६ फागुन, काठमाडौं । खेलकुदमा अधिकांश युवा खेलाडीहरू बढी सक्रिय हुने गर्छन् । तर केही यस्ता खेलाडीहरू पनि छन् जसका लागि उमेर भनेको केवल अंक मात्र हुन्छ ।
भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनी यो कुराको लागि उत्तम उदाहरण हुन् । उनी ४३ वर्षको उमेरमा पनि चेन्नई सुपर किङ्स टोलीका लागि आईपीएल खेलिरहेका छन् ।
यस्तै खेलाडीमध्ये एक हुन् मोहम्मद नाबी जो नेपालमा पनि लाखौंमाझ परिचित छन् । सन् २०१० यता नेपाली क्रिकेट टोलीको उदय हुँदै गर्दा अफगानिस्तान क्रिकेट टोलीको नेतृत्व गरिरहेका नाबीको शानदार नेतृत्वकै कारण अफगानिस्तान अहिले विश्वस्तरीय टिम भइसकेको छ ।
केही महिनाअघि अफगानिस्तान क्रिकेट बोर्डसँगको कुराकानीमा च्याम्पियन्स ट्रफी क्रिकेट खेलेपछि सन्यास लिने योजना रहेको बताएका ४० वर्षीय नाबीले सन्यासको चाहना त्याग्दै छोरा हसन एइसाखिल नाबीसँग एउटै टिमबाट एकदिवसीय क्रिकेटमा खेल्ने इच्छा देखाएका छन् ।
च्याम्पियन्स ट्रफी अघि आईसीसीसँगको कुराकानीमा उनले यस प्रतियोगितापछि पनि १८ वर्षीय छोरा हसन एइसाखिलसँग अफगानिस्तान टोलीबाट सँगै खेल्ने इच्छा राखेका हुन् । एइसाखिलले सन् २०२४ को आईसीसी यू-१९ विश्वकपमा अफगानिस्तानबाट खेलेका थिए ।
यो च्याम्पियन्स ट्रफी मेरो अन्तिम एकदिवसीय नहुन सक्छ, म सायद कम एकदिवसीय खेल्नेछु र युवाहरूलाई अनुभवको मौका दिनेछु। मैले सिनियर खेलाडीहरूसँग पनि यसबारेमा छलफल गरेको छु, हुन सक्छ वा सक्दैन हेर्दै जाऔं, यो मेरो फिटनेसमा निर्भर हुनेछ’ नाबीले आईसीसीसँगको कुराकानीमा भनेका छन् ।
‘एइसाखिलसँग राष्ट्रिय टोलीबाट खेल्ने मेरो सपना पनि हो, उसले धेरै राम्रो गरिरहेको छ, ऊ एक मेहनती हो र म पनि उसलाई मोटिभेट गरिरहेको छु’ उनले थपे, ‘उसको लक्ष्य ऊ आफैं बनाओस् भन्ने म चाहन्छु । मसँग कुरा भएको बेला सधैं मैले आत्मविश्वास बढाउन सल्लाह दिने प्रयास गरिरहेको हुन्छु।’
नाबीका छोरा एइसाखिलले २०२४ को अन्त्यमा नेपालमै भएको नेपाल प्रिमियर लिग क्रिकेटमा पनि चितवन राइनोजबाट खेलेका थिए । त्यसकारण नाबीजस्तै उनका छोराबारे पनि नेपालमा क्रिकेट समर्थकहरू परिचित भइसकेका छन् ।
प्रतिक्रिया 4