६ फागुन, काठमाडौं । तेस्रो संस्करणको कैलाली प्रिमियर लिग क्रिकेटको तयारी पूरा भएको छ । आयोजक जिल्ला क्रिकेट संघ कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगीताको लागि आवश्यक मैदान निर्माणको कामदेखि लिएर अतिथि निमन्त्रणा दिने र प्राविधिक गरी सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।
फागुन ७ गतेबाट सुरु भएर फाल्गुन १४ गतेसम्म सञ्चालन हुने प्रतियोगीतामा सुदूरपश्चिम प्रदेशभरीका १२ ओटा नगरपालिकाका टिमले सहभागिता जनाउँदै छन् । प्रतियोगीताको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीएले रहेको र अन्य विभिन्न संघ संस्थाहरुले सहयोग गरेको जिल्ला क्रिकेट संघ कैलालीका अध्यक्ष बिक्रम विष्टले बताए ।
धनगढीको फाप्ला खेल मैदानमा आयोजना हुने प्रतियोगिताको पहिलो संस्करण कैलालीको टिकापुर नगरपालिकाको टिमले जितेको थियो भने दोस्रो संस्करण डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको थियो ।
तेस्रो संस्करणमा सहभागी १२ टोलीलाई चार समूहमा विभाजित गरिएको छ । समूह ए मा गोदावरी नगरपालिका,पुर्नवास नगरपालिका ए र शुक्लाफाँटा नगरपालिका,समूह बी मा घोडाघोडी नगरपालिका,जोरायल गाउँपालिका र पुर्नवास नगरपालिका बी, समूह सी मा त्रीवेणी गाउँपालिका,वेदकोट नगरपालिका र धनगढी उपमहानगरपालिका र समूह डी मा भीमदत्त नगरपालिका, लम्कीचुहा नगरपालिका र परशुराम नगरपालिका रहेका छन ।
लिग कम नकआउटमा खेलाइने प्रतियोगितामा हरेक समूहको विजेता टोलीले सेमिफानल खेल्नेछ । प्रतियोगिताको विजेता टोलीले नगद २ लाख, उपविजेता टोलीले नगद १ लाख, सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार, बेष्ट बलर र ब्याटरले जनही १५/१५ हजार, उदीयमान खेलाडीले १० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद पच्चिस सय प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट संघ कैलालीले जनाएको छ ।
प्रतियोगीताको उद्घाटन खेलमा गोदावरी नगरपालिकाको टिम र शुक्लाफाँटा नगरपालिकाको टिम भिड्ने छन् भने त्यसैदिन घोडाघोडी नगरपालिका र पुर्नवास नगरपालिका बी खेल्दैछन ।
प्रतिक्रिया 4