+
+
Shares

अझै निभेन मनाङ तिमाङको डढेलो

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २९ गते १४:०२

२९ माघ, काठमाडौं । मनाङको चामे गाउँपालिका-१, तिमाङ जंगलमा लागेको डढेलो अझै निभ्न सकेको छैन । माघ १८ गतेदेखि लागेको आगो भौगोलिक जटिलताका कारण नियन्त्रणमा आउन नसकेको हो ।

जिल्ला प्रशासन कार्यालय, मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले सोमबार हल्का वर्षा भएकाले आगलागी केही कमी भए पनि पूर्ण रुपमा निभ्न नसकेको जानकारी दिए । ‘ठूलो वर्षा भएन, हल्का वर्षाले केही कम त भएको छ । तर अझै नियन्त्रणमा आएको छैन’, उनले भने ।

आचार्यका अनुसार बस्तीभन्दा माथिल्लो भेगको जंगलमा आगलागी भएकाले नियन्त्रणमा ल्याउन असहज भएको हो । उनले करिब १० हेक्टर क्षेत्रफलमा आगलागी भएको अनुमान गरिएको बताए । ‘हामी आगो निभाउन निरन्तर रुपमा प्रयासरत नै छौं । तर भिरालो जंगलमा आगलागी भएकाले कठिन भइरहेको छ’, उनले भने ।

जिल्ला प्रशासन कार्यालय मनाङले डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा संयन्त्रदेखि स्थानीयलाई पनि परिचालन गरिएको छ । ‘आगलागी तथा वन डढेलो नियन्त्रण पूर्वतयारी तथा प्रतिकार्य योजना पारित गरी कार्यान्वयनका लागि पठाइएको छ’, सीडीओ आचार्यले भने, ‘भोलि पनि बिहानैदेखि सम्पूर्ण निकायबाट जनशक्ति परिचालन गरी पूर्णरुपको नियन्त्रणको प्रयास गरिन लागिएको छ ।’

हालसम्म निश्चित क्षेत्रमा मात्रै आगलागी भएकाले दुर्लभ तथा वन्यजन्तुले स्थनानान्तर गर्ने भए पनि वनस्पति र चरण क्षेत्र भने प्रभावित भएको प्रशासन कार्यालयले जनाएको छ। बस्तीभन्दा टाढा आगलागी भएकाले तत्काललाई क्षतिको जोखिम भने नरहेको प्रशासनको भनाइ छ ।

मनाङमा यस वर्षको मंसिरयता ताल, आइसलेक, पिसाङ भिर आगलागी भएको कार्यालयले जनाएको छ । विसं २०७७ मंसिर २ गतेदेखि लागेको आगो दुई महिनापछि मात्रै नियन्त्रण आएको थियो ।

उक्त आगलागीका कारण मनाङको एक हजार दुई सय हेक्टर क्षेत्रफल वनजंगल नष्ट भएको थियो । तिमाङ जंगलमा लागेको डढेलो नियन्त्रणमा तीनै तहका सरकारले यथाशीघ्र प्रभावकारी पहल गर्नुपर्नेमा स्थानीयको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?