+

मन किन दुख्छ ?

२०८१ फागुन  १३ गते २१:३० २०८१ फागुन १३ गते २१:३०
मन किन दुख्छ ?

मन चञ्चल हुन्छ । सायद दुनियाँकै सबैभन्दा छिटो गतिमा चल्ने भनेको मन नै हो । सम्झिनुस् त, तपाईं यतिबेला कहाँ हुनुहुन्छ, अनि तपाईँको मन कहाँ पुगिरहेको छ ? हो, त्यो मनको गति र त्यसको व्यवस्थापन नै मानिसको मुख्य चुनौती हो ।

यो आलेखमा मनका केही अवस्था, त्यसले निम्त्याउने परिस्थिति र नियन्त्रणबारे केही बुझाउने प्रयास गर्दैछु । यो पढिरहँदा तपाईंको मन कता छ ? यतै राख्नुस् है।

अँ, मन । मन के हो ? कहाँ हुन्छ ? कसैलाई थाहा छैन। किनकी तपाईंले मन खोज्नुभयो भने आफ्नो शरीरभित्र पाउनुहुन्न । भौतिक विज्ञानले मनको उपस्थितिलाई प्रमाणित गर्न सकेको छैन।

तर, हाम्रो मष्तिष्कले कुनै सोच विचारलाई ग्रहण गर्ने र बुझ्ने शक्तिलाई सामान्य अर्थमा मन भनिन्छ । चेतन मन, अवचेतन मन र अतिचेतन मनका प्रकारहरू हुन्छन्, जसभित्र म यो आलेखमा प्रवेश गर्दिनँ ।

अब मनकै कुरा गरौँ । कसैले केही कुरा भन्यो वा व्यवहार गर्‍यो, जुन तपाईँलाई सही लागेन । अब तपाईँको मस्तिष्कले त्यो विषय वा व्यवहारलाई प्रशोधन गर्छ अनि त्यसबाट एउटा भावना पैदा हुन्छ, जसलाई मनले प्रतिक्रिया दिन्छ । चित्त बुझेन, मन लागेन, मनै छैन, कस्तो मन भारी भएर आयो इत्यादी शब्दमा हामी प्रतिक्रिया दिइरहेका हुन्छौँ।

फेरि कसैको बोली वा व्यवहार चित्त नबुझ्नुका पछाडि पनि धेरै कारणहरू हुन्छन् । हाम्रो खानपिन, हुर्काइ एवं प्राप्त संस्कार, परम्परागत सिकाइ, वरिपरिको वातावरण लगायतका धेरै कुराले कुनै प्रशोधित विषयलाई दृष्टिकोण बनाउन मद्दत गर्दछन् ।

सात्विक, तामसी जस्ता भोजनको असर हाम्रो मनले गर्ने व्यवहारमा सिधै पर्दछ । अब के खाँदा वा नखाँदा विचारमा के असर गर्छ, त्यो बेग्लै विज्ञान हो । त्यसतर्फ पनि नजाऊँ ।

मनतिरै आउँछु म । मन किन दुख्छ भन्ने विषयलाई अलि सांकेतिक दृष्टिले बुझ्ने प्रयास गरौँ । आगोसँग मनलाई तुलना गर्छु । आगो बल्दा त्यहाँ ताप अर्थात उर्जा निस्कन्छ । उर्जासँगै त्यहाँ धुवाँ पनि निस्कन्छ । धुवाँ व्यवस्थापन गर्न सक्यो भने त्यो तापलाई उर्जामा प्रयोग गर्न सकिन्छ अन्यथा धुवाँले कति असर गर्छ भन्ने विषयमा तपाईं आफैँ जानकार हुनुहुन्छ ।

हो, मैले जोड्न खोजेको त्यो धुवाँको विषय हो । मन दुख्दा मानिसलाई नराम्रो लाग्छ, अनुहार अँध्यारो हुन्छ, अनुहार अमिलो हुन्छ, आँखा रसाउँछ अनि आँसु पनि झर्छ । भित्रभित्रै पोल्छ, बसिरहेको ठाउँमा शान्ति महसुस हुँदैन, अनि अर्को ठाउँ गइन्छ । तर, त्यहाँ पनि शान्ति हुँदैन । छट्पटी हुन्छ ।यही हो, त्यो धुँवा । बलेको आगोको धुँवा। मनभित्र आगो बलेपछि धुँवा त निस्कन्छ नि त ।

अब आगो कसरी बल्छ भन्नुहोला । कुनै विषय, बोली, व्यवहार वा सन्दर्भलाई हाम्रो मस्तिष्कले प्रशोधन गरेपछि मनले प्रतिक्रिया दिएपछि आगो बल्छ । आगो बाल्नका लागि हामीले नै दाउरा जोडेका हुन्छौँ । सलाई कोरेका हुन्छौँ। तर, धुवाँ बनेपछि दोष चाहिं आगोलाई वा दाउरालाई दिन्छौँ । यही होइन त ?

अब प्रश्न आउँछ, आगो निभाउने कि धुवाँको व्यवस्थापन गर्ने । हो, धुवाँको व्यवस्थापन गर्ने हो । आगो त उर्जा हो । मन बचाउन उर्जा त चाहिन्छ नै । हामी आगो बाटो भाग्न सक्दैनौँ । कि त योगी बन्नुपर्यो । सांसारिक जीवन अंगालिसकेपछि आगो त बल्छ नै ।

परिवार र समाजमा बसेपछि फरक स्वाभाव र व्यवहारका मानिसबीच सम्बन्ध रहन्छ, राख्नुपर्छ पनि । यसो भएपछि आगो त बल्छ । धुवाँ व्यवस्थापन गरेर आगोलाई उर्जामा रुपान्तरण गर्नु नै मनको उपचार हो। जति पनि चिकित्सक वा मनोविद्ले गर्ने क्रियाकलापहरू तिनै धुवाँको व्यवस्थापन वा नियन्त्रणमा केन्द्रित हुन्छन् ।

कसैले तपाईंलाई कालो भन्यो, मोटो भन्यो, होचो भन्यो, नराम्रो छ भन्यो, बेइमान छ भनेको सुन्नुभयो । दिन्न, हुँदैन, भएन, मिलेन जस्ता शब्दको सामना गर्नुपर्‍यो भने तपाईंको मनमा आगो बल्न सुरुहुन्छ ।

अब मायामा परेका प्रेमी प्रेमिकाबीच यस्तो आगो दनदनी बल्छ । प्रेमिकाले कसैको स्ट्याटसमा लाइक वा कमेन्ट गर्‍यो भने पनि आजभोलि युवा पुस्ताको मनमा आगो बल्छ । फोन उठेन, म्यासेजको रिप्लाई आएन भने पनि यस्तै हुन्छ।

अनि त्यो आगोको धुवाँले गर्दै गरेको काम, सोच्दै गरेको विषय, भन्दै गरेको सन्दर्भ मात्रै होइन, शान्त वातावरण र सुमधुर धुन नै क्रुर लाग्छ । बस्दै गरेको ठाउँ असहज लाग्छ । सँगै रहेको मानिससँग असहज लाग्छ । यो सबै त्यही धुवाँकै असर हो ।

त्यसो भए के गर्ने त ? हो, पहिलो कुरा त धुवाँ व्यवस्थापन गर्नका लागि आफूलाई सकारात्मक राख्नुपर्‍यो। कसैले केही भन्यो भने त्यसको सकारात्मक पाटोलाई ग्रहण गर्ने वा सकारात्मक दृष्टिले हेर्ने बानी गर्नुपर्दछ । जीवनमा उर्जा चाहिन्छ, उर्जाले हौसला र आत्मविश्वास प्रदान गर्दछ । त्यस्तो उर्जा सकारात्मक सोचले नै निर्माण गर्ने हो ।

उसो भए सकारात्मक सोच कसरी ल्याउने त ? हो, सकारात्मक सोच ल्याउने होइन, आफैं आउने हो । जसका लागि तपाईं आफैँले आफ्नौ दैनिकी परिवर्तन गर्नु आवश्यक हुन्छ।

तपाईं निदाएर बिहान ब्यूँझिदा धन्यवाद दिनुस्, किनकी तपाईंले आजको जीवन पाउनुभएको छ । म सक्छु, हुन्छ, सम्भव छ भन्ने भावना पैदा गर्नुस् । जसले तपाईंलाई उर्जा दिन्छ । राम्रा काम र राम्रा कुराबाट दैनिकी सुरु गर्नुस्, जसले तपाईंलाई दिनभर सकारात्मक बनाउन उत्प्रेरणा देओस् ।

अधिकांश व्यक्तिको बानी बिहान आँखा खुल्नेबित्तिकै मोबाइल अनलक गरेर सामाजिक सञ्जाल हेरिहाल्ने बानी हुन्छ । सामाजिक सञ्जालमा पोष्ट भएका सामाग्रीले बिहानै तपाईंको मानसिकता परिवर्तन गरिदिनसक्छ ।

त्यसो गर्नुभन्दा बरु उठ्नेबित्तिकै आफ्ना नित्यकर्म सक्ने, व्यायाम गर्ने, योगा–ध्यान गर्ने, परिवारसँग कुराकानी गर्ने, घरपालुवा जनावरलाई प्रेम गर्ने जस्ता बानी बसाल्नुपर्दछ ।

निर्जीव वस्तु, जुन आफ्नो कोठाभित्र वा बाहिर हुन्छन्, तिनीहरूप्रति पनि प्रेम जागृत गराउनु आवश्यक हुन्छ । आफूले प्रयोग गर्ने वस्तु हुन् वा प्रत्येक दिन देखिने जस्तो रुख, बगैँचा, खेतबारी, आफू सुत्ने खाट, आफूले चलाउने सवारी साधन लगायतलाई प्रेम गर्न सिक्नुपर्दछ ।

यसो गर्दा बिस्तारै सबैप्रति माया र सद्भाव जागृत हुन्छ । जसले तपाईँलाई सबैप्रति सकारात्मक हुन नजानिँदो तरिकाले प्रेरित गरिरहेको हुन्छ । यसरी नै तपाईंमा सकारात्मक सोच र व्यवहारहरू विकास हुँदै जान्छन् ।

कुनै व्यक्ति, विषय र घट्ना देख्नेबित्तिकै तपाईंमा एउटा सोच निर्माण हुन्छ । त्यस्तो सोच बन्नका लागि तपाईंको बाल्यावस्थाको हुर्काइ, संस्कार, खानपान, वरिपरिको वातावरण, तपाईँका संगत र व्यवहार आदि जिम्मेवार हुन्छन् ।

त्यो सोच जस्तो आउँछ तपाईंको मनमा पनि त्यस्तै भावना पैदा हुन्छ अनि त्यही भावनाअनुरुप तपाईँलाई क्रियाशील गराउँछ र त्यही अनुरुपकै परिणाम देखापर्छ । त्यसैले तपाईंमा आउने सोचमै सकारात्मकता ल्याउनका लागि आफ्ना दैनिकी र व्यवहारमा परिवर्तन गर्नुपर्छ भनिएको हो ।

अधिकतम प्रयास गर्दा पनि आफूमा सकारात्मक सोचको विकास हुन सकेन भने कुरा मनमै राखिरहनु हुँदैन । यसका लागि आफ्नो भलो चिताउने साथी वा परिवारका सदस्य वा सहकर्मीमध्ये विश्वाशिलो व्यक्तिसामु आफ्नो समस्या राख्नुपर्दछ ।

तर, यसरी मनका कुरा राखिसकेपछि आफूलाई किन सुनाए होला भन्ने डर पैदा नहोस् । यस्तो डर पैदा भयो भने झन् मानसिक स्वास्थ्यमा जटिलता आउन सक्छ । यस्तो अवस्थामा भने मनोचिकित्सक वा मनोविद्को सम्पर्कमा पुग्नु उपर्युक्त हुन्छ ।

मनको आगो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय