
११ फागुन, विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा देखिएको विवाद समाधानका लागि राजनीतिक स्तरमा वार्ता टोली गठन माग गरेको छ ।
व्यवसायी चन्द्र ढकालको समूहले पाथीभरा क्षेत्रमा केबलकार निर्माण सुरु गरेपछि पहिचान पक्षधर आन्दोलनमा छ । शनिबार साँझ फुङलिङ बजारमा प्रहरीसँगको झडपका क्रममा प्रदर्शनकारीले नागरिकको घरका आगोको राँको फालेका थिए । फुङलिङमा केबलकारको पक्ष र विपक्षमा प्रदर्शन चलिरहेको छ ।
आन्दोलनरत पक्षले मन्त्रीस्तरमा वार्ताको मागसहित आन्दोलनमा छ । सरकारले भने सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा समिति गठन गरेको थियो । सो समितिसँग सहमति नभएपछि आन्दोलनकारीले मन्त्रीस्तरमा वार्तासमितिको माग गर्दै थप आन्दोलन घोषणा गरेको थियो ।
आइतबार माओेवादी कोशीका अध्यक्ष हर्कबहादुर नेम्वाङले विज्ञप्ती जारी गर्दै आन्दोलनरत पक्षको माग सम्बोधनका लागि राजनीतिक स्तरमा समिति गठन गर्न माग गरेको हो ।
‘आन्दोलनकारी पक्षले राजनीतिक नेतृत्वसँग वार्ता गर्ने प्रस्ताव राखेकोमा सरकारले अहिलेसम्म त्यसतर्फ चासो दिएको छैन । बरु प्रशासनिक दमन चलाउने, सकारकै संरक्षणमा आन्दोलनविरुद्ध प्रतिकार आन्दोलन थाल्नु, आन्दोलनकारीलाई उत्तेजित बनाउने काम प्रहरी प्रशासनबाटै हुनु र आन्दोलनकारीमाथि चरम दमन गर्ने काम गरिरहेको छ,’ माओवादी केन्द्रले भनेको छ, ‘हाम्रो पार्टी त्यस कार्यको घोर निन्दा र भत्सर्ना गर्दै वार्ताबाटै समस्याको समाधान खोज्न सरकार र आन्दोलनकारी दुबै पक्षलाई संयमताको साथ अगाडि बढ्न अपिल गर्दछ ।’
आन्दोलनको क्रममा उत्पन्न हुने तनाबलाई कम गर्न सहजिकरण र समन्वयको भूमिका खेल्नुपर्ने जिम्मेवारी त्यहाँको प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरूले पूरा नगरेको बरु उत्तेजना बढाउने काम गरिरहेको पनि माओवादीले दाबी गरेको छ ।
प्रतिक्रिया 4