
काठमाडौं । काठमाडौं मोडेल कलेज (केएमसी) र कोरियन विश्वविद्यालयहरूबीच शैक्षिक सहकार्य एवम् सांस्कृतिक आदानप्रदान गर्ने विषयमा एक कार्यक्रमको आयोजना गरिएको छ ।
केएमसी कलेजको सेमिनार हलमा १ फागुनमा आयोजित कार्यक्रममा कोरियाका १९ वटा विश्वविद्यालयबीच शैक्षिक सहकार्य तथा सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउने विषयमा छलफल भएको कलेजले जनाएको छ ।
कार्यक्रमले विद्यार्थीलाई विश्वका प्रतिष्ठित विश्वविद्यालयमा हुने उत्तम अभ्यासबारे सहयोग पुगेको विश्वास कलेजको छ ।
कार्यक्रममा कलेज प्रमुख सुरेन्द्र सुवेदीले यस्तो प्रकारका कार्यक्रमले अन्तर्राष्ट्रिय शिक्षा अनुभवलाई समृद्ध बनाउने विश्वास व्यक्त गरे।
नम्बु विश्वविद्यालयका प्राध्यापकले नेपाल-कोरिया शैक्षिक साझेदारी र सांस्कृतिक सम्बन्धबारे आफ्नो विचार प्रस्तुत गरेका थिए ।
काठमाडौं मोडेल कलेजका तर्फबाट बेबिका अधिकारी र रोबिन्सन भण्डारीले कलेजको शैक्षिक कार्यक्रम तथा विद्यार्थी अनुभवबारे जानकारी गराए ।
त्यस्तै कोरियन विद्यार्थी हिजु ओहले अन्तर्राष्ट्रिय अनुभवले व्यक्तिगत तथा व्यावसायिक जीवनमा पार्ने प्रभावबारे आफ्ना धारणा व्यक्त गरिन् ।
कोरियाली टोली प्रमुखले काठमाडौं मोडेल कलेजका विद्यार्थीहरूले पनि छिट्टै कोरियाका युनिभर्सिटीको भ्रमणको तयारी भइरहेको जानकारी गराउँदै नेपाल-कोरिया शैक्षिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउन पहल भइरहेको बताए ।
कार्यक्रममा नेपाली र कोरियन विद्यार्थीहरूले आ-आफ्नो देशका सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए ।
कार्यक्रमको औपचारिक सुरुवात कलेजका कार्यकारी निर्देशक अजयप्रसाद ढकाल, कलेज प्रमुख सुरेन्द्र सुवेदी तथा कोरियन प्रतिनिधिहरूले पानसमा दीप बालेर गरेका थिए ।
यो कार्यक्रम काठमाडौं मोडेल कलेज र कोरियन विश्वविद्यालयहरूबीचको तेस्रो सांस्कृतिक आदानप्रदान कार्यक्रम हो ।
प्रतिक्रिया 4