काठमाडौं । भारतको दिल्लीस्थित तालकटोरा स्टेडियममा फेब्रुअरी ९ देखि १२ सम्म आयोजना भएको छैटाैं एसियन सभात प्रतियोगितामा नेपालले ४ स्वर्ण, ४ रजत र १४ कास्य गरी कुल २२ पदक जितेको छ ।
प्रतियोगितामा एसियाली राष्ट्रहरु नेपाल, इरान, उज्बेकिस्तान, चाइनिज ताइपेई, बंगलादेश, भारतलगायत देशका खेलाडीहरूले विभिन्न उमेर समूहमा असट् (लाइट कनट्याक्ट) तर्फ र कम्ब्याट (फुल कनट्याक्ट) तर्फ प्रतिस्पर्धा गरेका थिए ।
उक्त प्रतियोगितामा लाइट कन्ट्याक्ट महिला तर्फ १२ वर्षमुनि -३३ केजिमा नेपालकी आयुशा मगरले रजत पदक जितिन् । उनले क्वार्टरफाइनलमा बंगलादेश र सेमिफाइनलमा भारतकी खेलाडीलाई पराजित गरेकी थिईन्। तर फाइनलमा भारतकै खेलाडीसँग पराजित भइन् ।
-४३ केजीमा नेपालकी हिमांशी दुलाल क्वार्टरमा भारतकी करूना कुमारी , सेमीमा उज्बेकिस्तानकी सोलिहा र फाइनल खेलमा नेपालकी अनीशा भण्डारी लाई पराजित गरी स्वर्ण पदक जितिन् । सोही तौल समुहमा अनिशा भण्डारीले रजत जितिन् । उनले बांगलादेश र भारतकी खेलाडीलाई पराजित गरेकी थिइन् ।
सिनीयर -५२ केजीमा आरती सिंखवालले सेमीमा र फाइनलमा भारतकै खेलाडीलाई पराजित गरी स्वर्ण पदक जितिन् । सोही समूहको कम्ब्याटमा भने सेमिफाइनलमा उज्बेकस्तानकी खेलाडीसँग पराजित भई कास्य पदकमा चित्त बुझाइन् ।
-५६ केजीमा सुष्मा घ्याबाले कास्य प्राप्त गरिन् । उनी लाइट कन्ट्याक्टमा सेमिफाइनलमा भारतकी खेलाडीसँग पराजित भइन् ।
पुरुष १२ वर्षमुनि -३२ केजीमा बसन्त तामाङले कास्य जिते । क्वाटरफाइनलमा उज्वेकिस्तानको नूरालिवलाई पराजित गरेका उनी सेमिफाइनलमा उज्बेकिस्तानकै खेलाडीसँग पराजित भए ।
-४० केजिमा सुभम खत्रीले कास्य जिते । उनले क्वाटरफाइनलमा भारतका शेख माहिरलाई पराजित गरे भने सेमिफाइनलमा भारतकै खेलाडीसँग पराजित भए । सोही तौल समूहमा नेपालकै विश्वास भट्टराईले क्वार्टरमा भारतका हर्षलाई पराजित गरी सेमीमा नेपालकै सुन्दर पाण्डेसँग पराजित भएका थिए भने सुन्दरले सोही समूहमा भारतलाई फाइनलमा पछि पार्दै स्वर्ण पदक जितेका थिए ।
-५६ केजिमा प्रशान्त बुढा मगरले क्वाटरफाइनलमा भारतका उत्कर्ष कालोखेलाई हराएका थिए तर सेमीमा उज्बेकिस्तानका सगीदुल्लाभसँग पराजित भई कास्यमा चित्त बुझाए । -६० केजिमा बिनय थापाले रजत जिते ।
१७ वर्षमुनि -५२ केजिमा जयराम बिकले कास्य जिते । -८५ केजिमा बसील त्वयनाले स्वर्ण पदक जिते । कम्ब्याट -६० केजिमा प्रभु राम खत्रीले रजत जिते भने कम्ब्याट तर्फनै सिनियर-५६ केजीमा सूरज कार्कीले कास्ष जित्दा -६० केजीमा मनील श्रेष्ठले कास्य जिते ।
-७० केजिमा आस्तिक नकर्मीले कास्य जिते। कम्ब्याटतर्फ -६५ केजीमा शान्त कुमार राना मगरले कास्य जित्दा असट लाइटतर्फ क्वाटरफाइनलमा भारतका अक्षय कुमार लाई पराजित गरी चाइनिज ताईपेई का लिन झे वाई सँग पराजित भई दोहोरो कास्य पदक जितेका छन् ।
सिनियर -७५ केजीमा सस्मन बस्नेतले लाइट असटमा काश्य र कम्ब्याट मा पनि कास्य पदक जिते । उनले असटतर्फ क्वाटरफाइनलमा भारतका जगजीत सिंहलाई पराजित गरी उज्बेकिस्तानका यूलचीबोयबसँग पराजित भएका थिए भने कम्ब्याट प्रतिस्पर्धामा पनि सेमिफाइनलमा उनैसँग पराजित भएका थिए ।
प्रतियोगितामा नेपालकी सस्मिनी बस्नेतले अम्पायरको भूमिका उत्कृष्ट रूपमा निर्वाह गरेकी थिईन् भने व्यवस्थापकमा पिताम्बर गौतम, राहुल पटेल, अनिल धुंजू श्रेष्ठ र फणिन्द्र प्रसाद जंगम रहेका थिए ।
नेपाल सभात संघका संस्थापक अध्यक्ष लक्ष्मण बस्नेतले खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेको भन्दै गर्व लागेको बताए । साथै उनले आगामी प्रतियोगिताहरुमा अझै उत्कृष्ट प्रदर्शन गरी देशको नाम उच्च बनाउनेमा विश्वास व्यक्त गरे ।
पदक जित्ने खेलाडीहरूलाई नेपालले पनि उचित सम्मान गर्नुपर्ने र नेपालका विभिन्न विद्यालय, कलेजहरुमा अध्ययनरत पदक जित्ने खेलाडीहरुलाई उक्त विद्यालय तथा कलेजहरूले कम्तीमा मासिक तथा वार्षिक शुल्कमा छुट गरेका खेलाडी तथा अभिभावकहरुलाई हौसला हुने बताए ।
एसियन सभात वार्षिक बैठकबाट सातौं एसियन सभात प्रतियोगिता सन् २०२६ मा नेपालमा आयोजना गर्नको लागि पारित भएकोमा नेपालकै लागी अवसर र गर्वको विषय भएको अध्यक्ष बस्नेतले बताए ।
नेपालमा सन् २०२३ मा भित्रिएको यस फ्रेन्च मार्शल आर्ट्सले सन् २०२३ मा उज्बेकिस्तानमा आयोजना भएको चौथो एसियन सभात प्रतियोगितामा नेपालका लागि सस्मन बस्नेतले कास्य पदक जितेका थिए भने सन् २०२४ मा भारतमा आयोजना भएको दक्षिण एसियाली खेलमा नेपालले १० स्वर्ण ८ रजत र ९ कास्य जितेको थियो ।
प्रतिक्रिया 4