+
+
Shares

१० वर्षपछि पर्दामा माग्ने बुढा र तक्मे बुढाको जोडी

‘हामी लामो समयदेखि एकअर्कासँग काम गर्न उत्सुक थियौँ । अखण्ड प्रयासका बावजुद पनि जुरेको थिएन,’ उनले भने, ‘माग्ने राजामा हामी दुबैलाई अटाउने भूमिका निस्कियो । यो जुगलबन्दीलाई सार्थक बनाउने प्रयास गर्नेछौँ ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ८ गते १२:०२

काठमाडौँ । अभिनेता विल्सनविक्रम राई पनि केदार घिमिरेको मुख्य भूमिका रहने फिल्म ‘माग्ने राजा’को कलाकार टोलीमा सामेल भएका छन् । निर्माताले राईलाई औपचारिकरुपमा अनुबन्ध गरेपछि यी दुई हास्य कलाकारको जुगलबन्दी पक्का भएको हो ।

दुबैले झण्डै दशकपछि फिल्ममा काम गर्न लागेका हुन् । यसअघि ‘रामकहानी’मा सहकार्य गरेका थिए । विल्सनलाई ‘मेरी बास्सै’मा अभिनय मौका दिएसँगै उनको चरित्रलाई ‘तक्मे बुढा’ नामाकरण पनि केदारले नै गरिदिएका थिए । विल्सनले पनि केदारलाई गुरु मान्ने गरेका छन् ।

फिल्ममा तक्मे बुढालाई स्वागत गर्दै केदारले लामो समयपछिको सहकार्यलाई लिएर उत्साहित रहेको बताए । ‘हामी लामो समयदेखि एकअर्कासँग काम गर्न उत्सुक थियौँ । अखण्ड प्रयासका बावजुद पनि जुरेको थिएन,’ उनले भने, ‘माग्ने राजामा हामी दुबैलाई अटाउने भूमिका निस्कियो । यो जुगलबन्दीलाई सार्थक बनाउने प्रयास गर्नेछौँ ।’

माग्ने बुढासँगको सहकार्यलाई लिएर तक्मे बुढा पनि उत्तिकै उत्साहित सुनिए । फिल्ममा काम गर्ने प्रस्ताव आएदेखि नै पुराना दिन याद आएको स्मरण उनले गरे । ‘उहाँले र मैले टेलिभिजनबाहेक देश विदेशमा थुप्रै स्टेज सो गरेका थियौँ । सँगै काम गर्ने भएपछि मन त्यता पनि पुगिरहेको छ’ विल्सनले भने, ‘फिल्ममा भने त्यति धेरै सहकार्य गर्न पाइएको थिएन । यो यसले त्यो चाहना पूरा गरिदिएको छ । बुढाहरुको जोडीले पहिलेझैँ दर्शक हँसाउने पक्का छ,’ विल्सनले भने ।

ऋषि लामिछानेले निर्देशन गर्ने फिल्ममा यसअघि नै वर्षा सिवाकोटी, शिशिर वाङदेल, शारदा गिरी, पुष्कर गुरुङ आदि कलाकार तय छन् । आरम्भ प्रडक्सनको प्रस्तुतिमा मुनाल घिमिरेले निर्माण गर्ने फिल्ममा नरेन्द्र मैनालीको छायांकन, सामीप्यराज तिमल्सेनाको पटकथा छ । छायांकन शिवरात्रीदेखि सुरु हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?