+
+
Shares

केयूका डिन र एसोसियट डिनको वक्तव्य : मापदण्ड अनुसार उपकुलपतिको नाम सिफारिस गर्नू

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १४ गते २०:२७

१४ माघ, काठमाडौं । काठमाडौं विश्वविद्यालयको ७ वटा स्कुलका डिन र एसोसियट डिनले उपकुलपतिको नाम मेरिटको आधारमा सिफारिस गर्न छनोट समितिलाई आग्रह गरेका छन् । डिन र एसोसियट डिनहरूले संयुक्त वक्तव्य निकालेर कार्यविधि अनसार नाम सिफारिस गर्न भनेका छन् ।

‘३ जनाको नाम समयमै सिफारिस गरी तीमध्येबाट एक जना उपकुलपतिका रुपमा विश्वविद्यालयले छिट्टै पाउने आशा र भरोसामा छौं’,  वक्तव्यमा भनिएको छ, ‘तर छनोट प्रक्रियालाई लिएर विभिन्न सञ्चार माध्यम मार्फत आइरहेका टिप्पणीहरुले हाम्रो ध्यानाकर्षण भएको छ ।’

समितिमा संस्थापक उपकुलपति सुरेशराज शर्मा, सदस्यमा डा. अर्जुन कार्की र पूर्वसचिव जनार्दन नेपाल छन् । सर्ट लिस्टमा परेका १० जनाको फागुन २ र ३ गते अन्तर्वार्ता सकिएको थियो । तर समितिका सदस्यबीच सहमति नहुँदा नाम सिफारिस भएको छैन ।

सर्ट लिस्टमा परेका १० जनाको अंकभार तोडमोड गर्न लागेको विषय उठेको भन्दै डिन र एसोसियट डिनहरूले समितिको ध्यानाकर्षण गराएका छन् । ‘उम्मेदवारले पाएको अंकलाई तोडमोड गरिदै छ, नयाँ नयाँ सर्त अघि सार्ने काम भएकाले समितिमा अरु सदस्यलाई अप्ठ्यारो परेको छ भन्ने भनाइहरुलाई गलत सावित गरी खोज तथा सिफारिस समिति आफैंले स्विकृत गरेको प्रक्रिया र मापदण्डमा आधारित भई तीन जनाको नाम यथाशिघ्र छिटो सिफारिस हुनेमा आशावादी छौं,’ वक्तव्यमा भनिएको छ ।

६ माघमा उपकुलपति भोला थापाको कार्यकाल सकिएपछि नयाँ उपकुलपतिको नाम सिफारिस गर्न छनोट समित बनाइएको थियो । तर समितिका ३ सदस्यबीच कुरा नमिल्दा नाम सिफारिस गर्न सकस भएको छ ।

उपकुलपतिको दौडमा अच्युत वाग्ले, कन्हैया झा, जर्नादन लामिछाने, बालचन्द्र लुँइटेल, विभूति रञ्जन झा, वेदमणी दाहाल, भोला थापा, राजेन्द्र प्रसाद कोजु, श्याम नारायण लाभ र सुबोध शर्मा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?