
१२ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रहरी समायोजन यथाशीघ्र गर्न माग गरेको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सशस्त्र प्रहरी विधेयकमाथिको छलफलमा बोल्दै माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीमगरले यस्तो माग राखेका हुन् ।
‘प्रहरी समायोजन यथाशीघ्र अघि बढाउन म माननीय गृहमन्त्रीजीलाई अनुरोध गर्न चाहन्छु,’ उनले भने ।
साथै, संघीयताको मर्म अनुसार प्रदेश सरकारको भूमिका स्पष्ट हुने गरी विधेयकमा संशोधन गरिनुपर्ने पनि उनले बताए ।
माओवादी केन्द्रकी सांसद विमला सुवेदीले पनि विधेयक संघीयताको मर्म अनुसार परिमार्जन गरिनुपर्ने बताइन् ।
‘संघीयताको मर्म र भावना अनुसार यो विधेयक परिमार्जन आवश्यक छ’ उनले भनिन् । परिमार्जन गर्दा प्रदेश र स्थानीय प्रहरीसँगको समन्वयको विषय खुलाउनुपर्ने बताइन् ।
‘प्रदेश प्रहरी तथा स्थानीय प्रहरीसँग निश्चित कार्य गर्न सहयोग तथा सहकार्यको आवश्यकता पर्न सक्छ । यसतर्फ ध्यान दिन आवश्यक छ,’ उनले भनिन् ।
प्रतिक्रिया 4