+
+
Shares

मृत्युको भीरलाई जित्नेहरूको कथा

चिरञ्जीवी मास्के चिरञ्जीवी मास्के
२०८१ फागुन १२ गते १८:५९

पत्रकारिता पेशामा म सधैँ जोखिम रुचाउँछु । जोखिमले सत्यलाई स्थापित गर्ने मेरो विश्वास छ । त्यसैले म आफूलाई असुरक्षित महसुस गर्दा–गर्दै पनि समाचारको सुरक्षा गर्न जोखिम यात्राका लागि तयार रहन्छु । गाँउघरको फेरो मार्दै स्थलगत रिर्पोटिङबाट थोरै भएपनि तथ्यका खुराक पस्कन पाउदा मनमा नयाँ स्फूर्ति पैदा हुन्छ ।

कतिले भन्ने गर्छन– पत्रकार सधैँ स्थलगत नै पुग्ने भए आधुनिक प्रविधिको के काम भयो ? स्रोतलाई टेलिफोन गर्ने, फोटो पठाउन लगाउने, बनिहाल्यो समाचार ! कुरा त ठिकै हो, एउटा समाचारका लागि जोखिम मोलेर स्थलगत पुग्नु भनेको त प्रविधिको यो युगमा मुर्खता नै ठानिएला ।

तर त्यसो हैन, एउटा रिर्पोटर स्थलगत पुगेर तयार गरिएको समाचार र प्रविधिको उपयोग गरेर घरबाटै बनेको समाचारको भिन्नता असली पाठकले सहजै पहिल्याउन सक्छन् । अनि, तत्कालै सामाजिक सञ्जालमार्फत त्यही अनुसारको प्रतिक्रिया दिइहाल्छन् । प्रविधिको प्रयोग त गर्ने तर स्थलगत पुगेरै ।

जतिसुकै जोखिम भएपनि स्थलगत रिर्पोटिङको मजै अर्को । यसो साथीभाइलाई डिङ हाक्न पनि पाइने, ग्रामिण भेगका स्रोतले भोगेका पीडा र आफ्नो पौरखमा रमाएको खुसीसँग साक्षात्कार गर्न पनि पाइने ।

म आफूलाई जोखिम रिर्पोटरको हकदार दावी गर्छु । तर मेरो स्रोतले परिवारको खुसीका लागि उठाएको जोखिम देखेपछि मेरो दावी आफैँ गलत सावित हुन्छ । त्यसैले पनि हरेक पत्रकार रिर्पोटिङका लागि स्थलगत नै पुग्न जरुरी छ । नत्र घरमा बसेर समाचार बनाउने र आफूलाई एक नम्बरको जोखिम रिर्पोटर दावी गर्ने हामी पत्रकारहरूको मानसिकतामा कहिल्यै परिर्वतन हुँदैन ।

हामी त जोखिम रिर्पोटिङका क्रममा केही मिनेट मरेर बाँच्छौ, गाँउघरमा मजदुरी गर्ने मानिस त परिवारको खुसीकै लागि प्रत्येक दिन मरेर बाँचिरहेका हुन्छन् । यस्तै एउटा कथा छ, अजङ्गको भीर कोपेर पैदलमार्ग बनाउने मजदुरहरूको कथा !

दोलखाको विगु गाँउपालिका– १ लामाबगरबाट गौरीशङ्कर गाँउपालिका– ९ रिकु जोड्ने पैदल मार्गमा एउटा अजङ्गको भीर छ– ‘चिम्लिङको भीर’ । अहिले यही भीर कोपेर पैदलमार्ग बनाउन १३ जना

मजदुरहरू अहोरात्र खटिरहेका छन् । माथिल्लो तामाकोशी हाइड्रोपावरले रिकुका बासिन्दाको सहजताका लागि यो पैदलमार्ग निर्माण गरिरहेको छ ।

कान्तिपुरकर्मी केदार शिवाकोटी र फोटो पत्रकार जीवन लामाले भीरमा भविष्य खोजिरहेका मजदुरको कथा उधिन्न त्यता जाने तारताम्य मिलाएका हुन् ।

यो २०८१ पुष अन्तिम साताको कुरा हो । हामी लामाबगरबाट गन्तव्य लाग्यौँ, चिम्लिङको भीर छिचोल्दै रिकु पुग्न । झण्डै चार किलोमिटरको निर्माणाधीन पैदलमार्गमा लामाबगरबाट रिकु छिचोल्न हामीलाई निक्कै कठिन भयो ।

निर्माणाधीन यो मार्गमा चिम्लिङको भीरको ६० मिटर जति पार गर्न डोरी समातेर झुण्डिनु पर्ने अवस्था थियो । किनभने माथि समाउन डोरी भएपनि तल खुट्टा टेकाउन चिप्लो भीरबाहेक केही थिएन ।

६० मिटरको जोखिम मार्ग पार झण्डै १० मिनेट लाग्यो । हामी तीनैजना (केदार, जीवन र म) मरेर बाँचेका थियौँ । त्रास, लापरबाही वा कुनैपनि कारणले माथिको डोरी छोडियो भने तल टेक्ने ठाँउ नभएकोले सिधै खोलामा पुगिन्थ्यो।

डोरी समातेर पार गर्नुपर्ने जोखिममार्ग रोज्ने कि लामाबगर तिरै फर्कने भन्ने दोधारमा हामी थियौँ । मनमा त्रास थियो तीनै जनाको । भीर पार गर्न सकिन्छ वा आफैँ सकिइन्छ भन्ने त्रास । तर हामी तीनै जनाले आफ्नो मनभित्रको त्रास देखाउन चाहेनौँ र जोखिम मार्गबाट रिकुको गन्तव्य पहिल्याउने निर्णय गर्‍यौँ । अनि, झण्डै १० मिनेट मरेर बाच्यौँ।

यात्राका क्रममा हामीले पैदलमार्ग निर्माणमा जुटेका मजदूरसँग कुरा गर्‍यौँ । उनीहरू हामीजस्तै पथप्रर्दशकको सहजता र परिवारको भविष्याका लागि त्यही भीरमा प्रत्येक दिन मरेर बाँचिरहेका थिए ।

सिन्धुलीबाट परिवारको भविष्य खोज्दै चिम्लिङको भीरमा मजदुरी गर्न आएका गोपाल मगर प्रत्येक दिन मरेर बाँचिरहेका एउटा पात्र हुन् । भीरकै कुनै कुनामा रातको विश्रामस्थल रहेको स्थानबाट प्रत्येक बिहानी त्रासको मजेत्रो ओढेर काममा निस्कन्छन् गोपाल ।

दिनभरिको भविष्य अनिश्चित लाग्छ, गोपालले आफ्नो पीडा सुनाए– हाम्रो जिन्दयी यस्तै छ । बिहान काममा निस्किएपछि राति त्यही ओछ्यानमा गएर सुत्न पाइन्छ कि पाइँदैन ठेगान हुँदैन ।

गोपाल त्यो भीरमा प्रत्येक दिन मरेर बाँचिरहेका छन् । उनको विवशता छोराछोरी र परिवारको भविष्यसँग गाँसिएको छ । मृत्युसँग संघर्ष नगर्ने हो भने परिवारका सदस्यहरू पीडाको दलदलमा प्रत्येक क्षण मरिरहेका हुनेछन्।

उमेरले विश्राम खोजिरहेको गौरीशङ्कर-१ रिकुका ६४ वर्षीय नेत्रबहादुर खड्का पनि चिम्लिङको भीरमा प्रत्येक दिन मृत्युसँग साक्षत्कार गरिरहेका अर्का पात्र हुन् ।

‘म परिवारका लागि बाँचेको छु नेत्रबहादुर भन्दै थिए, ‘परिवार मेरै भरमा छ। परिवार पाल्न पनि डर नमानी काम गर्नु परेको छ ।’

परिवारको भोक र आवश्यकताले डरलाई जितिरहेको उनको अनुहारको भावले बताइरहेको थियो ।

मजदुरका पीडाले हामी तीनैजना स्तब्ध भयौँ । १० मिनेट मरेर बाँच्दा हामीले आर्जन गरेको बहादुरी प्रत्येक दिन मरेर बाँचेका ती १३ जना मजदुरको कथाले घुर्मैलो पारिदिएको छ।

मैले आफ्नो विगत सम्झिएँ । रिर्पोटिङका क्रममा लाकुरीडाँडा र छ्योतछ्योतको पहिरोमा मैले मृत्युको त्रास भोगेको थिएँ । त्यतिबेलाको बहादुरीको किस्सा निक्कै समय सहकर्मीहरूलाई सुनाइएको हो । यी १३ जना मजदुरको बहादुरीका अगाडी मेरो किस्सा अब सुनाउन आवश्यक ठान्दिन । प्रत्येक दिन मृत्यु जितेर अघि बढ्ने यी मजदुरहरू महान छन् ।

बालबच्चा, परिवार, आफन्त जस्ता शब्द असाध्य ओझिलो लाग्छ । यी सबै स्नेहका आडिला अडेसा हुन् । अविभावकको जिम्मेवारीबाट अघि बढ्दै गर्दा परिवारको अडेसाको परिकल्पनाले मृत्युलाई सजिलै परास्त गर्न सकिने रहेछ ।

टेक्ने न समाउने अवस्थाको अजङ्गको भीरमा बाटो पहिल्याउदै गर्दा त्रासको बोझले मजदुरका हातखुट्टा थरथरी कामेर तामाकोशीको निलो पानीका बहावमा हेलिँदै हराउने दिन आइसक्थ्यो होला । आफ्ना बालबच्चा र परिवारको भविष्यले मजदुरका हातखुट्टा कसिला बनाइदिएका छन् । त्यसैले उनीहरू प्रत्येक दिन मरेर बाँचिरहेका छन् ।

चिम्लिङको भीरमा मृत्यु जितेर मजदुरी गरिरहेका १३ जनाको विवशता बुझेपछि एउटा खुलदुलीको उच्छबासले मनलाई तमतमाइलो बनाइदिएको छ ।

परिवारका लागि जोखिम मोलेर प्रत्येक दिन मर्दै काममा घोट्टिरहेका यी मजदुरका छोराछोरीले आफ्ना अभिभावकलाई कामको जस दिएका छन् कि छैनन् होला ? ‍ती छोराछोरीले समयको एउटा विन्दुमा पुगेपछि आफ्ना बाबुआमाको जिम्मेवारी लिने शङ्कल्प गरेका छन् कि छैनन् होला ?

हाम्रो रिर्पोटिङको एउटा पाटो यो पनि हुनुपर्छ जस्तो लाग्छ। मृत्यु जित्दै काममा गतिशील रहेका यी मजदुरको घर–घरमा पुगेर उनीहरूका छोराछोरी र परिवारका अन्य सदस्यहरूसँग भेटघाट गर्ने र आफ्ना अभिभावकप्रतिको दृष्टिकोण बुझ्ने।

समाचारको एङ्गललाई हामीले यसरी बुझ्छौँ कि बुझदैनौँ वा यो एङ्गलबाट समाचार बन्छ कि बन्दैन थाहा छैन, तर यो समाचार बनाउनु पर्ने विषय हो भन्ने मलाई लाग्छ।

नत्र अहिले धेरै त्यस्ता जेष्ठ नागरिकहरू पनि देखिएका छन् जसले बाहुबल हुँदासम्म छोराछोरी र परिवारका लागि मेहेनत गरे, बल र उमेरले थलिदै गएपछि वृद्धाश्रमको ढोका ढकढकाउन बाँध्य भए।

उमेरको एउटा विन्दुमा पुगेपछि नातितातिनी खेलाउँदै छोराछोरीको आश्रयमा रमाउने परिकल्पनासँग मृत्यु जितेर उमेरको पसिना बगाने जेष्ठ नागरिकको सपना वृद्धाश्रमको एउटा सानो कोठामा थन्किएको कथाले कति धेरै पीडा दिन्छ ।

अब हामी, उमेरमा बाहुबल कस्दै परिवारको जिम्मेवारीमा मृत्यु जित्नेहरूका छोराछोरीका मानसिकता अभिभावकको जिम्मेवारीप्रति चाहिँ कस्तो रहेछ भनेर खोजी गर्दै ती मजदुरका को घर– घर पुग्नै पर्ला। हाम्रो रिर्पोटिङको गन्तव्य टुङ्गाउन ती छोराछोरीको मानसिकतालाई समाचारमा लिपिबद्ध गर्नैपर्ला । यसमा केदार र जीवनको प्रतिक्रिया चाहीँ के होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?