+

बारम्बार पाद आउनु कतै पाचनको समस्या त होइन ?

२०८१ फागुन  ९ गते १७:५० २०८१ फागुन ९ गते १७:५०
Shares
बारम्बार पाद आउनु कतै पाचनको समस्या त होइन ?

खराब खानपान र अस्वस्थ जीवनशैलीका कारण पेट सम्बन्धी धेरै समस्याहरूको सामना गर्नुपर्ने हुन्छ । जसमध्ये एक हो, बारम्बार पाद आउनु । बारम्बार पाद आउनु भनेको पाचन प्रणालीमा कुनै समस्याको संकेत हुनसक्छ।

आयुर्वेदका अनुसार जब खाना पूर्णरूपमा पच्दैन, तब आन्द्रामा कतै अवरोध भई ग्यास बन्न थाल्छ । यदि आन्द्रामा अड्किएको खाना सड्न थाल्यो भने पनि पादबाट तिखो गन्ध आउन सक्छ।

पाद कसरी बन्छ ?

पाद्‍नु शरीरको एक स्वभाविक प्रक्रिया हो। जब हामी खाना खान्छौँ, आन्द्रामा ग्यास बन्छ, जुन शरीरले बाहिर निकाल्छ। जसलाई पाद भनिन्छ । जुन खानेकुरा आमाशय, सानो आन्द्रा हुँदै ठूलो आन्द्रासम्म पुग्ने प्रक्रियामा पाचनरसले पचाउन सक्दैन ।

पच्न नसकेको ती खानेकुरालाई ठूलो आन्द्राको अन्तिम भागमा रहेको कयौँ गट म्याईक्राेबियमले मेटाबोलाइज गर्दा पाद आउन सक्छ। पादमा हाइड्रोजन, नाइट्रोजन, कार्वनडाइअक्साइड र मिथेन ग्यास हुन्छ । जुन गन्हाउँदैन । तर, हाइड्रोजन सल्फाइड र मिथेमको मात्रा बढयो भने गन्ध आउँछ ।

यदि पाचन राम्रो छ भने पाद गन्हाउँदैन पनि । तर जब खाना आन्द्रामा सड्न थाल्छ तब यसले गन्हाउने ग्यास निम्त्याउन सक्छ ।

हामीले दुई किसिमले ग्यासलाई फाल्छौं । एउटा डकारबाट र अर्को पादबाट । हामीले खाना खाने बेला खानासँगै निलेको हावा पेटमाथिबाटै भोजननली हुँदै फर्किन्छ । जसलाई डकार आएको भन्ने गरिन्छ । र, पाचन प्रक्रियामा पुग्ने ग्यासलाई पाद भनिन्छ ।

पादलाई रोक्न हुँदैन

आयुर्वेद विज्ञानका अनुसार मलमुत्र गराउने अफान वायु अतिसक्रिय भएर पाद आउन सक्छ । वाथ र पित्तको असन्तुलन भएमा पाद हुन्छ, जसलाई रोक्दा रोग लाग्ने उल्लेख छ। जस्तो कि, उदर रोग अर्थात् पाचन समस्या र दिसा–पिसाबको समस्या हुनसक्छ। त्यसैले, पाद आएको अनुभव हुन्छ भने सहजै जान दिनुपर्ने आयुर्वेदले बताउँछ ।

दिनमा कति पटक पाद्‍नु सामान्य ?

२४ घण्टामा २० देखि ८०८ पटकसम्म पाद आइरहेको हुनसक्छ । जुन कतिपय अनुभव हुन्छ । कतिपय हुँदैन । तर, यदि दिनमा ८ देखि १० पटक पादमा तिखो गन्ध आउँछ भने यो कुनै पाचन समस्याको संकेत हुनसक्छ।

पाद आउनुका कारण

पाचन प्रणालीमा अवरोध

जब खाना आन्द्रामा पूर्णरूपमा पच्दैन, त्यहाँ सडेर धेरै ग्यास बन्नथाल्छ र नराम्रो गन्ध पनि आउँछ । यसले पाचनमा समस्या छ कि भनेर देखाउँछ । प्राय दिसा आउने समय शौचालय नगई लामो समय रोकेर राख्दा पनि पाद आउँछ ।

भारी र तारेको खानाको सेवन

धेरै तेल र मसालेदार खाना खाँदा पाचन प्रक्रिया ढिलो हुन्छ, जसले गर्दा ग्यास बन्ने गर्छ।

दुग्धजन्य खानेकुरा बढी खानु

केही मानिसहरूलाई दूध र दुग्धजन्य पदार्थहरू पचाउन नसक्ने कारणबाट ग्यासको समस्या हुनसक्छ।

धेरै छिटो खाना खानु

जब हामी खाना राम्ररी चपाउँदैनौँ, धेरै हावा पेटमा प्रवेश गर्छ । जसले गर्दा ग्यास बन्छ।

कब्जियतको समस्या

बारम्बार कब्जियतबाट पीडित व्यक्तिहरूको पेटमा ग्यास बढी हुन्छ । दिसा गर्न जाँदा सहजै नआउने हुँदा धेरै समयसम्म सहजै मलाशयमा पास नभर्ई आन्द्रामै बसिरहेको हुन्छ। जसकारण नमिठो दुर्गन्ध खालको पाद आउँछ।

कार्बोनेटेड पेय पदार्थ र प्रशोधित खाना

सोडा, कोल्ड ड्रिंक्स र जंक फूडमा ग्यास बन्ने प्रक्रिया बढाउने तत्वहरू हुन्छन्। जसको अत्याधिक सेवनले पाद बढी आउँछ ।

समाधान के त ?

मेवा, अनार र सुन्तला जस्ता ताजा फलफूल, हरियो सागपात तथा मौसमी फलफूल खाँदा पाचन प्रणाली बलियो हुन्छ । र, ग्यासको समस्या कम हुन्छ।
यसबाहेक, शुद्ध घिउले आन्द्रालाई मुलायम बनाई पाचन सुधार गर्छ।

साथै, बिहान खाली पेटमा र राति सुत्नुअघि मनतातो पानी पिउनाले पाचन प्रणालीमा सुधार हुन्छ। जिरा पानीसँग कागती मिसाएर खाँदा पनि यो समस्या कम हुन्छ । पुदिना, तातोपानी र बिरेनुनको मिश्रणले पनि पाचनप्रणालीको कार्यलाई सुर्धाछ । र, पादको समस्या कम हुन्छ ।

त्यति मात्र होइन, दैनिक योगा गर्दा पनि यो समस्या कम हुन्छ। पवनमुक्ताशन योगले पनि मद्दत गर्छ । खाना खाएपछि बज्राशनमा बस्न सकिन्छ ।

पर्याप्त मात्रामा पानी तथा झोलिलो खानेकुरा खाने, प्रशोधित र तारेको खानेकुरा कम गर्ने र कम्तिमा दिनको ८ घण्टा सुत्ने गरेमा यो समस्याबाट राहत मिल्न सक्छ । बारम्बार यो समस्या भइरहन्छ भने चिकित्सकलाई देखाउनु उपयुक्त हुन्छ।

अपच पाचन प्रणाली
डा. पुनेश्वर केशरी
लेखक
डा. पुनेश्वर केशरी
आयुर्वेदिक चिकित्सक

नेपाल आयुर्वेद काउन्सिल दर्ता नम्बर : ०४१ एमडी (आयुर्वेद-द्रव्यगुण विज्ञान, (बैंग्लोर, भारत) आयुर्वेद तथा वैकल्पिक चिकित्सक विभागको जडिबुटी तथा औषधि व्यवस्थापन शाखा प्रमुख, विश्व स्वास्थ्य संगठनको आईसीडी-११, ट्राडस्नल मेडिसिन मोड्युल २ को फोकल पर्सन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय