
५ फागुन, हेटौंडा। मधेश प्रदेशलाई बागमती प्रदेशसँग जोड्ने प्रमुख नाका हेटौंडा उपमहानगरपालिका–१५, स्थित रातोमाटे प्रहरी चौकीका इञ्चार्ज जिल्ला प्रहरी कार्यालय तानिएका छन् ।
आइतबार राति कानुन विपरीत गोरु बोकेर मधेशतर्फ जाँदै गरेको ट्रक नियन्त्रणमा लिएर पनि भगाएको आरोपमा रातोमाटे प्रहरी चेक पोष्टका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (सई) कुमार फुयाँल जिल्ला तानिएका हुन्। फुयाँललाई आज सोमबार जिल्ला तानेर घटना बारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
चितवनतर्फबाट गोरु बोकेर आएको बागतमी प्रदेश ०३–००१ ख १४२४ नम्बरको ट्रक हेटौंडा हुँदै बारातर्फ जान लागेको थियो । पशु सेवा कार्यालय मकवानपुरले सोधपुछ गरिरहेको अवस्थामा रातोमाटे चेक पोष्टमा रोकिराखेको ट्रक भागेपछि बाराको पथलैयामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको पशु सेवा कार्यालयका प्रमुख ब्रजकिशोर ठाकुरले जानकारी दिए । ठाकुर ट्रकलाई नियन्त्रणमा लिन रातोमाटे चेकपोष्ट पुगेका थिए ।
ट्रकमा २५ वटा गोरु रहेको ठाकुरले बताए । मकवानपुरको जनपथ प्रहरी उपरीक्षक विश्वराज खड्कालाई जानकारी गराउँदागराउँदै रातोमाटेबाट ट्रक भागेपछि सशस्त्र प्रहरी १४ नम्बर हेडक्वाटर हेटौंडाका प्रमुख प्रहरी उपरीक्षक सन्तोष विक्रम शाहको निर्देशनमा पथलैयाबाट ट्रक नियन्त्रणमा लिन सफल भएको कार्यालय प्रमुख ठाकुरले बताए ।
प्रारम्भिक छानबिनका क्रममा गोरु बोकेको ट्रक सलार्हीको नवलपुरमा लगेर २ दिन राख्ने र त्यसपछि अर्को ट्रकमा हालेर पूर्वी नेपाल हुँदै बंगलादेश पठाउने योजना रहेको प्रमुख ठाकुरले दाबी गरे । गोरु ओसारपसार गर्न झापाको हेमाहेवी सप्लायर्सको नाममा लक्ष्मी चौपाया सप्लायर्स, मकवानपुर–१६ हेटौंडाले १ लाख २५ हजार रुपैयाँको बिल बिजक जारी गरेको छ ।
ट्रकले हेटौंडा उपमहानगरको पशुहाट बजार सेवा शुल्कका रुपमा हेमाहेवी सप्लायर्स झापाले ३ हजार रुपैयाँ बुझाएको छ । आबुखैरेनी गाउँपालिका तनहुँका भिम राईले पठाएको जारी भेटेरीनरी प्रमाणपत्रमा खुल्छ ।
भेटेरीनरी प्रमाणपत्रअनुसार हेटौंडा ठेगाना भएको लक्ष्मी चौपाया सप्लायर्स पठाउने र पाउने झापाको हेमादेवी सप्लायर्स छ । तर बिक्रेता तनहुँका भिम राई उल्लेख छ । पठाउने व्यक्तिको परिचय नै गलत रहेको दाबी पशु सेवा कार्यालयको छ । भेटेरीनरी प्रमाण पत्र डा. टिकाराम न्यौपानेले ४ फागुनमा जारी गरिदिएका छन् ।
प्रतिक्रिया 4