
गुगलपछि अब एप्पलले पनि विश्वको सबैभन्दा ठूलो सामुद्रिक खाडी ‘गल्फ अफ मेक्सिको’को नाम परिवर्तन गरी ‘गल्फ अफ अमेरिका’ बनाएको छ ।
मंगलबार एप्पल म्याप्सले आधिकारिक रुपमा मेक्सिको खाडीको नाम परिवर्तन गरी अमेरिकन खाडी बनाएको हो ।
ट्रम्पको कार्यकारी आदेशपछि गुगल र एप्पल दुवैले मेक्सिको खाडीको नाम अमेरिका खाडीमा परिवर्तन गरे । ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिनमै खाडीको नाम बदल्ने त्यस्तो आदेश जारी गरेका थिए। यस्तो निर्णय गरेका थिए ।
यो अपडेट अमेरिकी सरकारको आधिकारिक नक्सामा पनि थपिएको छ । गुगल म्याप्सले यो परिवर्तनलाई तुरुन्तै लागू गरेको थियो । जबकि Bing Maps तथा Maps Quest ले अहिलेसम्म पनि यसलाई अपडेट गरिसकेका छैनन् ।
ब्लुम्बर्गका अनुसार एप्पलको यो अपडेट सुरुवातमा केवल अमेरिकी प्रयोगकर्ताका लागि मात्रै उपलब्ध हुनेछ । पछि यसलाई विश्वव्यापी रुपमा लागू गरिनेछ ।
स्मरण रहोस् एप्पल म्याप्सको प्रयोग आइफोन, आइप्याड तथा म्याक जस्ता डिभाइसमा हुने गर्दछ । हालैमात्र कम्पनीले आफ्नो म्यापको वेब भर्सन पनि सार्वजनिक गरेको छ । यसले गुगल म्याम्पसँग प्रतिस्पर्धा गर्न सकिने आशा एप्पलको छ।
यता मेक्सिको खाडीको नाम परिवर्तन गरिएको विषयमा पनि विभिन्न खालका टिप्पणीहरु आएका छन् ।
रिपब्लिकन सांसदहरुले ट्रम्पको कार्यकारी आदेशको तत्कालै कार्यान्वयन गरेकोमा गुगलको प्रसंसा गरेका थिए । जबकि आदेश कार्यान्वयनमा ढिलाइ गरेकोमा एप्पलले आलोचनाको सामना गर्नु परेको थियो । अमेरिकी कंग्रेसका सदस्य ग्रेग स्टेबले एप्पल समुद्रमा हराएको टिप्पणी गरे ।
विरोधका स्वरहरू
यद्यपि प्रविधि कम्पनीहरुको उक्त निर्णयको प्रयोगकर्ताहरुले विरोध गरेका छन् । कतिपय प्रयोगकर्ताहरुले गुगलले राजनीतिक दबाबमा नाम बदलेको टिप्पणी गरेका छन् । मेक्सिको सरकारले पनि अमेरिकी राष्ट्रपतिको उक्त कदमको कडा विरोध गरेको छ । दुवै देशको साझा स्थानको अमेरिकाले एकतर्फी रुपमा परिवर्तन गर्न नसक्ने मेक्सिकोको दाबी छ ।
के हो मेक्सिको खाडी ?
उत्तर अमेरिकी महादेशको दक्षि पश्चिमी भागमा पर्ने अर्धभूपरिवेष्ठित सामुद्रिक खाडी नै गल्फ अफ मेक्सिको हो । यो विश्वको सबैभन्दा ठूलो सामुद्रिक खाडी हो । यो खाडी फ्लोरिडा जलसन्धिबाट आन्ध्र महासागरसँग जोडिएको छ। त्यस्तै मेक्सिको खाडी याकाटान च्यानलमार्फत् क्यारेबियन सागरसँग जोडिएको छ । मेक्सिको खाडीको पूर्व पश्चिम लम्बाइ ११ सय माइल र उत्तर दक्षिण लम्बाई ८ सय माइल छ भने यसको क्षेत्रफल १५ लाख ५० हजार वर्ग किलोमिटर छ । यो खाडीको उत्तर, उत्तर पश्चिम र उत्तर पूर्वमा अमेरिका पर्दछ भने दक्षिण, पश्चिम र दक्षिण पूर्वमा मेक्सिको र क्युबा पर्दछ । यो खाडीको सबैभन्दा गहिरो भाग सिंग्सबी डीप हो, जुन ५ हजार २३ मिटर गहिरो छ। यो गिनी खाडी र अलास्का खाडी पछिको तेस्रो गहिरो सामुद्रिक खाडी पनि हो ।
प्रतिक्रिया 4