
१ फागुन, काठमाडौं । नेपाली कांग्रेसले आगामी चैतमा हुने स्ववियु निर्वाचनबारे विद्यार्थी नेताहरूसँग छलफल सुरु गरेको छ ।
काठमाडौं उपत्यकाका क्याम्पसबाट स्ववियु सभापति र सचिव जितेकालाई बोलाएर आसन्न स्ववियु निर्वाचनबारे कांग्रेसले छलफल अगाडि बढाएको हो ।
नेविसंघ महाधिवेशनको समन्वय र सहजीकरणका लागि पार्टीबाट गठित निर्देशक समितिले गत स्ववियुमा निर्वाचित विद्यार्थी नेताहरूसँग बुधबार छलफल गरेको हो ।
स्ववियु निर्वाचन गराउने वातावरण बनाउन र क्याम्पसहरूमा नेविसंघको अवस्थाबारे छलफल भएको पार्टी केन्द्रीय सदस्य एवं निर्देशक समिति सदस्य प्रतिमा गौतमले जानकारी गराइन् ।
गत स्ववियु निर्वाचनमा काठमाडौं उपत्यकाका ठूला क्याम्पसहरू त्रिभुवन विश्वविद्यालय, आर्युवेदिक, पद्मा कन्या, शंकरदेव, पब्लिक युथ लगायतमा नेविसंघले जितेको थियो ।
५ चैतका लागि स्ववियुको निर्वाचन समय तोकिएको छ । चुनावी तालमेल नगरी प्रतिस्पर्धा गर्ने गरी छलफल भइरहेको गौतमले बताइन् ।
‘स्ववियुको चुनावमा गठबन्धन नगर्ने कुरा छ । जसले जिते वा हारेपनि तालमेल नगर्ने तर चुनाव चाहिं हुनुपर्यो भन्ने छ,’ गौतमले अनलाइनखबरसँग भनिन् ।
यसैबीच नेविसंघले स्ववियु निर्वाचनको वातावरण बनाउने सबै विद्यार्थी संगठनहरूको बैठक शुक्रबारका लागि डाकेको छ ।
पार्टीबाट गठित निर्देशक समितिको संयोजकमा सहमहामन्त्री किशोरसिंह राठोर छन् भने सदस्यमा प्रतिमा गौतम र राजीव ढुंगाना छन् ।
प्रतिक्रिया 4