९ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएस)को तेस्रो सिजनका लागि खेलाडी अक्सन आउन अब एक दिन मात्र बाँकी रहँदा अहिले टिमहरू धमाधम आफ्नो मार्की खेलाडी घोषणा गरिरहेका छन् ।
एन्फाको प्राविधिक सहयोगमा नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) को आयोजनामा एनएसएल आगामी चैत १६ गतेदेखि सुरु हुँदैछ । जसमा ७ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
अहिलेसम्म ५ टिमले आधिकारिक रुपमा आफ्नो मार्की खेलाडी घोषणा गरेका छन् । जसमा एक जनामात्र पुराना खेलाडी छन् भने चार नयाँ खेलाडी मार्की बनेका छन् । पहिलो संस्करणदेखि लगातार मार्की खेलाडी नेपाली राष्ट्रिय टिमबाट सर्वाधिक १३ गोलकर्ता अन्जन विष्टमात्र छन् । उनी ३ सिजन नै फरक-फरक क्लबबाट मार्की बन्ने पहिलो खेलाडी पनि बनेका छन् ।
तेस्रो सिजनमा एफसी चितवनले अन्जनलाई मार्की खेलाडी नियुक्त गरेको हो । पहिलो सिजन ललितपुर सिटीमा मार्की रहेका अन्जन दोस्रो सिजनमा नयाँ टोली झापा एफसीका मार्की बनेका थिए ।
यसबाहेक पहिलो संस्करणको विजेता काठमाडौं रेजर्स, दुई पटकको उपविजेता धनगढी एफसीसहित पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले युवा मार्की खेलाडी घोषणा गरेका छन् । जसमा अन्जनबाहेक बाँकी चार टोलीको मार्की खेलाडी भने नयाँ छन् ।
जसमा पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सले युवा मिडफिल्डर रोहन कार्की, धनगढी एफसीले कृतिश रत्न छुन्जुलाई नयाँ मार्की खेलाडी बनाएको छ । यस्तै बुटवल लुम्बिनीले मनिष डाँगी तथा पोखरा थण्डर्सले युवा फरवार्ड समिर तामाङलाई नयाँ मार्की बनाएको छ ।
चारै खेलाडी पहिलो पटक एनएसएलमा मार्कीको रुपमा देखिने भएका हुन् । अझ पोखराको मार्की बनेका समिर तामाङ त पहिलो पटक फ्रेन्चाइज लिग खेल्दैछन् र त्यसमै मार्की बन्ने भाग्यमानी खेलाडी बने ।
त्यसैले उनले मार्की बनेकोमा धेरै खुशी व्यक्त गरेका छन् । नेपालको उमेर समूह र सिनियर टिमबाट खेलिसकेका समिर ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडबाट क्लब पुटबल खेल्दै आएका छन् । उनले गत वर्ष विश्वकप छनोटमा बहराइन विरुद्ध खेल्दै राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।
पोखरा तेस्रो सिजनका लागि तेस्रो फरक मार्की चयन गरेको हो । पहिलो सिजन नवयुग श्रेष्ठ मार्की रहेको पोखराले दोस्रो सिजन आयुष घलानलाघ मार्की बनाएको थियो । आयुष तिनै खेलाडी हुन् जसलाई पोखराले पहिलो सिजन ट्यालेन्ट हन्टबाट लिएको थियो । अब भने आयुष पोखराको कप्तानको रुपमा देखिने भएका छन् ।
आयुष जस्तै पहिलो सिजन ट्यालेन्ट हन्टबाटै विराटनगर सिटी एफसीमा छानिएका मनिष डाँगी तेस्रो सिजन आइपुग्दा बुटवल लुम्बिनीको मार्की बनेका छन् । बुटवलले पनि हरेक सिजन मार्की परिवर्तन गरेको छ । सन् २०२१ मा इराक विरुद्ध खेल्दै राष्ट्रिय टिममा डेब्यु गरेका मनिष हाल मछिन्द्र एफसीबाट खेल्दै आएका छन् ।
पहिलो सिजन गोलकिपर विशाल श्रेष्ठलाई मार्की बनाएको बुटवल लुम्बिनीले दोस्रो सिजन एरिक विष्टलाई मार्की बनाएको थियो । तेस्रो सिजनका लागि बुटवल लुम्बिनीले एरिकलाई रिटेन गरेपनि मार्की खेलाडीमा मनिषलाई अनुबन्ध गरेको हो ।
धनगढीले भने आफ्नै टिमबाट खेलिसकेका कृतिशरत्नलाई तेस्रो सिजनका लागि मार्की चुनेको छ । एनआरटी क्लबबाट घरेलु फुटबल खेल्ने कृतिशले दोस्रो सिजन धनगढीबाटै एनएसएल खेलेका थिए । पहिलो सिजन भने उनले बुटवल लुम्बिनीबाट खेलेका थिए ।
धनगढीले पनि तीन सिजनमा तीनैजना फरक मार्की बनाएको छ । पहिलो सिजन मिडफिल्डर विशाल राई धनगढीको मार्की थिए भने दोस्रो सिजन धनगढीले फरवार्ड आशिष चौधरीलाई मार्की बनाएको थियो । विशाल र आशिष दुबै खेलाडी हाल विदेश पलायन भइसकेका छन् । जसले गर्दा धनगढीले पनि नयाँ मार्की छान्नुपरेको हो ।
गत सिजन धनगढीबाट खेल्दै उपविजेता बन्दाका सदस्य रोहन कार्की काठमाडौं रेजर्सको मार्की बनेका छन् । रोहन दोस्रो सिजनमा उदीयमान खेलाडी समेत घोषित भएका थिए ।
काठमाडौंले पनि तीन फरक सिजन तीन फरक मार्की बनाएको छ । दोस्रो सिजन मार्की बनाएको फरवार्ड हिसुब थपलिया पनि विदेश पलायन भइसकेकोले काठमाडौंलाई पनि नयाँ मार्की आवश्यक रहेको छ ।
पहिलो सिजन विकेश कुथु काठमाडौंको मार्की थिए । विकेशकै कप्तानीमा काठमाडौंले उपाधि समेत जितेको थियो । तर दोस्रो सिजन काठमाडौंले युवा खेलाडी मार्की बनाउँदा अपेक्षा अनुसार प्रदर्शन हुन सकेन ।
यस्तै तेस्रो सिजन पनि काठमाडौंले नयाँ खेलाडीमै विश्वास गरेर रोहनलाई मार्की बनाएको हो । राष्ट्रिय टिमबाट डेब्यु समेत गरिसकेका रोहल हाल ए डिभिजन क्लब चर्च ब्वाइजबाट विभिन्न नकआउट फुटबल प्रतियोगिताहरू खेलिरहेका छन् ।
अब साविक विजेता ललितपुर सिटी र झापा एफसीले मात्र मार्की खेलाडी घोषणा गर्न बाँकी छ । झापाले राष्ट्रिय टिमका युवा मिडफिल्डर लकेन लिम्बुलाई मार्की बनाउने तयारी गरेको छ । दोस्रो सिजन उनी झापा एफसीमै थिए । तर लकेन हाल भारतमा दिल्ली एफसीबाट आइलिग खेलिरहेकोले झापाले मार्की घोषणा गर्न ढिलाई गरेको हो ।
दोस्रो सिजनका मार्की अन्जन विष्ट चितवनको मार्की बन्न गएपछि झापालाई नयाँ मार्की खेलाडी आवश्यक परेको हो । झापाले यसअघि नै छिरिङ लामा र प्रशान्त लक्षमलाई रिटेन भने गरिसकेको छ ।
यस्तै ललितपुरले दोस्रो सिजन उपाधि जित्दा डिरुफेन्डर अनन्त तामाङ मार्की खेलाडी थिए । तेस्रो सिजन पनि उनलाई मार्की बनाउने सम्भावना छ ।
पछिल्लो समयमा नेपालमा नियमित लिग नहुने र घरलु फुटबलको क्यालेन्डर अस्तव्यस्त हुँदा खेलाडीहरु विदेश पलायन हुने क्रम बढ्दो छ । जसले गर्दा नाम चलेका र अनुभवी खेलाडीहरु नेपालमा छैनन् ।
उनीहरु नहुँदा एनएसएलमा पनि युवा खेलाडीहरु मार्कीको भूमिकामा देखिने अवसर पाएका हुन् ।
मनिषले सन् २०२१ मा नेपालको राष्ट्रिय टिममा डेब्यु गर्दै निरन्तर खेलिरहेका छन् भने समिरले गत वर्ष मात्रै बहराइनविरुद्ध खेल्दै सिनियर टिममा डेब्यु गरेका थिए ।
एनएसएलको तेस्रो सिजनमा दुई टिम घटेको छ । पहिलो सिजन ७ टिमले प्रतिस्पर्धा गरेका थिए भने दोस्रो सिजन बढेर ९ टिम पुगेको थियो । तेस्रो सिजन फेरि ७ टिमले नै एनएसएल खेल्ने भएका छन् ।
दोस्रो सिजन तीन नयाँ टिम थपिदाँ एक टिम बाहिरिएको थियो । पहिलो सिजन खेलेको विराटनगर सिटि एफसीले दोस्रो सिजन खेलेन भने झापा एफसी, स्पोर्टिङ इलाम र वीरगंज युनाइटेड दोस्रो सिजनमा थपिएका थिए ।
तर दोस्रो सिजन थपिएका तीन मध्ये दुई टिम नै तेस्रो सिजनमा नदेखिने भए । इलाम र वीरगंजले तेस्रो सिजन नखेल्ने भएका छन् ।
अब पहिलो सिजनदेखि खेल्दै बएका काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एपसी, धनगढी एफसी, पोखरा थण्डर्स, एफसी चितवन र बुटवल लुम्बिनी एफसी तथा दोस्रो सिजनमा डेब्यु गरेको झापा एफसीले तेस्रो सिजनमा प्रतिस्पर्धा गर्नेछन् ।
एनएसएलका मार्की खेलाडीहरु
धनगढी एफसी : कृतिशरत्न छुन्जु
पोखरा थन्डर्स : समिर तामाङ
बुटवल लुम्बिनी एफसी : मनिष डाँगी
काठमाडौं रेजर्स एफसी : रोहन कार्की
एफसी चितवन : अन्जन विष्ट
झापा एफसी : घोषणा हुन बाँकी
ललितपुर सिटी एफसी : घोषणा हुन बाँकी
प्रतिक्रिया 4