+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
फिल्म: समीक्षा  :

बुख्याँचादेखि डर लाग्छ ?

‘टल स्याडोज् अफ द विङ’ लाई इरानी क्रान्तिभन्दा अघि शाह शासकले र पुन: क्रान्तिपछि अर्को नेतृत्व इस्लामिक शासकले पनि प्रतिबन्धमा पारे।

ऋतेश ऋतेश
२०८१ फागुन ३ गते २२:०९

मैले कतै पढेको थिएँ, पहिले-पहिले किसानहरू आफ्ना खेतबारीका छेउछाउमा अस्थायी झुप्रो बनाएर चराचुरुङ्गी तथा जनावरहरूलाई भगाउन बस्थे। त्यसरी उनीहरू अन्नबालीको सुरक्षा गर्थे। पछि-पछि विस्तारै खेत बढ्दै गए, खेती बढ्दै गए। किसानहरूले खेतमा रूँघेर बस्न भ्याएनन्, त्यसपछि उनीहरूले बुख्याँचाको आविष्कार गरे। त्यसैले मान्न सकिन्छ, बुख्याँचाको सुरुवात कृषि सभ्यतासँगै भएको हो।

विस्तारै किसानहरूले विभिन्न रूप र आकारका बुख्याँचाहरू बनाएर खेतबारीमा उभ्याउन थाले। त्यसलाई देखेर चराहरू, जनावर डराएर भाग्न थाले। किसानहरू मख्ख पर्न थाले। भनिन्छ, बुख्याँचाको प्रयोग प्राचीन ग्रीसबाट भएको हो। ग्रीक देवता ‘एफ्रोडाइट’का छोरा ‘प्रायापस’लाई उर्वरता तथा खेतीपातीको देवता भनेर चिनिन्थ्यो। ऊ एकदमै कुरूप थियो। उसको डरलाग्दो अनुहारले गर्दा चरा, जनावरहरू तर्सिएर भाग्थे, त्यसैले किसानहरूले उनैको काठको मूर्तिहरू बनाएर खेतबारीमा राख्न थाले। बुख्याँचाको प्रयोग हुनुभन्दा पहिले किसानहरू खेतबारीमा उभिएर, ताली पिटेर, भाँडो बजाएर चरा र जनावरहरूलाई भगाउने गर्थे, त्यतिबेला त्यो धेरैका निमित्त जागिर पनि भएको थियो।

अहिले बुख्याँचाको प्रयोग संसारभर फरक-फरक तरिकाले हुँदै आइरहेको छ। सुरुमा यो केवल चरा र जनावरहरूलाई तर्साउनका लागि प्रयोग गरिन्थ्यो, तर यसले विस्तारै संस्कृति, धार्मिक आस्था र कथाहरूमा पनि महत्त्वपूर्ण स्थान ओगट्दै आइरहेको छ। अहिले बुख्याँचालाई केवल कृषि सुरक्षाका लागि मात्र नभएर लोककथा, दन्त्यकथा तथा सांस्कृतिक प्रतीकका रूपमा पनि हेर्ने गरिन्छ। कतै कतै किसानहरूले बुख्याँचामा पवित्र शक्ति भएको पनि विश्वास गर्छन्। कतिपय ठाउँमा भने बुख्याँचालाई मृत्युको प्रतीक पनि मान्दा रहेछन्।

केही ठाँउमा बुख्याँचामा मृत जनावरहरूको कंकाल, हड्डीहरू झुन्ड्याउने गर्छन्। कतै माटाका भाँडाहरू भने कतै खेलौनाहरू झुन्ड्याउने गर्छन्। कतै च्यातिएका फोहोर कपडाहरू टाँस्छन् त कतै पातपतिङ्गर, पराल बाँधिन्छन्। जेहोस्, बुख्याँचालाई कुरूप बनाइन्छ। भयानक बनाइन्छ। यो सत्य हो, बुख्याँचा तर्साउनका लागि बनाइन्छ।

म पनि बुख्याँचालाई देखेर तर्सिएँ, फिल्म ‘टल स्याडोज् अफ द विङ’मा हेरेर। सन् १९७९ मा इरानमा भएको इस्लामिक क्रान्तिपछि थुप्रै फिल्महरू प्रतिबन्धमा परेका थिए। बहमन फार्मानाराद्वारा निर्देशित फिल्म ‘टल स्याडोज् अफ द विङ’ पनि त्यसैको शिकार हुनपुग्यो। फिल्मलाई इरानी क्रान्तिभन्दा एक वर्षपछि रिलिज गरिएको थियो, तर यसलाई क्रान्तिभन्दा अघि नै पहिलेका शाह शासकले प्रतिबन्ध लगाइसकेका थिए र पुन: क्रान्तिपछि अर्को नेतृत्व इस्लामिक शासकले पनि प्रतिबन्धमा पारे।

गाउँलेहरू डर र अन्धविश्वासले ग्रस्त हुँदै जान्छन्, जसले शक्ति र शासन भनेको केवल वास्तविक सत्ता मात्र नभएर मान्छेहरूको विश्वासबाट उत्पन्न हुने कुरा हो भन्ने देखाउँछ; जुन सन्देश शायद तत्कालीन इरानी सत्ताका लागि खतरा बन्न पुग्यो

फिल्मले एउटा बेग्लै र अनौठो दुनियाँको निर्माण गरेको छ, जसले यथार्थ र भ्रमबीच रेखा कोरिदिएको छ। फिल्मको कथालाई ‘सर्रियल’ भन्न मिल्छ, ‘जादुई यथार्थवाद’ मान्न पनि सकिन्छ, जसलाई अपरिभाषित भय र रहस्यहरूले बेरेको छ। मरुभूमिको छेउमा एउटा विकट गाउँ छ, शहर र सुविधाभन्दा निकै टाढा, बाहिरी दुनियाँबाट धेरै पर; सुरुवातमै देखाइन्छ, त्यस गाउँका मान्छेहरूले खेतमा एउटा बुख्याँचालाई ठड्याउँछन्। त्यसपछि त्यसको सम्मुख सबै गाउँलेहरू घुँडा टेकेर प्रार्थना गर्न थाल्छन्। छैन त अजिब ?

यसरी फिल्मको कथा बुख्याँचाबाट सुरु हुन्छ; त्यहाँबाट थाहा हुन्छ, खेतीपाती गर्ने त्यस गाउँका मान्छेहरू पुरानो परम्परामा बाँचिरहेका छन्। उनीहरूले भर्खरै ठड्याएको बुख्याँचालाई अनौठो र शक्तिशाली प्रतीकका रूपमा हेर्न थाल्छन्। मुख्य पात्र ‘अब्दुल्लाह’ गाडी चालक हुन्। उनी गाउँबाट शहर र शहरबाट गाउँ आउने-जाने, सामान र मान्छेलाई ओसारपसार गर्ने गर्छन्। सायद त्यसैले पनि उनी अरू गाउँलेहरू भन्दा केही भिन्न छन्। परम्परागत सोच राख्दैनन्, उनी हँसीमजाक गर्छन्। गाउँलेहरूले भर्खरै खेतको बीचमा ठ्डयाएको बुख्याँचामा उनले कोइलाको मद्दतले आँखा बनाइदिन्छन्, आफ्नो टोपी त्यसलाई लगाइदिन्छन्। एक प्रकारले उनले त्यस बुख्याँचालाई अनुहार दिन्छन्, रूप दिन्छन्। त्यसपछि विस्तारै गाउँमा अनौठा घटनाहरू क्रमबद्ध रूपमा घट्न थाल्छन्।

गाउँलेहरू त्यस बुख्याँचालाई देखेर डराउन थाल्छन्, कराउन थाल्छन्। उनीहरूले त्यसलाई खेतमा नभएर गाउँका गल्लीहरूमा पनि देखेको कुरा गर्छन्। केहीले बुख्याँचा रातमा हिंडिरहेको कुरा गर्छन्। विस्तारै गाउँलेहरू मर्दै जान्छन्, हराउँदै जान्छन्, बौलाउँदै जान्छन्। गाउँलेहरू डर र अन्धविश्वासले ग्रस्त हुँदै जान्छन्, जसले शक्ति र शासन भनेको केवल वास्तविक सत्ता मात्र नभएर मान्छेहरूको विश्वासबाट उत्पन्न हुने कुरा हो भन्ने देखाउँछ; जुन सन्देश सायद तत्कालीन इरानी सत्ताका लागि खतरा बन्न पुग्यो।

सन् १९७९ अघि शाह शासनले इरानी जनताहरूलाई मानसिक रूपमा नियन्त्रण गर्दै आइरहेको थियो, त्यस शासन प्रणाफलीले प्रत्यक्ष रूपमा फिल्मलाई आलोचित नगरे पनि कथाको सारलाई पहिल्याएर प्रतिबन्ध लगाएको थियो। शासकले फिल्मलाई व्यापक जनमानसलाई असन्तुष्ट पार्न सक्ने सामग्रीको रूपमा लिएर रोक लगाएको मान्न सकिन्छ।

शाहको पतनपछि इरानमा जन्मिएको नयाँ इस्लामिक शासन भने धार्मिक जरामा उभिएको थियो, त्यसले पनि फिल्मलाई शक्ति संरचनालाई चुनौती दिन सक्ने खतरा मानेर प्रतिबन्ध लगायो। इरानी सिनेमा तथा नाट्यकलाका एक प्रभावशाली निर्देशक बहमन फार्मानारा एक स्वतन्त्र फिल्ममेकर हुन्, जसले ‘टल स्याडोज् अफ द विङ’ मार्फत समाजको मनोवैज्ञानिक पक्ष उजागर गर्न खोजेका छन्। तर, इरानको राजनीतिक वायुमण्डलमा उनको फिल्मलाई व्यवस्थाको विरूद्ध शक्तिशाली तत्वको रूपमा हेरियो र प्रतिबन्धित लगाइयो। फिल्मको कथाले कुनै विशेष राजनीतिक विचारधारा बोकेको जस्तो लाग्दैन तर, यसले सम्पूर्ण सत्ताको मनोवैज्ञानिक संरचनालाई भने चुनौती दिने काम गरेको छ। यो फिल्म आजको मितिमा सजिलैसँग उपलब्ध हुन्छ।

फिल्मले बुझाएको छ, शक्ति वास्तवमा कुनै ठोस चिजबाट नभएर मान्छेको विश्वास, डर र भ्रमबाट निर्माण हुने गर्दछ। राजनीतिक सत्ता वा धार्मिक प्रभाव पनि मान्छेका मानसिक निर्माणहरू हुन्, जसलाई उनीहरूकै विश्वासले बल दिएका हुन्छन्

फिल्मले मिथ्या, विश्वास, भ्रम, जनमानसको सामूहिक मनोविज्ञान र अतार्किक भयलाई मज्जासँग उजागर गरेको छ। फिल्मले केवल कथा नभई समाजमा शक्ति संरचनाले कसरी भयलाई अस्त्रको रूपमा प्रयोग गर्छ भन्ने विषयलाई पनि चित्रण गरेको छ।

यो कुनै एउटा साधारण हरर्र फिल्म झैं लाग्छ तर, यसले मान्छेहरूको मनोवैज्ञानिक डर, समाजको अन्धविश्वास र शक्तिको प्रतीकात्मक रूप बोकेको छ। एउटा निर्जीवता पनि कसरी विश्वास, भय र शक्तिको आकार बनिदिन्छ फिल्मले देखाएको छ। ‘टल स्याडोज् अफ द विङ’ केवल बुख्याँचाको कथा होइन, यो मानव समाजको यथार्थ कथा हो। फिल्मको कथा अघि बढ्दै गर्दा विस्तारै वास्तविकता र कल्पनाबीचको रेखा पनि मेटिंदै गइरहेको भान हुन्छ। फिल्मले बारम्बार हामीलाई प्रश्न गरिरहन्छ। हामी प्रायः अन्धविश्वास र तथ्यहीन धारणाहरूलाई सजिलैसँग स्वीकार गरिदिन्छौं। यी सबै कतै-न-कतै भयका उपज हुन्, जसलाई हामीभित्रकै कमजोरी र भावुकताले जन्माएका हुन्छन्।

बुख्याँचा भय र शक्तिको आपसी सम्बन्धलाई अध्ययन गर्न एक उत्कृष्ट साधन हो। बुख्याँचा यस्तो भ्रम हो, जसलाई देखेर चरा, जनावरहरू डराएर भाग्ने गर्छन्। तिनीहरूको उपस्थितिले मान्छे अथवा मान्छेको बस्ती नजिकै छ भन्ने विश्वास र आभास दिलाउँछ। तर, वास्तवमा बुख्याँचासँग कुनै वास्तविक शक्ति हुँदैन। यो मात्र एउटा निर्दोष निर्जीव आकार हो, जसको शक्ति चरा तथा जनावरहरूले कहिल्यै थाहा पाउन सक्दैनन्। फिल्ममा यसलाई धार्मिक शक्तिको रूपमा देखाइएको छ। जहाँ धर्म छ, त्यहाँ अन्धविश्वास छ।

सुरुमा सबै गाउँलेले बुख्याँचालाई पूजा गर्छन्, उनीहरू आफ्ना समस्याहरू समाधान होस्, सुख-सान्त्वना प्राप्त होस् भनी एउटै लय र आवाजमा प्रार्थना गर्छन्। जब गाउँलेहरूभित्रको डर बुख्याँचामा समाहित हुन थाल्छ, एक महिलाले गाउँको ज्येष्ठ मान्छेलाई ‘गाउँलेहरू गलत दिशामा जाँदैछन्’ भनेर चिन्ता व्यक्त गर्छिन्। तर, ज्येष्ठ मान्छेले भन्छन्, ‘म केही गर्न सक्दिनँ… म गाउँको मालिक हुँ, तर गाउँलेको मनभित्र रहेको डरको मालिक होइन।’ वास्तवमा, बुख्याँचा नै उनीहरूको डरको मालिक बनिदिन्छ, जसले देखाएको छ, कुनै पनि शक्ति व्यक्तिभन्दा पनि ठूलो हुन्छ। गाउँलेहरू आफैंले सिर्जना गरेको भयमा क्रमश: फस्दै जान्छन्, जसले उनीहरूकै सामाजिक संरचनालाई तहसनहस पार्दै लैजान्छ।

फिल्मबाट थुप्रै अर्थहरू निकाल्न सकिन्छ। यो आफैंमा एउटा शक्तिशाली र कल्पनाशील आलोचना पनि हो, जसले सत्ता र जनता सबैलाई सम्बोधन गरेको छ। ‘टल स्याडोज् अफ द विङ’ अर्थात् ‘बतासको अग्लो छायाँ’ यो शीर्षकले गहिरो बिम्ब बोकेको छ। बतास, एउटा यस्तो अदृश्य शक्ति, जसलाई प्रत्यक्ष रूपमा देख्न सकिंदैन, तर त्यसको प्रभावलाई हामी महसुस गर्न सक्छौं। र छायाँ, जसको आफ्नो अस्तित्व हुँदैन। तिनीहरू केवल भौतिक वस्तुका प्रतिविम्ब हुन्। समग्रमा ‘बतासको छायाँ’ले यथार्थमा नभएको छायाँ भन्ने बुझिन्छ।

फिल्मले बुझाएको छ, शक्ति वास्तवमा कुनै ठोस चिजबाट नभएर मान्छेको विश्वास, डर र भ्रमबाट निर्माण हुने गर्दछ। राजनीतिक सत्ता वा धार्मिक प्रभाव पनि मान्छेका मानसिक निर्माणहरू हुन्, जसलाई उनीहरूकै विश्वासले बल दिएका हुन्छन्।

जसरी हावाको कुनै ठोस अस्तित्व हुँदैन, तर यसको प्रभाव अनुभव गर्न सकिन्छ, त्यसरी नै शासन सत्ता, धार्मिक विश्वास र सामाजिक संरचनाहरू मात्र तबसम्म बलिया रहन्छन्, जबसम्म मान्छेहरू तिनीहरूमा विश्वास राख्छन्। इरानी लेखक ‘हौशाङ गोल्शीरी’को कथामा आधारित रहेको फिल्म ‘टल स्याडोज् अफ द विङ’ले केवल भौतिक वस्तुहरू नभई मानसिक, सामाजिक र राजनीतिक भ्रमहरूप्रति पनि संकेत गरेको छ। यो डरको यस्तो छायाँ हो, जुन वास्तविकता भन्दा निकै ठूलो देखिन्छ तर, बतासमा बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?