+

हृदयघात जस्तै एक्कासी मृत्यु गराउन सक्ने ‘एरिथमिया’ रोग के हो ?

२०८१ फागुन  १४ गते १३:३६ २०८१ फागुन १४ गते १३:३६
Shares
हृदयघात जस्तै एक्कासी मृत्यु गराउन सक्ने ‘एरिथमिया’ रोग के हो ?

हामी सबैको मृत्यु हुने भनेको मुटुको चाल बन्दै भएर नै हो । हृदय गति बन्द नहुँदासम्म मान्छेको मृत्यु भएको मानिदैन । मस्तिष्क मृत्यु भन्ने अर्को पाटो छ तर पूर्णरुपमा मृत्यु भयो भन्नु कुनै न कुनै कारणले मुटुको चाल बन्द हुनु नै हो ।

मान्छे सुतेकोसुत्यै हुने, हिँड्दा-हिँड्दै एक्कासी मृत्यु भएका घटना हामीले धेरै देखेका छौँ । यसरी मृत्यु हुने कारण हामी प्रायलाई थाहा भएको, जानेको भनेको ‘हर्ट अट्याक’ अर्थात हृदयघात  हो । यसमा कुनै  तरिकाबाट रक्तसञ्चार रोकिएर मृत्यु हुन्छ।

अर्को मुटुकै समस्या ‘एरिथमिया’ भन्ने रोगका कारण पनि मान्छेको एक्कासी मृत्यु हुनसक्छ। यसलाई खासमा ‘भेन्ट्रिकुलर एरिथमिया’ भनिन्छ। यसमा मुटुको चाल बिग्रिने हुन्छ । कलिलै उमेरमा मान्छेलाई मृत्युको मुखमा पुर्‍याउने रोगमध्येको यो एक हो ।

मुटुको एउटा ‘साइनस रिदम’ हुन्छ । एट्रियम भेन्ट्रिकल हुन्छ। एट्रियमबाट रिदम भेन्ट्रिकलमा गएर कन्ट्रयाक्सन हुँदा मुटु तन्किने-खुम्चिने हुन्छ । यो किसमको चालमा गडबडी आयो भने भेन्ट्रिकुलर एरिथमिया भनिन्छ । मुटुको चालमा ढ्याक..ढ्याक..ढ्याक्..ढ्याक..भएर रक्तचाप सन्तुलनमा रहँदैन अनि मान्छेको मृत्यु हुन्छ ।

यसरी मुटुको चाल बिग्रिँदा सुतेको बेला भएर थाहा पाइएन वा अस्तपाल लैजान ढिलो भयो भने मान्छेको मृत्यु हुनसक्छ ।

कारण

बढीजसो यो वंशाणुगत कारणले नै हुन्छ । कलिलै उमेरमा घरमा कसैको मृत्यु भएको छ भने वंशाणुगत रुपमा ती व्यक्तिलाई भेन्ट्रिकुलर एरिथमियाको जोखिम हुनसक्छ । विभिन्न संक्रमणले पनि यो रोगको निम्त्याउन सक्छ । मायोकार्डाइटिस् भएका व्यक्तिलाई एरिथमियाको जोखिम हुन्छ । मायोकार्डाइटिस् भएर निको भइसक्दा पनि मुटुको मांसपेशीमा दाग बस्छ ।

मुटुको मांसपेशीमा रहेको दागका कारण कहिलेकाँही मुटु बत्तिने हुनसक्छ र मुटुको भल्भका रोगहरूले पनि एरिथमिया आउन सक्छ ।

लक्षण 

यसको लक्षण भनेको कहिलेकाहीँ एक्कासी मुटु ढ्याक..ढ्याक..ढ्याक्.. गरेर छिटो चल्ने, कुनैबेला मुटु रोकिएको जस्तो हुने, एक्कासी मुटुको चाल छिटो-ढिलो हुने हुन्छ । बच्चादेखि वयस्क, वृद्ध सबैलाई यो समस्या देखिन सक्छ ।

उपचार 

बेलैमा थाहा भयो भने यसको उपचार औषधिको प्रयोगबाट हुन्छ । त्यो भन्दामाथि कडा खालको छ भने मुटुमा तार छिराएर कहाँबाट त्यो खालको चाल निस्किएको छ, त्यो भागलाई करेन्टले डामेर उपचार गर्ने हुन्छ । यसलाई ‘रेडियोफ्रिक्वीन्सी एब्लेशन’ भनिन्छ ।

अर्को उपचार पद्धति भनेको आईसीडी (इम्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर) राख्ने हो । आईसीडी भनेको पेसमेकरजस्तै मुटुमा जडान गर्ने डिभाइस हो ।

जब हाम्रो मुटुको चाल गडबड हुन्छ वा एक्कासी धड्कन बढ्ने, घट्ने हुन्छ त्यो बेला यो डिभाइसले बिजुलीको झड्का दिएर सन्तुलनमा ल्याउने काम गर्छ । जुनसुकै समयमा पनि हाम्रो मुटुको चालमा गडबड हुँदा यसले झड्का दिएर ठिक अवस्थामा राख्न मद्दत गर्छ।

नेपालमा एरिथमियाका बिरामी धेरै छन् । हामीले उपचार गरिरहेका छौँ । आईसीडी डिभाइस पनि हामीले राख्छौँ ।

सावधानी

आफ्नो परिवारभित्र कलिलै उमेरमा कसैको मृत्यु भएको छ भने वंशाणुगत रुपमा ती व्यक्तिलाई एरिथमियाको जोखिम हुनसक्छ । ती खालका व्यक्तिले पहिले नै मुटुको जाँच गराउनु उपयुक्त हुन्छ ।

अन्य मुटुरोग लाग्ने कारकहरु बाट बच्नु पनि एरिथमियाको जोखिम कम गर्ने उपाय हो ।

भेन्ट्रिकुलर एरिथमिया
डा. अनिल भट्टराई
लेखक
डा. अनिल भट्टराई
सहप्राध्यापक तथा कार्डियोभास्कुलर सर्जन

डा. भट्टराई महाराजगन्जस्थित त्रिवि मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत छन् । उनी सो अस्पतालका कार्डियो थोरासिक भास्कुलर सर्जरी विभागीका प्रमुख हुन् । ‘सेभ द र्हाट फाउन्डेशन’ का अध्यक्ष समेत रहेका उनले  कार्डियोभास्कुलर सर्जरीमा एमएस, आइएमसिएस र पीएचडी गरेका छन् ।  उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३६०२ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय