
७ फागुन, बुटवल । भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालको शव घर ल्याइएको छ ।
भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय गरेर उनको शव भैरहवा ल्याएको प्रकृतिकी फुपू सीता ढकालले बताइन् ।
उनका अनुसार प्रकृतिको शव भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजमा राखिनेछ ।
प्रकृतिको शङ्कास्पद मृत्यु भएको खबर आएपछि बुबा सुनिल लम्साल ओडिसा पुगेका थिए । उनले मंगलबार प्रहरी अधिकारीहरुसँग भेटेर न्याय पाउनुपर्ने बताएका थिए ।
गत आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । साँझबाटै विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए । तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै दमन गरेको थियो ।
चर्को आलोचना भएपछि भने विश्वविद्यालय प्रशासनले केही कर्मचारीलाई बर्खास्त गरेको छ भने केहीलाई निलम्बन गरेको छ । नेपाली विद्यार्थीलाई धम्क्याएको विश्वविद्यालय र प्राध्यापक मन्जुशा पाण्डेले पनि माफी मागेकी छन् ।
प्रकृतिको मृत्युबारे ओडिसाको विधानसभामा समेत प्रश्न उठेको थियो । ओडिसा सरकारले नै यो घटनाको छानबिनका लागि उच्चस्तरीय समिति बनाएको छ ।
प्रकृतिलाई ब्ल्याकमेल गरेको आरोप लागेका अड्विक श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेर न्यायिक हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
श्रीवास्तवले पटकपटक यातना दिएको विषय प्रमाणसहित उजुरी दिंदा पनि कलेजले लापरबाही गर्दा प्रकृतिले मृत्युवरण गर्नु परेको भन्दै केआईआईटीको आलोचना भएको छ । कलेजले उल्टो पीडकलाई नै साथ दिएको आरोप छ ।
यो घटनालाई लिएर नेपाल र भारतका विद्यार्थी आन्दोलित भइरहेका छन् भने संसद्मा पनि प्रश्न उठेको छ ।
प्रतिक्रिया 4