
९ फागुन, काठमाडौं । सशस्त्र प्रहरीका आठ सुरक्षाकर्मीलाई संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा पठाइदिने भन्दै रकम लिएर ठगेको आरोपमा पक्राउ परेका व्यक्ति डाँकाचोरीमा समेत मुद्दा चलेका व्यक्ति रहेको खुलेको छ ।
सशस्त्र प्रहरीका आठ सुरक्षाकर्मीलाई ठगेको आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–२ का २७ वर्षीय दिनेश सापकोटा यसअघि डाँकाचोरीदेखि बैंकिङ कसुर, ठगी र आपराधिक लाभको कसुरमा पक्राउ परेर मुद्दा चलेका व्यक्ति रहेको खुलेको हो । उनी पक्राउ परेपछि प्रहरीले क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) जाँच गरेको थियो ।
सो क्रममा उनीविरुद्ध यसअघि डाँकाचोरी, बैंकिङ कसुर, ठगी र आपराधिक लाभ गरी चार वटा कसुरमा मुद्दा चलेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए ।
सापकोटा समेतका व्यक्तिले २६ साउन २०७८ मा सिन्धुपाल्चोकको नौबिसेस्थित बलेफी–जलबिरे सडकखण्डमा डाँकाचोरी गरेको भन्दै सिन्धुपाल्चोक जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
उनै सापकोटा पछि बैंकिङ कसुरदेखि ठगी र आपराधिक लाभको कसुरमा समेत संलग्न भएर मुद्दासमेत चलेको व्यक्ति रहेको प्रहरीको भनाइ छ । पटक पटक फौजदारी मुद्दा चलेका उनै सापकोटाले सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरुलाई आफू प्रहरीको असई भएको बताउँदै ठगी गरेको पाइएको छ । चितवन ब्यूरोमा कार्यरत प्रहरीको असई बताएर सशस्त्र प्रहरीका आठ सुरक्षाकर्मीलाई शान्ति मिसनमा पठाइदिने भन्दै उनले रकम असुलेका थिए ।
राजनैतिक तथा प्रशासनिकतर्फका उच्च ओहोदाका व्यक्ति र माथिल्लो तहका सुरक्षाकर्मीसँग आफ्नो निकट सम्बन्ध रहेको भन्दै सापकोटाले विश्वास दिलाउने गरेको अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत रोशन खड्का बताउँछन् ।
विश्वास दिलाउन उनले उच्च तहका व्यक्तिसँग खिचिएका तस्बिरहरु समेत देखाउने गरेको उनको भनाइ छ । त्यसपछि विश्वासमा पारेर उनले सशस्त्र प्रहरीका जवानदेखि बरिष्ठ हबल्दारसम्म ८ जनाबाट ११ लाख ३० हजार रुपैयाँ लिएर ठगेको खुलेको छ ।
‘रकम बुझाउनेलाई पनि कारबाही गर्छौं’
मिसनका लागि भनेर नक्कली असईलाई रकम बुझाउनेहरुलाई समेत सशस्त्र प्रहरीले कारबाहीको प्रक्रिया अघि बढाएको छ । कारबाही गर्न लागेकाहरुमा वरिष्ठ हबल्दार भीमप्रसाद सुवेदी र हबल्दारहरु टुकबहादुर थापा, राजकुमार लामा, ईश्वर कार्की, बेदबहादुर तामाङ छन् । यसैगरी सहायक हबल्दारहरु कमल बानियाँ, कुमार आलेमगर, शंकर थापा र जवान यज्ञ खत्रीमाथि पनि कारबाही प्रक्रिया अघि बढाइएको छ ।
उनीहरुमाथि अहिले आन्तरिक छानबिन भइरहेको सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी कुमार न्यौपाने बताउँछन् । ‘प्रहरीले माग गरेमा फौजदारी मुद्दा चलाउन पठाउनेसम्मको हाम्रो तयारी छ’ प्रवक्ता न्यौपानेले भने, ‘होइन भने कसुरको अवस्था हेरेर विभागीय कारबाही गर्छौं ।

सशस्त्र प्रहरी स्रोतका अनुसार ठगीको मुख्य भूमिकामा हबल्दार टुकबहादुर देखिएको भन्दै उनलाई बर्खास्तीसम्मम गर्ने तयारी प्रहरीको छ । टुकबहादुरले नै नक्कली असई सापकोटासँग सशस्त्रका अरु सुरक्षाकर्मीको सम्पर्क गराएको आन्तरिक छानबिनबाट खुलेको छ ।
‘टुकबहादुरको आठ सुरक्षाकर्मीलाई कनेक्सन गराउनेदेखि ३ जना सुरक्षाकर्मीको रकम समेत आफैं बुझेर दिएको पाइएको छ’ उनको कसुर हेर्दा गम्भीर प्रकृतिको देखिएकाले बर्खास्तीका लागि समेत लेखेर पठाउन लागेका छौं’ एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने ।
बाँकीको हकमा भने कसुरको प्रकृति हेरेर विभागीय कारबाही गर्ने सशस्त्र प्रहरीको तयारी छ । ‘उनीहरुको समेत रकम फसेको हुँदा एक तरिकाले हेर्दा पीडित पनि देखिन्छ । तर मिसनका लागि भन्दै रकम बुझाएपछि गैह्रकानूनी पनि देखिएको छ । पहिला रकम फिर्ता गराउने वातावरण गरेर उनीहरुलाई पनि विभागीय कारबाही गर्छौं’ सशस्त्र प्रहरीका एक अधिकारी भन्छन् ।
नक्कली असईलाई आठ सुरक्षाकर्मीले बुझाए ६ लाखको दरले रकम
एकपटकमा १८/२० लाख रुपैयाँ कमाइ हुने भएपछि शान्ति मिसनमा जान लोभिएका आठ सुरक्षाकर्मीले प्रतिव्यक्ति ६ लाख रुपैयाँको दरले रकम बुझाएका थिए । तर रकम लिएर नक्कली असई सापकोटा सम्पर्कविहीन भएपछि उनीहरुले ठगिएको महसुस गरेका थिए ।
रकम बुझाएर फर्म्ड पुलिस युनिट (एफपीयू) मिसनका जान लागेको खुलेपछि यस विषयमा सशस्त्र प्रहरीको हेडक्वाटरले गोप्य रुपमा आन्तरिक छानबिन गरेको थियो । सशस्त्रका डीएसपी नवराज बोहराको अध्यक्षतामा सात सदस्यीय समिति बनाएर छानबिन गरिएको थियो । उक्त समितिले २१ पुसमा प्रतिवेदन बुझाएको थियो ।
आन्तरिक छानबिनबाट प्रहरीको असई बताउने व्यक्तिले ठगी गरेको खुलेपछि सशस्त्र प्रहरी हेडक्वाटरले प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै छानबिन गरिदिन आग्रह गरेको थियो । २७ माघमा प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै सशस्त्र प्रहरीको मानव स्रोत विभागका एआईजी वंशी दाहालले घटनाबारे अनुसन्धान गर्न आग्रह गरेका थिए ।
त्यसपछि नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयले उक्त विषय छानबिन गरेर नक्कली असई सापकोटालाई पक्राउ गरेको हो । ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर सापकोटाविरुद्ध अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया 4