
१३ फागुन, जुम्ला । विश्वको सर्वाधिक उचाइमा धान फल्ने गिनिज बुकमा नाम लेखाएको जुम्लाको पातारासी गाउँपालिकामा खेलकुदका लागि ‘कर्णाली हाई अस्टिच्युट ट्रेनिङ सेन्टर’ योजना बन्यो । २०७४ पुस ३ मा युवा तथा खेलकुद मन्त्रालयका तत्कालीन सचिव महेश दाहालले मैदान निर्माणका लागि आवश्यक मापदण्ड र भौगोलिकताको अनुगमन गरे ।
पालिकाको वडा नं. ३ मा अभ्यासशाला बनेपछि खेलकुदका गतिविधि पनि हुने र गाउँको प्रचारप्रसार हुने आशमा स्थानीयले निशुल्क रुपमै जग्गा दान गर्न राजी भए । थपजग्गा स्थानीय विद्यालयले उपलब्ध गराउने भयो । सोहीअनुसार आर्थिक वर्ष ०७४/७५ मा विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) समेत तयार गरियो । उक्त प्रतिवेदनले लौठचौरमा हाई अल्टिच्युट ट्रेनिङ सेन्टर बनाउन ३२ करोड रुपैयाँ लाग्ने देखाएको थियो ।
तर पर्याप्त बजेटको अभावमा स्थानीयले आफ्नै गाउँमा सुविधासम्पन्न खेलकुद ट्रेनिङ सेन्टर पाउन सकेनन् । विभिन्न चरणमा गरेर हालसम्म जग्गा सम्याउनमात्रै ३ करोड रुपैयाँ उक्त ट्रेनिङ सेन्टरका लागि खर्च भइसकेको छ । नतिजा भने शून्य छ ।
खुद्रे त्यसमाथि पनि अपुग क्रमागत बजेटले लामो समयसम्म योजना अलपत्रकै अवस्थामा रह्यो । तत्कालीन खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले गत वैशाखमा रारा अल्ट्रा म्याराथनको उद्घाटनमा गएको मौकामा पनि स्थानीय र सरोकारवाला निकायले ट्रेनिङ सेन्टरका लागि आवश्यक बजेट विनियोजन गर्न आग्रह गरे ।
अलपत्र अवस्थामा रहेको निर्माणाधीन हाईअल्टिच्युट ट्रेनिङ सेन्टरको अनुगमन गरिसकेपछि तत्कालीन मन्त्री श्रेष्ठले योजनालाई क्रमागत बजेट योजनामा समावेश गर्ने र आर्थिक वर्ष ०८१/८२ मा १० करोड रुपैयाँ विनियोजन गर्ने प्रतिवद्धतासमेत जनाए ।
पातारासीमा हाईअल्टिच्युट ट्रेनिङ सेन्टर संघीय सरकारकै सक्रियता देखाएपछि स्थानीयमा अलपत्र रहेको ट्रेनिङ सेन्टरले मूर्त रुपमा पाउने फेरि आशा जाग्यो । चालु आर्थिक वर्षमा सरकारले ६ करोड २९ लाख रुपैयाँ विनियोजन पनि गरेको छ ।
उक्त आयोजनाका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार स्थानीय पूर्वाधार विकास आयोजना सुर्खेतमा ४ करोड र सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लामा २ करोड २९ लाख ३० हजार रूपैयाँ बजेट ट्रेनिङ सेन्टरको नाममा विनियोजन भएको छ ।
तर चालु आर्थिक वर्षको आधाभन्दा समय गुज्रिसक्दा समेत योजनाको काम अघि नबढ्दा फेरि स्थानीय निराश बनेका छन् । पालिका अध्यक्ष पूर्णसिंह बोहोरा तालिम केन्द्रका नाममा जग्गा पास नहुँदा काम अगाडि बढ्न नसकेको बताउँछन् ।
बोहोराका अनुसार सुरुमा प्रयोग गर्ने भनिएको विद्यालयको नाममा रहेको जग्गामा हाई अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माण गर्ने कि अर्को ठाउँमा निर्माण गर्न विषयमा विवाद सिर्जना हुँदा कामले गति लिन नसकेको हो ।
जग्गा विवादको विषयमा जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठकबाट निर्णय गरेर छिट्टै जग्गा विवाद टुंगो लगाई ट्रेनिङ निर्माणको काम अगाडि बढ्ने गाउँपालिका अध्यक्ष बोहोराको भनाइ छ । उनका अनुसार विद्यालयको जग्गा छोडेर बाँकी रहेको जग्गामा समेत उक्त ठाउँमा हाई अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माण गर्न सकिन्छ । तर जग्गा विवादको कारण देखाएर अभ्यास केन्द्र नै बन्न नदिने र आएको बजेट पनि फिर्ता पठाउने चलखेल भएको आरोप उनको छ ।
ट्रेनिङ सेन्टरलाई चाहिने जग्गा पालिका वडा नं ३ का स्थानीयवासीले निःशुल्क दान गर्ने प्रतिबद्धता जनाएको हुँदा उक्त जग्गा पासको प्रक्रिया अघि बढेको वडाध्यक्ष गोविन्द रावतले जानकारी दिए । ट्रेनिङ सेन्टरका लागि विनियोजित बजेट यो आर्थिक वर्षभित्र उक्त बजेट खर्च गरिसक्नुपर्ने हुन्छ ।
तर, योजनालाई उपलब्ध गराउने भनिएको जग्गासमेत पास नहुँदा काम रोकिएको सहरी विकास तथा भवन निर्माण आयोजना जुम्लाका सूचना अधिकारी खड्काको भनाइ छ ।
हाइ अल्टिच्युट मैदानमा भलिबल, फुटबल, कराते, बक्सिङ, तेक्वान्दो, बास्केट बल, एथलेटिक्सलगायत दुई दर्जन बढीका खेल मैदान निर्माण गरिने डिपिआरमा उल्लेख गरिएको छ । त्यसैगरी स्विमिङ पुल, लैंगिकमैत्री छात्रावास, सुरक्षागार्ड, पाहुनाघर, टिकट काउन्टरसमेत निर्माण गरिने भनिएको छ ।
संरचना निर्माणपछि यहाँ प्रशिक्षणमात्र हुने छैन उच्च हिमाली भेकको अवलोकन, विशुद्ध हावापानी, अर्गानिक खानासहित विशेष आतिथ्यता पनि प्राप्त हुने छ । खेल पर्यटन प्रवद्र्धन लौठचौरसँग जोडिएको विश्वको उच्च स्थानमा कालीमार्सी धान फल्ने ठाउँ छुमचौर ज्युला, सर्वाधिक महँगो जडीबुटी यार्सागुम्बा, पातारासी हिमालको दृश्यावलोकन, तिलानदीको आकर्षणले पनि यो ट्रेनिङ सेन्टर देशी तथा विदेशी खेलाडीको प्रमुख गन्तव्य बन्ने सरोकारवालाको विश्वास छ ।
प्रतिक्रिया 4