
८ फागुन, काठमाडौं । संविधानसभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य विदुर सापकोटाको आलोकनगरमा अन्तिम श्रद्धाञ्जली दिइएको छ ।
अचानक स्वास्थ्यमा समस्या आएपछि हेल्पिङ ह्याण्ड्स अस्पतालमा भर्ना भएका सापकोटालाई चिकित्सकले बिहीबार बिहान ३ : ५० बजे मृत घोषणा गरेका थिए ।
एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा राखिएको सापकोटाको पार्थिव शरीरमा अध्यक्ष माधवकुमार नेपाललगायतका शीर्ष नेताले श्रद्धाञ्जली अर्पण गरे । नेपालले पार्टीको झण्डा ओढाएर सम्मान गरे ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खानाल, महासचिव घनश्याम भुसाललगायत दलका अन्य नेता-कार्यकर्ताहरूले पनि श्रद्धाञ्जली दिए ।
सापकोटाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन् ।
सापकोटा लामो समय एमाले काभ्रेपलाञ्चोकको सचिवको जिम्मेवारीमा थिए । माधवकुमार नेपालको नेतृत्वमा एमाले फुटेपछि उनी नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो सदस्य तथा बागमती प्रदेश सह-इन्चार्जको भूमिकामा थिए ।
२०७० को संविधानसभा निर्वाचनमा सापकोटा काभ्रेको तत्कालीन क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए ।
सापकोटाको निधन भएपछि आज बस्ने भनिएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक पनि स्थगित भएको छ ।
प्रतिक्रिया 4