+
+
Shares

‘कार्यकारी प्रमुख नदिंदा बालेनलाई असहयोग हुन्छ कि काठमाडौंवासीलाई ?’

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ११ गते १८:१३

११ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाउनु गलत भएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संघीय सरकारले नियत राखेरै काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको बताए ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरबाट हुने सेवा प्रवाहमा असर परेको र त्यस्तो असरमा नागरिकहरू रहेको ख्याल गर्न सरकारलाई सुझाए ।

काठमाडौं महानगरपालिका देशकै राजधानी भर्एको र यस महानगरपालिकाको बजेट २५ अर्ब रहेको पनि सांसद शाहीले स्मरण गरे ।

‘बजेट खर्च गर्न आर्थिक अधिकार प्रमुख प्रशासकीय अधिकृतसँग हुन्छ । बजेटको अनुपात गर्ने हो भने मासिक दुई अर्ब भन्दा बढी खर्च गर्नुपर्ने हुन्छ । तर, डे महिनादेखि महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत छैनन्,’ सांसद शाहीले सरकारको ध्यानाकर्षण गरे ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा एक हजार ८ सय शिक्षले विगत चार महिनादेखि तलब नपाएको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत नभएकै कारणले दुई हजार भन्दा बढी वडाका आयोजना तथा कर्मचारीहरूले दुई महिनादेखि भुक्तानी र तलब नपाएको पनि सांसद शाहीले संसद्‌मा सुनाए ।

‘समयमा तलब नपाउँदा कर्मचारीहरूलाई आफ्नो घर चलाउन समेत गाह्रो भएको छ,’ उनले भने ।

तर, प्रधानमन्त्रीको आग्रहमा काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नखटाइएको उनको गम्भीर आरोप छ ।

‘प्रधानमन्त्री मेयरसँग सिउँठेजोरी खोलेर प्रतिस्पर्धा गरेर अगाडि बढ्नु भएको छ । एउटा जनप्रतिनिधिसँग सिउँठेजोरी खोल्नुपर्ने, सिङ जुधाउनुपर्ने कारण के हो प्रधानमन्त्रीको ? यसको जवाफ यो संसदलाई दिनुपर्छ,’ सांसद शाहीले भने ।

प्रधानमन्त्रीले राजधानीबासीलाई नै धोका दिएको उनको भनाइ छ । ‘जनप्रनिधिहरू, कर्मचारी र राजधानीलाई नै धोका दिनुभएको छ उहाँ (प्रधानमन्त्री)ले मेयरलाई धोका दिएको होइन, राजधानलाई धोका दिनुभएको छ ।’

काठमाडौं महानगरपालिकालाई असहयोग गर्नु भनेको आम नागरिकलाई धोका दिनु रहेको उनले दोहोर्‍याए ।

‘महानगरपालिकालाई असहयोग गर्नु भनेको यहाँका आम नागरिकलाई धोका दिनु हो । देशको राजधानीलाई नै ठप्प बनाउनुको कारण के हो ? के प्रधानमन्त्रीले राजधानीसँग कुनै तुष पाल्नुभएको छ ?,’ सांसद शाहीको प्रश्न छ । मेयर बालेनलाई नै पनि किन असहयोग गर्न आवश्यक भयो भनेर उनले थप प्रश्न गरेका छन् ।

उनी थप्छन्, ‘नयाँ जोश र जाँगर लिएर आएका जनप्रतिनिधिलाई असफल बनाउने र आफूले लुटिराख्ने प्रवृत्तिको घोर भर्त्सना गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?