
७ फागुन, काठमाडौं । २५ वर्षपछि हुन लागेको नेपाली कांग्रेसको भ्रातृ संस्था प्रजातन्त्र सेनानी संघको महाधिवेशन आजबाट सुरु भएको छ । आजबाट १० गतेसम्म चल्ने महाधिवेशनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरू पार्टी केन्द्रीय कार्यालय, सानेपा पुगेका छन् ।
महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन थालेका कांग्रेस नेता विमलेन्द्र निधिले सभापति देउवालाई पूर्वप्रधानमन्त्री मात्रै नभई भावी प्रधानमन्त्री पनि भएको उल्लेख गरे ।
निधिले सम्बोधनको सुरुमै सभापति देउवालाई सम्बोधन गरेका थिए । उनले सम्बोधन गर्दैगर्दा देउवा सोही मञ्चमा उपस्थित छन् ।
सोही क्रममा उनले सुरुमा सभापति अनि पूर्वप्रधानमन्त्री भने । त्यसपछि उनले भावी प्रधानमन्त्रीको रुपमा पनि देउवा निश्चित भएको जिकिर गरे ।
‘नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री मात्रै होइन भावी प्रधानमन्त्री पनि । अब हुँदै हुनुहुन्छ । निश्चितै छ । आदरणीय शेरबहादुर देउवाज्यू,’ निधिले भने ।
अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार छ । कांग्रेस–एमालेको समझदारी अनुसार ओलीपछि आगामी निर्वाचनसम्म सरकारको नेतृत्व कांग्रेस सभापति देउवाले गर्नेछन् ।
निधिले सोही समझदारी सम्झँदै देउवालाई भावी प्रधानमन्त्री भनेका हुन् ।
२०५३ सालमा पहिलो प्रजातन्त्र सेनानी संघको अधिवेशन भएको थियो । तीनवर्षे कार्यकाल हुने प्रजातन्त्र सेनानी संघको दोस्रो अधिवेशन नियमित समयमा हुँदा २०५६ सालमा हुनुपर्ने थियो ।
यसबीचमा तदर्थ समितिबाट प्रजातन्त्र सेनानी संघ क्रियाशील थियो । २०५३ देखि हालसम्म चार जना अध्यक्ष बनेका छन् । संस्थापक अध्यक्ष कमल चित्रकारपछि तदर्थ समितिबाट संस्था सञ्चालित छ ।
प्रतिक्रिया 4