
११ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिले संसद्मा प्रवेश पाएको छ । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले शुभकामना सन्देश दिने क्रममा आफूले गरेको त्यागलाई कमजोरी नठान्न भनेका थिए ।
१० वर्षे माओवादी सशस्त्र युद्ध, २०६२/६३ सालको जनआन्दोलनको पृष्ठभूमिमा राजतन्त्रको अन्त्य भएर मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको थियो । तर, जनताको मतलाई पूर्वराजाले अन्यथा व्याख्या गरेको भनेर सांसदहरूले आपत्ति जनाएका हुन् ।
नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले राज्य शक्तिको स्रोत विष्णुको अवतारमा नपाइने ख्याल गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाए ।
कविताको शैलीमा उनले राज्य शक्तिको स्रोत कहाँ हुन्छ ख्याल गर्न सुझाएका हुन् ।
यस्तो छ उनको कवितात्मक शैलीको अभिव्यक्ति
राज्यशक्तिको स्रोत जनता हुन्छ, हुकुमतन्त्र हुँदैन ।
राज्य शक्तिको स्रोत कसैको परिवारमा पाइन्न, नागरिकमा पाइन्छ ।
राज्य शक्तिको स्रोतमा कसैको वंश जोडिँदैन, जनताको अंश जोडिन्छ ।
राज्य शक्तिको स्रोत छोरालाई अंश र छोरीलाई दाइजो दिने धन दौलत होइन । जनताको पौरख हो ।
राज्य शक्तिको स्रोत कसैको कोखमा हुँदैन, जनताको भोटमा हुन्छ ।
राज्य शक्तिको स्रोत विष्णुको अवतारमा पाइन्न, जनताको मतभारमा पाइन्छ ।
एक पटक पसाइसेको केराको बोटहरूले अर्को पटक केरा दिँदैन ।
एक पटक बिदा गरेको हुकुमीतन्त्रलाई जनताले लिँदै लिँदैन ।
प्रतिक्रिया 4