+
+
Shares

‘फेरि रेशम फिलिली’का निर्देशकलाई प्रश्न- शृङ्खलाको साख जोगिएला ?

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १२ गते १७:०३

काठमाडौं । ‘फेरि रेशम फिलिली’ शिवरात्री अवसरमा बुधबारदेखि प्रदर्शन तयारीमा छ । यो फिल्मबाट निरोज महर्जनले निर्देशन करिअर थाल्दैछन् । चर्चित फिल्मको श्रृंखलालाई न्याय दिने जिम्मा उनको काँधमा छ ।

उनीमाथि प्रश्न तेर्सिएको छ- के उनले साख जोगाउलान् ? यसअघि फिल्मसँग कुनै न कुनै हिसाबले जोडिएका र म्युजिक भिडियोमा पनि काम गरेका महर्जनलाई फिल्मको निर्माण प्रक्रिया थाहा नहुने कुरै भएन ।

उनीमाथि आफूमाथिको सशंय दूर गर्ने चुनौति र अवसर दुबै छ । यो मेसोमा उनलाई प्रश्न सोधियो- किन यही फिल्मलाई डेब्युको रूपमा छनोट गर्नुभयो त ?

उनलाई लाग्छ- डेब्युका लागि यो फिल्म उत्कृष्ट अवसर थियो । भन्छन्, ‘हामी फिल्म गर्ने भनेर हिँडिराख्थ्यौं । मलाई फिल्ममा काम गर्नुथियो । फेरि यो चलिसकेको नाम पनि हो । मलाई लाग्यो- डेब्युका लागि यो भन्दा उत्कृष्ट अवसर अर्को कुनै होला र ?’

उनले पूर्णरुपमा यो कथा आफ्नो रहेको बताए । ‘मलाई भन्न मन लागेको कथा हो यो । फिलिलीको दुनियाँमा मिलेको कथा भएर गरेको हुँ ।’ फिल्मले दर्शकलाई धोका नहुने उनको तर्क छ । अर्कोतर्फ, अघिल्लो भागको निर्देशकभन्दा पनि अब्बल देखिनुपर्ने चुनौति छ । यसमा उनी आशावादी सुनिए ।

‘गीत, टिजर र ट्रेलर आइसकेको छ । अब मेरो काम कुन रुपमा कसरी हुन्छ, रिलिजपछि दर्शकले अझ स्पष्टरुपमा भन्नुहुनेछ । तर यो फिल्ममा मलाई भन्न मन लागेको कथा भनेको छु, जुन हलमा आएपछि देखिने नै छ’ उनले भने ।

हाँसोको भरपुर मनोरञ्जन यो फिल्म रहेको उनको दावी छ । फिल्मका दुई मुख्य पात्र रेशम र हरियाले दर्शकलाई हँसाउने उनको भनाइ छ । हरियाले रेशमलाई आफ्नो बचपना हर्कतले हरदम समस्यामा पारिरहने उनी बताउँछन् । ‘यही कुराले फिल्मको कथालाई कमेडीको उचाइमा लादैं दर्शकलाई मनोरञ्जनको डोज पस्कन्छ’ उनी भन्छन् ।

‘यो कुरामा म विश्वस्त छु । पहिलेको जस्तै अहिलेकोले पनि दर्शकलाई हँसाउनेछ । त्यसका अलवामा मैले टिजर ट्रेलरमा मैले ‘नट जस्ट अ कमेडी’ भनेर बकाइदा लेखिदिएको छु । यसमा कथा छ जसले सन्देश पनि दिन्छ’ फिल्मबारे उनी सुनिए, ‘कमेडीको साथमा ड्रामा पनि छ । म त यसलाई अझ कमेडी-ड्रामा भन्न रुचाउँछु । निश्चित रुपमा यो पहिलो भन्दा फरक छ ।’

यो फिल्मलाई सूत्र शैली कम र अर्गानिक बढी भन्दा न्यायपूर्ण हुने तर्क उनको छ । साथै उनी यो फिल्मलाई अघिल्लो फिल्मको कथाको निरन्तरताभन्दा पनि रेशम र हरिया पात्रको मित्रताको नोस्टालजियामा भनिएको फरक परिवेशको कथा भन्न रुचाउँछन् ।

दुबै फिल्म आफ्ना तरिकाले विशेष रहेको उनको ठम्याइ छ । ‘पहिलो फिल्ममा व्यंग्य धेरै मिसिएको थियो । यो फिल्ममा नाटकीय पक्ष धेरै छ । हामीले यसमा कन्टेन्ट बलियो बनाउन खोजेको छौं । कमेडी त छँदैछ तर विषयका हिसाबले हेर्ने हो भने यो बढि बलियो छ’, उनी भन्छन् । ‘फेरि रेशम फिलिली’ फागुन १४ देखि प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?