+
+
Shares

भारतमा नेपाली विद्यार्थीको शंकास्पद मृत्युबारे बोल्न सुमनाले मागिन् समय, सभामुखले दिएनन्

सभामुखले परराष्ट्रमन्त्रीको काम हो भन्नुभयो : रास्वपा सांसद श्रेष्ठ

भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी नेपाली विद्यार्थीको न्यायको माग गर्दै प्रदर्शन गरेकाहरुमाथि कलेज प्रशासनले दमन गरेकोबारे कुरा उठाउन खोज्दा सुमनाले समय नपाएकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ५ गते १४:४८
सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा आफ्ना कुरा राख्न खोज्दै रास्वपा सांसद सुमना श्रेष्ठ

५ फागुन, काठमाडौं । प्रतिनिधिसभा बैठक जारी छ । सोमबार बैठक सुरु हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले आकस्मिक समय माग गरिन् ।

बैठकको सुरुमै समय माग गरेर उठेकी सांसद श्रेष्ठलाई सभामुख देवराज घिमिरेले बस्न आग्रह गरे ।  उनी चुपचाप बसिन् । सभामुख घिमिरेले आकस्मिक समयमा बोल्न नाम टिपाएकाहरूलाई समय दिए ।

आकस्मिक समयमा सरस्वती बजिमय, रघुजी पन्त, रामकुमार राई, अशोक कुमार चौधरी, वीरेन्द्रप्रसाद महतो, सिता कुमारी राना, सूर्यबहादुर थापा, सम्झना थपलियाले आफ्ना कुरा राखे ।

यति ८ सांसदले आफ्ना कुरा राखेपछि सभामुख घिमिरेले आकस्मिक समय सकिएको भन्दै शून्य समय सुरु गर्ने बताए ।

प्रतिपक्षी बेन्चमा रहेकी सांसद श्रेष्ठले भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी नेपाली विद्यार्थीको न्यायको माग गर्दै प्रदर्शन गरेकाहरुमाथि कलेज प्रशासनले दमन गरेकोबारे आफ्ना कुरा उठाउन खोजिन् ।

तर, सभामुख घिमिरेले समय दिएनन् ।

‘यहाँबाट समय लिएर मात्रै बोल्न पाइन्छ । आसनग्रहण गर्नुस्,’ सभामुख घिमिरेले भने, ‘यहाँलाई मैले समय दिएको छैन । तपाईं आसनग्रहण गर्नुस् ।’

सभामुख घिमिरेले नियमावलीप्रति ध्यानाकर्षण गराए ।

सांसद् श्रेष्ठ भने आफ्ना कुरा राख्ने प्रयास गरिरहिन् । भारतमा नेपाली विद्यार्थीमाथि भएको दमनबारे आकस्मिक समयमा कुरा राख्नुपर्ने उनले बताएकी थिइन् ।

भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत् एक जना नेपाली विद्यार्थी होस्टलमा मृत अवस्थामा भेटिएकी छन् ।

ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी हुन् ।

सुमनाले सोही विषयमा सरकारको ध्यानाकर्षण गराउन सभामुखसँग समय माग गरेको बताएकी छिन् ।

तर, सभामुख घिमिरेले उनलाई फेरि भने, ‘मैले यहाँलाई समय दिएको छैन भन्ने कुरा सुन्नेगरी राखेको छु । त्यसकारण आसनग्रहण गर्नुस् । नियमको पालना गर्नुपर्छ भन्ने कुराप्रति हेक्का राख्नुस् ।’

यति कुरा राखेर सभामुख घिमिरेले शून्य समयको कार्यक्रम अघि बढाए ।  सांसद श्रेष्ठ बैठक कक्षबाटै निस्किइन् ।

संसद्‌मा आकस्मिक समय नपाएकी सांसद श्रेष्ठसँग अनलाइनखबरले गरेको छोटो कुराकानी :

मलाई पार्लियामेन्ट आउँदैगर्दा मेरो टिमबाट भारतमा भइरहेको घटनाबारे जानकारी गराइयो । मैले पनि तुरुन्तै परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराउन भनेर आकस्मिक समय लिनका लागि गएँ ।

सभामुखको कार्यकक्षमा उहाँसँग भेट भयो । मैले भारतमा नेपाली विद्यार्थीको शंकास्पद मृत्यु भएको र त्यसको प्रतिरोध गर्दा विद्यार्थीमाथि नै दमन भएकोबारे जानकारी गराएँ ।

उहाँ (सभामुख) ले त्यो मान्छे चिन्नुहुन्छ तपाईंले ? भनेर प्रश्न गर्नुभयो । मैले नेपाली विद्यार्थीको नाम पनि भनेँ, (प्रकृति लम्साल) । उहाँले थाहा नभएको मान्छेको बारेमा बोल्न मिल्दैन भन्नुभयो । त्यसपछि मैले उहाँलाई अर्जेन्ट यसमा लाग्नुपर्छ भनेँ । तर, सभामुखले परराष्ट्रमन्त्रीको काम हो भन्नुभयो । उहाँले धेरै जनाले आकस्मिक समय लिएका छन्, तपाईं आज नबोल्नु भन्नुभयो । भारतमा विद्यार्थीलाई आजै समस्या भएको छ । अब यसबारे सभामुखले भोलिमात्रै बोल भन्नुहुन्छ ? यो कसरी हुन्छ ?

सदनमा मलाई बोल्न नदिएपछि मैले बाहिर निस्किएर केही सञ्चारमाध्यमसँग आफ्ना कुरा राखेँ । अहिले बैठककक्षमा फर्किएँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?