
५ फागुन, काठमाडौं। सिरहाकी रिंकुकुमारी सदायमाथिको सामूहिक बलात्कार र रहस्यमय मृत्युको विषयले संसद्मा प्रवेश पाएको छ ।
सांसदहरूले सिरहा नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी सदायको मृत्युबारे सरकारको ध्यानाकर्षण गरेका हुन् ।
सदाय ३० माघमा मृत फेला परेकी थिइन् । सिरहा ४ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य वीरेन्द्र प्रसाद महतोका अनुसार गत माघ २७ गते राति ९ बजे सौच गर्न निस्कएको बेलामा सामूहिक बलात्कारको सिकार भएकी हुन् ।
राति ९ बजे सौच गर्न निस्किएकी सदाय बिहान ३ बजे मात्रै घर फर्किएकी थिइन् । स्थानीय रुपेश मण्डल, चन्दन साह र राम विनय मण्डलले सौच गर्न निस्किएकी सदायलाई मुख थुनेर गाउँ बाहिर लगेर हात र गोडा समातेर पालैपालो करणी गरेको सदायले आफ्नो आमालाई सुनाएको महताले बताए ।
यति गम्भीर विषयमा सरकारले अपेक्षित रुपमा अनुसन्धान र कारबाही अगाडि नबढाएको महतोले बताए । ‘यस्तो जघन्य अपराधको घटना बाहिरिँदा पनि राज्य र सरकार मुकदर्शक भएर बस्न मिल्छ ?’ महतोले प्रश्न गरे ।
अझ सामूहिक बलात्कारलाई गाउँमै पञ्चायत राखेर मिलाउने प्रयास भएको उनले बताए । ‘यस्तो संवेदनशील घटना हुँदा पनि स्थानीय तहमा पञ्चायती राखेर सहमति गरेको र पीडकसँग डेढ लाख लिने सहमति भएको कुरा बाहिरएको छ’ उनले भने ।
यो घटनामा संलग्न सबै दोषीउपर कडा कारबाहीको माग गरे । ‘सामूहिक बलात्कार जस्तो यस घटनामा दोषीमाथि कडा भन्दा कडा कारबाहीको माग गर्दछु’ उनले भने ।
अर्का प्रतिनिध सभा सदस्य सम्झना थपलियाले पनि सदायको सामुहिक बलात्कार र रहस्यमय मृत्युबारे सरकारले प्रभावकारी ढंगले खोज र अनुसन्धान गर्नुपर्ने माग गरिन् ।
यो घटनालाई बाहिर ल्याए ज्यान मार्ने धम्की पीडकहरूले दिएको पीडित परिवारले बताइरहेको उनले बताइन् । यस्तो जघन्य अपराध हुँदा समेत प्रहरीले जाहेरी नलिएको भनेर उनले सरकारको ध्यानाकर्षण गरिन्। प्रहरीले दोषीउपर कुनै कारबाही अगाडि नबढाएको भनेर उनले आपत्ति जनाइन् ।
देशभरि दलितहरू अन्यायमा परिरहेको तर, सरकार मूकदर्शक रहेको भनेर उनले उनले गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गरिन्।
‘१७ वर्षीय किशोरीलाई सामूहिक बलात्कार पछि मर्न बाध्य पारिन्छ । तर, यो घटना भएको चार दिन बित्दा पनि प्रहरी मौन रहेको र निश्कृय रहेको छ’ उनले भनिन् ।
यो विषयमा गृहमन्त्रीले प्रहरीलाई तत्काल अनुसन्धानका लागि निर्देशन गर्नुपर्ने उनको माग छ ।
‘म प्रशासनको, गृहमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । यस्ता जघन्य अपराधमा संलग्न अपराधीहरू गाउँमा निर्धक्क हिंडिरहेको छ । सरकार टुलुटुलु हेरेर बसिरहेको’ उनले भनिन् ।
सिरहा जिल्लाको प्रशासनलाई निर्देश गर्न गृहमन्त्री रमेश रेखकलाई उनले पटक–पटक आग्रह गरे ।
प्रतिक्रिया 4