
६ फागुन, काठमाडौं । प्रतिनिधिसभाबाट विद्युतीय (ई-कमर्स) व्यापार विधेयक सर्वसम्मत पारित भएको छ । राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयक प्रतिनिधिसभाले मंगलबार पारित गरेको हो ।
यो विधेयक २०८० साल १२ असारमा तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले राष्ट्रिय सभामा दर्ता गरेका थिए । राष्ट्रिय सभाले १६ कात्तिक २०८० मा पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो । प्रतिनिधिसभाले पनि मंगलबार पारित गरेको हो ।
प्रतिनिधिसभा सदस्य लालप्रसाद सावा लिम्बुका अनुसार ई-कमर्सले संसारभरि १५ लाख ३२ हजारभन्दा धेरै व्यक्तिलाई रोजगारी दिइरहेको छ ।
अलिबाबा कम्पनीले आफ्नो उत्पादनलाई संसारभरि पुर्याउन ई-विजनेशमार्फत प्रोत्साहन गरेको थियो । अलिबाबा मात्रै हाल दुई लाख १५ हजार बढीलाई रोजगारी दिइराखेको सांसद लिम्बुले बताए ।
उनका अनुसार वर्तमानमा संसारभरिको खुद्रा व्यापारमा ई-कमर्सले २० प्रतिशत बढी हिस्सा ओगटेको छ । ई-कमर्सको बढ्दो प्रवृत्ति आर्थिक सशक्तीकरणको माध्यम बनिराखेको छ ।
नेपालमा पनि इन्टरनेटको पहुँच एक करोड ५० लाख भन्दा बढी नागरिकमा पुगेको उल्लेख गर्दै सांसद लिम्बुले यो पृष्ठभूमिमा ई-कमर्स गतिमा विस्तार भइराखेको बताए ।
सांसद लिम्बुका अनुसार ई-कमर्सको विकाससँगै उपभोक्ताहरू ठगिने, डाटा चोरी हुने र आपूर्ति शृंखलामा समस्या देखा परिराखेको छ । यस्तो समस्या समाधान गर्नका लागि ई-कमर्सलाई नियमन गर्ने गरी ऐन आवश्यक भएको बताए ।
अब यो विधेयक पुनः राष्ट्रिय सभामा जान्छ । प्रतिनिधिसभाले गरेको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेको खण्डमा राष्ट्रिय सभाका अध्यक्ष हुँदै प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ जान्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रूपमा कार्यान्वयनमा आउनेछ ।
प्रतिक्रिया 4