६ फागुन, काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघ, ललितपुर र नखिपोट युवा क्लबको संयुक्त आयोजनामा पुरूष तथा महिला खुला बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।
प्रतियोगितामा पुरूषतर्फ १५ र महिलामा ३ टिमले प्रतिस्पर्धा गर्ने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष एवं क्लबका महासचिव पुनित गुरुङले जानकारी गराए ।
पुरूषको खेल नकआउट आधारमा हुनेछ । महिलामा सहभागी टिमबीच पहिले राउन्ड रोविन लिग र त्यसपछि शीर्ष २ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक विनोद श्रेष्ठले जानकारी दिए ।
पुरूषमा पहिलो हुनेले १ लाख र दोस्रोले ५० हजार नगद पुरस्कार पाउने छन् । महिलाको उपाधि विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । दुवै समूहको ‘मोस्ट भेलुएबल प्लेयर’ लाई समान २०–२० हजार तथा उदीयमान खेलाडीलाई समान १०–१० हजार नगदसहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब १८ लाख रुपैयाँ खर्च हुने आयोजक लोकतान्त्रिक खेलकुद संघका सचिव श्याम रावतले बताए । पाँचदिने प्रतियोगिताका खेलहरु नखिपोटस्थित आयोजक क्लबको कभर्डहलमा हुनेछ ।
प्रतिक्रिया 4