
६ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले कूटनीतिक रूपमा सरकार असफल भएको आरोप लगाएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर बोलेका माओवादी केन्द्रका सांसद माधवप्रसाद सापकोटाले भारतमा अध्ययनरत नेपाली विद्यार्थीको रहस्यमय मृत्यु र त्यसपछि विकसित घटनाक्रमलाई हेर्दा सरकार कूटनीतिक रूपमा असफल भएको देखिएको बताएका हुन् ।
सरकारको कूटनीतिक असफलताको कारण नेपाली जनताले समस्या भोगिरहनुपरेको उनले बताए । ‘भारतमा अध्ययनरत नेपाली विद्यार्थीको रहस्यमय मृत्युपछि त्यहाँ रहेका नेपाली विद्यार्थीले गरेको न्यायको आन्दोलनमा जुन अपमानजनक, अमानवीय व्यवहार गरियो । यसले सिंगै नेपाल र नेपालीमाथि धावा बोलेको छ,’ सांसद् सापकोटाले भने, ‘सरकारको कूटनीतिक असफलताको कारण नेपाली जनताले समस्याको सामना गरिरहनुपरेको छ ।’
उनले माओवादी संसदीय दलको तर्फबाट घटनाको भर्त्सना गर्दै पीडित नेपालीलाई न्याय दिलाउन तीव्र कूटनीतिक पहलको माग गरे ।
‘सरकारले कूटनीतिक पहल गर्न ढिलो गरेको छ । सरकारलाई उच्चस्तरीय राजनीतिक पहलको निम्ति माग गर्न चाहन्छु,’ उनले थपे, ‘घटनाको सत्यतथ्य छानबिनका लागि जोडदार माग गर्दछु ।’
छिमेकी राष्ट्र भारतमा यस्ता घटना पहिले पनि भइरहेको भन्दै सांसद सापकोटाले नेपाली नागरिकको अपमान गर्ने तथा असुरक्षाको भय उत्पन्न गराउन घटनालाई सिंगो सदनले पनि गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखे ।
प्रतिक्रिया 4