
विश्वका सबैभन्दा धनी मानिस तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मुख्य सहयोगी एलन मस्कका छोराछोरी यस्तो ठाउँमा पुगेका छन्, जहाँ सायद संसारका अधिकांश मानिसहरू कहिल्यै पनि पुग्ने कल्पनासम्म गर्न सक्दैनन् ।
विदेशी नेताहरूसँगको भेटघाटदेखि लिएर स्पेस एक्सका अन्तरिक्षयान प्रक्षेपणको कन्ट्रोल रुमसम्म । मस्कका बच्चाहरू प्रविधि, कारोबार तथा अब राजनीतिक ठाउँहरूमा समेत आफ्ना बुवासँगै लगातार देखिने गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जबदेखि अर्बपति तथा टेस्लाका संस्थापक मस्कलाई सरकारी कार्यदक्षता विभागको नेतृत्व सुम्पिए, त्यसयता मस्कका बच्चाहरू प्रायः अमेरिकाको राजधानीमै देखिंदै आएका छन् ।
मस्कका चार वर्षीय छोरा लिटिल एक्स गत बुधबार ओभल अफिसमा बैठक कक्षको एउटा छेउमा उपस्थित थिए ।
बिहीबार जब मस्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित विषयहरुमा चर्चा गरिरहेका थिए, त्यसबेला लिटिल एक्स र उनका दुईजना भाइ बहिनीहरुले भारतीय प्रधानमन्त्रीसँग उपहार आदानप्रदान गरे ।
अमेरिकामा ट्रम्प प्रशासनको हिस्सा बन्नुअघि पनि मस्कलाई प्रायः उनका छोराछोरीसँगै देखिन्थ्यो । जस्तो कि टर्कीका राष्ट्रपतिसँगको बैठकमा, आशविच कन्सन्ट्रेसन क्याम्पमा आयोजित स्मृति दिवसका क्रममा तथा सन् २०२१ मा आफूले टाइम वर्ष व्यक्तिको उपाधि ग्रहण गर्ने समारोहमा समेत ।
आखिर यतिधेरै महत्वपूर्ण अवसरहरुमा मस्कले किन आफ्ना बच्चाहरुलाई सँगै लैजान्छन् त ?
अमेरिकी विश्वविद्यालयमा सार्वजनिक सञ्चारका प्राध्यापक कर्ट ब्रेडाक भन्छन् – केही सार्वजनिक कार्यक्रमहरुमा बच्चालाई सहभागी गराउने एकजना राजनेताले उठाएको राजनीतिक कदम हो ताकि ऊ अझै धेरै मिलनसार देखियोस् र जनताको नजरमा अधिक मानवीय दृष्टिकोण अपनाउने मान्छे जस्तो लागोस् ।
सार्वजनिक स्थानमा बच्चालाई किन ?
उसो त आफ्नो सानो छोरालाई ओभल अफिसमा लैजाने मस्कको निर्णय असामान्य थियो । तीन मिनेटका प्रेस ब्रिफिङका क्रममा लिटिल एक्सले दिक्क मानेजस्तो देखिन्थ्यो । उसले आफ्नो पिताको नक्कल गरेजस्तो देखिन्थ्यो । कतिबेला ऊ भुईंमा बस्थ्यो र बीचबीचमा अमेरिकी राष्ट्रपतितर्फ एकटकले हेर्दै मुस्कुराउँथ्यो ।
ब्रेडाकका अनुसार मस्काले जानीबुझी आफ्ना बच्चालाई ती सार्वजनिक कार्यक्रममा लग्ने गरेका छन् । यो एउटा यस्तो भाषा हो, जो मस्क र ट्रम्प दुवैका लागि फाइदाजनक छ ।
उनी भन्छन् – मलाई लाग्छ कि यसको पछाडि एउटा रणनीति छ । यसका माध्यमबाट केही चिजतर्फ ध्यान खिच्ने र बाँकी चिजबाट ध्यान हटाउने कोसिस भइरहेको छ ।
जोन हेबर एकजना रणनीतिक सञ्चार सल्लाहाकार हुन् । पाँचजना राष्ट्रपतिको चुनावी अभियानमा काम गरेका हेबरले हार्वर्डमा पढाउँछन् ।
उनका अनुसार मस्कका बच्चाहरुलाई पटक पटक देखाइनु र त्यसलाई भाइरल क्षण बनाउनु ट्रम्पका लागि फाइदाजनक छ ।
उनी भन्छन् – धेरै भन्दा धेरै खलबली तथा हलचल मच्चिनु नै ट्रम्पका लागि कामयाबी हुन्छ । यसो हुँदा वास्तवमा उनीमाथि कम ध्यान दिइन्छ ।
मस्ककी पूर्वप्रेमिका तथा लिटिल एक्सकी आमा ग्रिम्सले ओभल अफिसमा आफ्नो छोराको उपस्थितिको आलोचना गरेकी छिन् ।
सोसल मिडिया प्लाटफर्म एक्समा उनले लेखेकी छिन् – उसलाई यस्तो प्रकारले सार्वजनिक रुपमा ल्याइनु हुँदैनथ्यो । तर, मलाई खुसी छ कि त्यसक्रममा ऊ विनम्र थियो ।
सन् २०२२ मा भ्यानिटी फेयरका लागि लेखेको एक लेखमा ग्रिम्सले आफ्नो छोरालाई चर्चामा हेर्न आफूले नचाहेको बताएकी थिइन् ।
उनले लेखेका थिइन् – परिवारमा जे सुकै भैरहेको होस्, मलाई लाग्छ कि बच्चालाई त्यसबाट टाढा राख्नुपर्छ र छोरा एक्स ठीक त्यहीँ छ । तर, मस्कले छोरालाई आफ्नो उत्तराधिकारीको रुपमा हेरिरहेको छ र उसलाई जहाँसुकै लगिरहेको छ । एक्सको अवस्था यस्तो छ । तर, उसलाई कहाँ लगिँदैछ भन्ने बारेमा म अनभिज्ञ छु।
मस्क र उनका बच्चा
राजनीतिमा आउनुभन्दा निकै अघि नै मस्कले आफ्ना छोराछोरीलाई सँगै लिएर हिँड्न सुरु गरेका थिए ।
एक दशकअघि जब उनले आफ्नो पहिचान बनाइरहेका थिए र आफ्नो विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लातर्फ ध्यानाकृष्ट गर्नका लागि उत्सुक थिए त्यसबेला उनलाई धेरै कार्यक्रमहरुमा देख्नु सामान्य कुरा थियो ।
सन् २०१५ मा जब विश्लेषक तथा रिपोर्टरहरू सिलिकन भ्यालीमा टेस्लाको सुरुवात हुने पर्खाइमा थिए, त्यसबेला मस्कका पाँचजना बच्चाहरु कम्पनीको परिसरमा एक अर्काको पछाडि दौडिंदै, हाँस्दै, चिच्याउँदै र बोलाउँदै गरेको देखिन्थ्यो ।
त्यहाँ रहेका मानिसहरु घण्टौंसम्म पर्खिन बाध्य थिए, तर मस्कका बच्चाहरुका कारण आरामदायक तथा खुसीयालीयुक्त माहोल बन्दथ्यो ।
यो आम रुपमा कम्पनीहरुले आयोजना गर्ने कठोर तथा औपचारिक कार्यक्रमहरुभन्दा नितान्त फरक थियो, जहाँ कुनै संस्थापकका बच्चाहरुलाई देख्नु नै अनौठो हुन्थ्यो ।
स्मरण रहोस् विभिन्न ३ जना पार्टनरहरुबाट मस्कका १२ जना सन्तान छन् । सार्वजनिक रुपमा देखिएका मस्कका सन्तानहरुमा एक्स, एई, ए १२ तथा लिटिल एक्स हुन् ।
आफ्ना ४ वर्षीय छोरा लिटिल एक्सलाई मस्क आफैंले भावनात्मक टेवा दिने व्यक्तिको रुपमा चित्रण गर्दछन् ।
मस्कको जीवनी लेख्ने वाल्टर इसाकसनले द डायरी अफ ए सीईओ पडकास्टमा भनेका छन् कि मस्क आफ्ना बच्चाहरुको लागि गहन रुपमा प्रतिबद्ध छन् । यो उनका लागि करिब एउटा आशक्तिजस्तै हो ।
इसाकसन भन्छन् – आफ्ना बच्चा, आफ्नी प्रेमिकाहरू तथा पत्नीहरुका लागि उनी जे सुकै गर्दछन्, त्यो डुबेर गर्दछन् ।
वास्तवमा मस्क सदैव आफ्ना बच्चाहरुलाई आफ्नै नजिक राख्न मन पराउँछन् । मस्कलाई सधै आफूसँग एकजना साथी राख्न मनपर्छ । तर, यसको अर्थ यो होइन कि मस्कलाई शान्ति मन पर्दैन ।
-बीबीसीबाट
प्रतिक्रिया 4