
९ फागुन, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण गर्ने उद्देश्यले पार्टीका तर्फबाट स्थानीय तहमा विजयी प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षलाई प्रशिक्षण दिने भएको छ ।
त्यसका लागि माओवादीले शनिबार र आइतबार कामाठमाडौंमा स्थानीय पालिकाका जनप्रतिनिधिको राष्ट्रिय भेला राखेको छ । भेलामा स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
भेलामा माओवादी केन्द्रका तर्फबाट विजयी भएका एक सय २३ पालिकाका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षको सहभागिता रहनेछ । माओवादी केन्द्रले भेलाबाट पछिल्लो निर्वाचनमा विजय हासिल गरेका स्थानीय तहमा समाजवादको अभ्याससहितको कार्यक्रम निर्माण र नमूना पालिका बनाउने लक्ष्य लिएको छ ।
भेलामा निर्धारित राष्ट्रिय सूचकाङ्कमा उत्कृष्ट ठहर भएका ११ वटा पालिकाका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षले आआफ्नो अनुभव सुनाउने कार्यक्रम रहेको छ । भेलामा समाजवाद निर्माणको आधारबारे विज्ञ सोमत घिमिरे, कृष्णराज अधिकारी, मीनबहादुर श्रेष्ठलगायतले प्रशिक्षण दिने कार्यक्रम छ ।
स्थानीय जनप्रतिनिधिलाई समाजवादी नीति कार्यक्रम, कानुन र बजेट निर्माण, उत्पादन र रोजगारीलगायत विषयमा प्रशिक्षण दिइनेछ । माओवादीले यसअघि स्थानीय तहको निर्वाचनलगत्तै पार्टीका तर्फबाट विजयी स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिएको थियो ।
कुन ठाउँमा कति गते प्रशिक्षण ?
अभियानअन्तर्गत फागुन १२ गते झापा भेटघाट, अन्तरक्रिया तथा सभा हुने बताइएको छ । यस्तै फागुन १३ गते मोरङमा भेटघाट, अन्तरक्रिया तथा सभा गर्ने कार्यतालिका छ छ भने फागुन १५ मा सुनसरीमा भेटघाट, अन्तरक्रिया तथा सभा हुनेछ।
यसैगरी फागुन १६ देखि २४ सम्म मधेश प्रदेशमा भेटघाट र अन्तरक्रिया गरिनेछ । यसैगरी फागुन १६ गते सप्तरी, १७ गते सिरहा, १८ गते धनुषा, १९ गते महोत्तरी, २१ गते सर्लाही, २२ गते रौतहट, २३ गते बारा र २४ गते पर्सामा आमसभा, भेटघाट र अन्तरक्रिया गर्ने कार्यतालिका छ ।
यसैगरी फागुन २५ गते चितवनको भरतपुरमा सभा तथा अन्तरक्रिया राखिएको माओवादी केन्द्रले जनाउको छ । नवलपुर (नवलपरासी पूर्व) मा भने फागुन २६ गते सभाको आयोजना गरिनेछ २७ गते लुम्बिनी प्रदेशको नवलपरासी पश्चिममा सभा, भेटघाट र अन्तरक्रिया कार्यक्रम हुने माओवादी केन्द्रका प्रवक्ता सापकोटाले बताए ।
यस्तै २८ फागुनमा रुपन्देहीमा कार्यक्रम हुनेछ भने चैत २ मा कपिलवस्तु र ३ चैतमा दाङमा कार्यक्रम आयोजना हुनेछ ।
त्यस्तै ४ चैतमा बाँके, ५ गते चैतमा बर्दिया, ६ चैतमा कैलाली र ७ चैतमा कञ्चनपुरमा कार्यक्रम गरी अभियानको समापन पार्टीले जनाएको छ ।
प्रतिक्रिया 4