
२ फागुन, काठमाडौं। ऊर्जामन्त्री दिपक खड्काले नेपाल र भारतबीच प्रस्तावित क्रस बोर्डर प्रसारण लाइन निर्माण हुँदा १७ देखि १८ हजार मेगावाट विद्युत निर्यात गर्न सकिने बताएका छन् । भारत भ्रमण सम्पन्न गरी नेपाल फर्केका मन्त्री खड्काले शुक्रबार त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
हालै नेपाल–भारत ऊर्जा सचिव स्तरीय स्टेयरिङ कमिटी बैठकले इनरुवा–पूर्णिया र लम्की (दोदोधारा)–बरेली ४०० केभी प्रसारण लाइनको निर्माण तथा लगानी मोडालिटीमा सहमति गरेको थियो । यो सहमति उर्जा विकास मार्गचित्रको लक्ष्यअनुरुप २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको लक्ष्यलाई पुरा गर्न कोशेढुङ्गा सावित भएको मन्त्री खड्काले बताए ।
‘हामीले १० वर्षभित्र भारतमा १० हजार र बंगलादेशमा पाँच हजार मेगावाट विद्युत निर्यात गर्ने भनिरहेका छौँ, त्यसका लागि आवश्यक पर्ने प्रसारण लाइन निर्माणका लागि महत्वपूर्ण सहमति भएको छ, सहमति भएको प्रसारण लाइन निर्माण हुँदा हामीले भारत र बङ्गलादेशमा १७–१८ हजार मेगावाट विद्युत निर्यात गर्न सक्छौँ,’ उनले भने ।
भारत भ्रमणका क्रममा भारतका विद्युतमन्त्री मनोहरलाल खट्टर, जलशक्तिमन्त्री सिआर पाटिल र पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीपसिंह पुरीसँग उनले छुट्टाछुट्टै भेट गरेका थिए । त्यस्तै, बङ्गलादेशका उर्जामन्त्रीसँग पनि आफ्नो महत्वपूर्ण भेट र छलफल भएको मन्त्री खड्काले बताए ।
‘हामीले जे उदेश्यका साथ बंगलादेशसँग पनि विद्युत व्यापार गर्ने भनेका छौं, त्यसलाई अगाडि बढाउने संकेत मिलेको छ, चाँडै नै यसले पनि मूर्त रुप लिन्छ,’ उनले भने ।
नेपालबाट बंगलादेश जोड्ने प्रसारण लाईन बनाउने विषयमा पनि छलफल अगाडि बढेको मन्त्री खड्काले बताए । भारतीय विद्युतमन्त्रीले चाँडै नेपालको भ्रमण गर्ने जानकारी पनि उनले दिए ।
टनकपुरदेखि नेपाल–भारत सिमानासम्मको लिङ्क नहर निर्माण सम्पन्न भइसकेको तर यसका लागि सञ्चालन कार्यविधि सञ्चालन प्रक्रियालाई चाँडै अन्तिम रुप दिई महाकाली सन्धीअनुसार पानी छाड्ने सहमति भएको बताए ।
दुई देशबीचको वाढी र डुवान व्यवस्थापनको लागि संयुक्त समितिको वैठक आगामी मार्च २२ देखि २४ सम्म गर्ने छलफल भएको उनले बताए ।
मन्त्री खड्काले पञ्चेश्वर बहुउदेश्यीय आयोजनालाई अगाडि बढाउनेबारे एक हिसाबको सहमति अगाडि बढेको बताउँदै यसलाई प्रधानमन्त्रीस्तरीय बैठकबाट अन्तिम टुङ्गो लगाउनेबारे छलफल भएको उल्लेख गरे ।
पत्रकार सम्मेलनमा उर्जा सचिव सुरेश आचार्यले नेपाल–भारत सचिवस्तरिय संयुक्त निर्देशक समितिको बैठकले ढल्केवर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनको क्षमता ८०० मेगावाटबाट एक हजार मेगावाट पुर्याउने सहमति भएको बताए ।
यस्तै, नेपालको चमेलियादेखि भारतको जौलजीवीसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको डिपिआर आगामी मार्चसम्म गर्ने र सन् २०२७ सम्म प्रसारण लाईन सम्पन्न गर्नेगरी दुबै देशले आ आफ्नो खण्डमा काम गर्ने सहमति भएको छ ।
प्रतिक्रिया 4