
४ फागुन, काठमाडौं । गणपुरक संख्या (कोरम) नपुगेर प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
तीन मिनेट घण्टी बजाएर सांसद संख्या गन्दा ६८ जना सांसद मात्रै उपस्थित थिए ।
२७५ सदस्यीय प्रतिनिधि सभामा कोरमका लागि कम्तीमा ६९ सांसद आवश्यक हुन्छ । एक जना सांसदले कोरम नपुग्दा संसद् बैठक स्थगित भएको हो ।
अर्को बैठक सोमबार दिउासो १ बजेका लागि बोलाइएको छ ।
प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले गणपुरक संख्या यकिन गर्न माग गरेकी थिइन् ।
नागरिक ऐन संशोधन विधेयकमाथि छलफल गरेपछि संसदमा सभामुख देवराज घिमिरेले विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न खोज्दा सांसद डाँगीले गणपुरक संख्या माग गरेकी हुन् ।
नेपालको संविधानको धारा ९४ मा संसद्मा कुनै पनि विधेयक वा प्रतिवेदन वा कुनै प्रस्ताव प्रस्तुत गर्न एक चौथाइ सदस्य उपस्थित रहेको हुनुपर्ने व्यवस्था छ । यही व्यवस्था अनुसार सांसद संख्या यकिन गर्न सांसद डाँगीले माग गरेकी थिइन् ।
कोरमको प्रश्न उठेपछि सभामुख घिमिरेले यकिन गर्न निर्देशन दिए । संसद सचिवालयले गणना गर्दा सभामा ६८ जना मात्रै सांसद रहेको थाहा लाग्यो । त्यसपछि प्रतिनिधि सभाको बैठक अगाडि बढ्न सकेन ।
प्रतिक्रिया 4