
प्रतिक्रिया 4