+

कैलाली प्रिमियर लिगको सेमिफाइनल समीकरण पूरा

२०८१ फागुन  १२ गते १६:२३ २०८१ फागुन १२ गते १६:२३
कैलाली प्रिमियर लिगको सेमिफाइनल समीकरण पूरा

१२ फागुन, काठमाडौं । कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी तेस्रो एसपीए कैलाली प्रिमियर लिगको सेमिफाइनल समीकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको हो ।

यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका, समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको त्रिवेणी नगरपालिका समूह विजेता बन्दै सेमिफाइनल पुगेका थिए ।

लम्कीचुहाले दिएको ९७ रनको झिनो लक्ष्य भिमदत्तले १६ ओभरमा ५ विकेट गुमाउँदै ९९ रन बनाएर पूरा गर्यो । उस्का लागि साजन बिटालुले अविजित ३१ रनको आक्रामक इनिङ खेले । मिलन बोहराले अविजित २६ रनको पारी खेले । लम्कीचुहाका लागि डम्मर माझीले २ विकेट लिए । त्यस्तै सुरेश भण्डारी र सागर बिसीले समान एक-एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लम्कीचुहाले १९.२ ओभरमा अलआउट हुँदै मात्र ९६ रन बनायो । लम्कीचुहाका लागि रबिन भण्डारीले सर्वाधिक २७ तथा हेमन्त चलाउनेले २४ रनको योगदान दिए । भीमदत्तका लागि अरुण ऐरीले ४, समिर बिस्टले ३ तथा सन्तोष भट्ट र मिलन बोहराले समान एक एक विकेट लिए ।

भिमदत्तलाइ सेमिफाइनलमा पुर्‍याउन उत्कृष्ट प्रदर्शन गरेका अरुण ऐरी प्लेयर अफ दि म्याच चुनिए । ४ ओभर बलिङ गरेका ऐरीले २० रन खर्चिदै ४ विकेट लिए भने ३ क्याच समेत समाते ।

तेस्रो संस्करणमा सहभागी १२ टोलीलाई चार समूहमा विभाजित गरिएको थियो । लिग कम नकआउटमा खेलाइएको यो प्रतियोगितामा हरेक समूहको विजेता टोलीले सेमिफाइनल खेल्ने प्रावधान थियो ।

दुवै सेमिफाइनल खेलहरू मंगलबार नै हुनेछन् । पहिलो सेमिफाइनल विहान ९ बजे समूह ए बाट विजेता बनेको कैलालीको गोदावरी नगरपालिका र समूह बी बाट विजेता बनेको कञ्चनपुरको पुनर्वास बी का बीचमा हुनेछ ।

त्यस्तै दोस्रो सेमिफाइनल दिउँसो २ बजे समूह सी को विजेता बाजुराको त्रिवेणी नगरपालिका र समूह डी को विजेता टोली भिमदत्तका बीच हुनेछ । फाइनल खेल फागुन १४ गते हुनेछ ।

कैलाली प्रिमियर लिग क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय