
प्रेमको रंग कस्तो हुन्छ ?
शायद तिमीले
फुल्दाफुल्दै हाँगाबाट लुछिएर
कसै मार्फत आफ्नै हातमा
आइपुगेका गुलाबमा खोज्यौ प्रेमको रंग
दुईचार दिनमा ओइलाउँदै जाला
सुक्दै जाला
अनि देखिएला
प्रेमको रंग !
शायद तिमीले
यौवन बिक्ने
धन बिक्ने, मन बिक्ने
अनि एकाएक साराका सारा बिक्ने
रंगीचंगी अनि बनावटी
बजारको प्रभावमा खोज्यौ प्रेमको रंग
यौवनको भेल घटेपछि
भोलि एक दिन
वैलाउँदै गएको बजार भाउसँगै देखिएला
प्रेमको रंग !
जलवायु परिवर्तनको मौसम जस्तै
यसै भन्न नसकिएको समयमा
‘SALE! SALE ! LIMITED TIME OFFER!
एउटा किन्दा अर्को सित्तैं
नारा सुनेर झुत्ती परेको ग्राहकको
स्वभावमा खोज्यौ प्रेमको रंग
आवेशको निर्णय सेलाएपछि
बाँकी हुने आकर्षण- विकर्षणको
विकराल भग्नतामा भेटिएला
प्रेमको रंग !
हाँगाबाट छुटेको रंगीन गुलाबभन्दा पर
बनावटी बजारको प्रभावभन्दा पर
अनि ‘एउटा किन्दा अर्को सित्तैंको सेलमा
झुत्ती परेको बजारुको स्वभावभन्दा पनि पर
प्रेमको सुन्दर फूल भेटिन्छ
यो सुन्दर फूल हृदयका स्निग्ध भावहरूमा फक्रिन्छ
पवित्रताले सिञ्चित प्रेमको फूल
खडेरीले सुकाउँदैन
अभावले दुखाउँदैन।
तिमी प्रेमको कुन रंगको कुरा गर्छौ
प्रेमको बहुरंग कलाकारले
क्यानभासमा उतार्न पनि गाह्रो छ
प्रेमको रंग जस्तो हेर्न चाह्यो
उस्तै देखिन्छ
जसरी हेर्न चाह्यो
उसरी नै देखिन्छ
मनका तरंग
उधिनेर हेर
आफैंले आफूलाई
चिनेर हेर
त्यहाँ अनुभूतिभित्र
प्रेमको रंग भेटिनेछ
बजारले बिगार्दा
प्रेमको रंग अलिअलि मधुरो होला
तर अधुरो हुँदैन !
प्रतिक्रिया 4