
९ फागुन, उदयपुर । बाराबाट जन्ती लिएर उदयपुर जाँदै गरेको बस र मिनी ट्रक ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । २६ जना घाइते भएका छन् ।
उदयपुरको त्रियुगा नगरपालिका–७ जोगीदहस्थित मदन भण्डारी राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदपयुरले जनाएको छ ।
बाग्मती प्रदेश ०६–००१ ख ०१९५ नम्बर को बस र विपरीत दिशाबाट तेजपत्ता बोकी उदयपुरको कटारी तर्फ जाँदै गरेको ना. ८ख २४०४ नम्बरको मिनी ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
मृत्यु हुनेमा बाराको गढी गाउँपालिका– ४ का ७० वर्षीय सीताराम धामी छन् । दुर्घटनापछि गम्भीर घाइते भएका धामीको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोष कार्कीले जानकारी दिए ।
अन्य २६ घाइतेमध्ये सामान्य उपचारपश्चात २० जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने दुईजनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । गम्भीर अवस्थाका तीनजनाको न्युरो अस्पताल विराटनगरमा उपचार जारी छ ।
प्रतिक्रिया 4