
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको २५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
पर्साको वीरगञ्जमा सोमबार सम्पन्न साधारण सभाबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्य प्रगति प्रतिवेदन पारित भएको छ ।
साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०/८१ को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण स्वीकृत गरेको छ । आव २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति एवम् पारिश्रमिक समेत निर्धारण गरेको छ ।
साधारण सभाले सेयर सदस्यलाई २१.०५ प्रतिशत मुनाफा वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाले आव २०८०/०८१ को वितरण योग्य मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो।
साधारण सभामा कम्पनीका अध्यक्ष गोविन्दलाल संघईले जीवन बीमा क्षेत्रमा कम्पनीको व्यावसायिक हिस्सा र गरिमालाई नयाँ उचाइमा पुर्यउन संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रीकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरी अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले चुनौतीलाई अवसरमा परिणत गरी व्यावसायिक उपलब्धि र भावी योजना बनाउने बताए ।
२०८१ असोज मसान्तसम्ममा कम्पनीको लगानी २१५ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष २०८ अर्ब रुपैयाँ र सेयरधनी कोष १२ अर्ब बढी रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4